शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जर्मनीमा विद्यालय र अत्यावश्यक बाहेकका पसल बन्द गर्न आह्वान

आइतबार, २८ मङ्सिर २०७७, २२ : २८
आइतबार, २८ मङ्सिर २०७७

एजेन्सी । जर्मनीमा अत्यावश्यक बाहेकका सबै पसल, विद्यालयलगायत बन्द गर्न आह्वान गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बढेपछि चान्सलर एंजेला मर्केलले बुधबारदेखि अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालयहरू बन्द गर्न आह्वान गरेकी हुन् ।

अहिले घोषणा गरिएको यो प्रकारको आशिंक लकडाउन कम्तीमा जनवरी १० तारिखसम्म रहने र त्यसपछि अवस्था हेरेर निर्णय गरिने पनि उनले स्पष्ट पारिन् । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकमा महामारी झन झन बढ्दै गएपछि त्यस क्षेत्रकै लागि चुनौती भएको छ । 

अर्थतन्त्रमा धेरै नकारात्मक असर परिरहेकाले कामदारहरूलाई घरबाटै काम गर्न पनि सरोकारवाला सबैलाई मर्केलले आग्रह गरेकी छिन् । त्यसैगरी सार्वजनिक स्थलमा रक्सीको कारोबार गर्न पनि प्रतिबन्ध लगाइएको छ भने कपाल काट्ने ठाउँ पनि बन्द गर्न भनिएको छ ।   

आंशिक लकडाउनका बारेमा र त्यसको व्यवस्थापनका बारेमा चान्सलर मर्केलले आइतबार १६ राज्यका नेताहरूसँग छलफल पनि गरेकी थिइन् । क्रिसमन, नयाँ वर्षलगायतका महत्वपूर्ण चाडपर्वहरू मनाउने बेला भएकाले पनि सङ्क्रमण थप फैलिन सक्नेतर्फ सरकारी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । 

उनीहरूले चाडपर्व मनाउनका लागि भीडभाड हुने, किनमेल बढ्ने, रमाइलो गतिविधिहरू धेरै हुने भएकाले पनि तत्काल लकडाउनको आवश्यकता भएकोमा जोड दिएका थिए ।  “देशमा कोरोनभाइरसको महामारीको अवस्था नियन्त्रणभन्दा बाहिर गइसकेको छ,” बाभारिया राज्यका प्रमुख मर्कुस सोएडरले भन्नुभयो । चान्सलर मर्केलको आह्वानलाई आफूले आफ्नो राज्यमा पूर्ण रूपमा कार्यान्वयन गराउने अठोट पनि उनले व्यक्त गरे । 

जर्मनीमा यसअघि पनि धेरै नियन्त्रणका व्यवस्थाहरू लागू गरेकाले महामारी न्युनीकरण भएको थियो । तर अहिले फेरि अत्यधिक बढ्न थालेपछि सर्वत्र चासो र सक्रियता बढेको छ।  सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार जर्मनीमा अहिलेसम्म १३ लाख २० हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने २२ हजार १७१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप