बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको शक्तिशाली इतिहास र चुनौतिपूर्ण वर्तमान

आइतबार, २८ मङ्सिर २०७७, १५ : ३१
आइतबार, २८ मङ्सिर २०७७

अढाई दशक लामो मुलुकको राजनीतिलाई आफ्नो वरिपरि घुमाइरहेका माओवादी जनयुद्ध कालका सर्वोच्च कमान्डर प्रचण्ड बारे थुप्रा आलेख छापिएका छन् । बहसका अनेकन पाटा पस्किएका छन् । उनका बारे देशभित्र मात्रै होइन देश बाहिर पनि बृहत्तर चर्चा भएको छ । एक युगको नायक हुनुको कारण उनको चर्चा हुनु स्वाभाविक नै हो । अहिले पनि उनी नेपाली राजनीतिको शक्तिशाली शक्ति केन्द्रकै रूपमा छन् र त उनको चर्चा भइरहेको छ । तर इतिहासमा उनी जति शक्तिशाली थिए वर्तमानमा निरीहझैँ देखिन थालेका छन् । त्यस कारण उनका बारे पछिल्लो समय विचार निर्माताहरूले प्रचण्डका उत्थान र पतनका कथा पस्किन थालेका छन् । प्रचण्डलाई दानवीकरण र जनयुद्धलाई अपराधीकरण गर्नेहरु उत्साहित भएका छन् । यो पेरिफेरीमा मुलुकको राजनीतिमा जेजस्ता परिदृश्य देखापरेका छन् एक पटक फेरि प्रचण्ड चर्चाको केन्द्रमा छन् । प्रतिगामी हर्कत र पश्चगामी शक्तिले टाउको उठाउन खोजेको सेरोफेरोमा प्रचण्डका बारेमा उनको विगत र वर्तमानबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । 

मुलुकमा निरङ्कुश पञ्चायतको अन्त्य गर्न भएको पहिलो जनआन्दोलनको समयमा सानो समूहको नेता थिए प्रचण्ड । उनको समूह त्यो जनआन्दोलनमा स्वतन्त्र रूपमा सामेल थियो । बाम काँग्रेस गठबन्धनको संयुक्त जनआन्दोलनमा सहभागिता जनाएन प्रचण्डको समूहले । राजा, काँग्रेस र बाममोर्चा बीच भएको सम्झौतालाई उसले धोकापूर्ण भन्यो र त्रिपक्षीय सम्झौताको दस्तावेजको रूपमा आएको २०४७ सालको संविधानलाई प्रचण्डको नेतृत्वमा रहेकोे पार्टी नेकपा मसाल लगायत साना बामपन्थी पार्टीहरुले अस्वीकार गर्याे । त्यो बिन्दुबाट सुरु भएको थियो मुलुकमा कम्युनिस्ट पार्टीबीच ध्रुवीकरणको प्रक्रिया । झापा विद्रोहको बिरासतबाट आएका माले समूह र मनमोहन साहना नेतृत्वको मार्क्सवादी समूहबीच एकता प्रक्रिया अगाडि बढेर नेकपा एमाले निर्माण भयो । जसले संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थालाई अङ्गीकार गर्याे । २७ बुँदे आलोचनात्मक समर्थन गरेको माले महासचिव मदनकुमार भण्डारीको (पछि नेकपा एमाले महासचिव) २०५० जेठ ३ गते दास ढुङ्गामा कथित जिप दुर्घटनामा मारिए । 

यता २०४७ सालको संवैधानिक व्यवस्था अस्वीकार गर्ने प्रचण्ड नेतृत्वको मसाल, बाबुराम भट्टराई (शीतलकुमार नेतृत्वको विद्रोही मसाल, सर्वाहारा श्रमिक सङ्गठन र नेकपा चौम बीच एकता भई नेकपा (एकता केन्द्र) निर्माण भयो । त्यसको बहुमत पक्षले देशको तत्कालीन अवस्थालाई अर्धसामन्ती र अर्ध औपनिवेशिक रहेको निष्कर्षका साथ दीर्घकालीन जनयुद्धको कार्यदिशा अघि सार्याे । त्यो कार्यदिशा प्रचण्डकै नेतृत्वमा सम्भव भएको थियो । २०४८ सालमा भएको संसदीय निर्वाचनमा वैधानिक मोर्चा संयुक्त जनमोर्चाको नाममा भाग लिएर संसदको तेस्रो शक्तिको हैसियत प्राप्त गरेको थियो । तर त्यो संसदमा भाग लिने कुरा कार्यनीतिक ट्याक्टिस मात्रै थियो । 

२०५१ तिर आइपुग्दा नेकपा (एकताकेन्द्र) भित्र दीर्घकालीन जनयुद्ध अघि बढाउन चाहने र नचाहने बीच मतभेद भएपछि प्रचण्डसहित बहुमत समूहले अल्पमत समूह जो जनयुद्धको कार्यदिशा अस्वीकार गथ्र्याे त्यसलाई कारबाही गर्याे । प्रचण्डकै नेतृत्व नेकपा (माओवादी) पार्टी निर्माण भयो । यसले अढाइ दशक देशको राजनीतिलाई हलचल पैदा गराउने जनयुद्धको पहल र नेतृत्व गर्याे । त्यो ऐतिहासिक कार्यभार पूरा गर्ने जनयुद्धको नेतृत्व प्रचण्डकै थियो । दस वर्षे जनयुद्धले विश्व राजनीतिमा समेत हलचल पैदा गरायो । त्यो नेपाल राष्ट्रको इतिहासमा सुगौली सन्धि यताको सबैभन्दा ठूलो महान परिघटना थियो भने विश्व कम्युनिस्ट आन्दोलनमा माओको निधनपछिको युगान्तकारी परिघटनाको थियो ।  

कहिले लडाकु घोटाला प्रकरण त कहिले हेगको धम्की दिएर प्रचण्डलाई तर्साउन खोजिएको छ । उनीहरुको यो धम्कीको अन्तर्यमा प्रचण्डलाई कमजोर बनाएर जनयुद्धलाई अपराधीकरण गर्ने र आफ्नो प्रतिगामी सपना साकार पार्ने अभीष्ट छ ।

जनयुद्धको पहल गर्ने समय विश्व कम्युनिस्ट आन्दोलन इतिहासकै सबैभन्दा हतोत्साहित भएको समय थियो । सोभियत सङ्घको विघटन भएर पुँजीवादको दिग्विजय घोषणा भएको समय थियो त्यो । फ्रान्सिस फुकुयामा जस्ता पश्चिमी राजनीतिशास्त्रीले इतिहासको अन्त्य लेखेर मार्क्सवादको पतन भएको, विश्वव्यापी रूपमा कम्युनिस्ट आन्दोलन समाप्त भएको दलिल पेस गरिरहेका थिए । इतिहासको अन्त्यको भूतले सारा विश्वमा आतङ्क मच्चाइरहेको थियो । पूर्वी युरोपियन कम्युनिज्मको पतन गोन्जालोको गिरफ्तारीपछि पेरुको जनयुद्धले खाएको धक्काले कम्युनिस्ट आन्दोलनको जीवनमा त्यो आँधीबेहरीको युग थियो भन्दा फरक पर्दैन । यद्यपि त्यो आज पनि जारी छ । कम्युनिस्ट पार्टीको नाम नै बदलेर भागदौड मच्चिएको बेला प्रचण्ड, बाबुराम, मोहन वैद्य र बादलको नेतृत्वमा सानो हिमालय देशमा जनयुद्धको प्रारम्भ भएको थियो । त्यो समयमा नेपाल जस्तो भूपरिवेष्ठित मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सशस्त्र क्रान्ति गर्ने प्रश्न आफैमा मूर्खताको पराकाष्ठा हुन सक्थ्यो । तर त्यो ऐतिहासिक कडीलाई निरन्तरता दिने साहस गरे त्यतिबेला प्रचण्डले । 

देशभित्र भने भर्खरै जनआन्दोलन सफल भएको थियो । तीस वर्षे पञ्चायतको उकुसमुकुसबाट बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि जनताले तीव्र आर्थिक सामाजिक परिवर्तनको अपेक्षा राखेका थिए । तर त्यतिबेला विश्वव्यापी रूपमा पुँजीवादले नवउदारवादको खोल ओढेर उदाएको थियो । काँग्रेस सरकारले बेरोकतोक बजारलाई अर्थतन्त्रको अवयव छोड्ने नवउदारवादी कार्यक्रम अघिसारेको थियो । त्यसले विश्वव्यापी सबै रेकर्ड तोडेर धनी र गरिब बीचको खाडल पारेको थियो । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको पालामा सुरु भएको अर्थराजनीतिक कार्यक्रमले देशलाई डरलाग्दो सङ्कटतर्फ धकेलिरहेको थियो भने नेकपा एमालेको लोकप्रियता शान्तिपूर्ण कम्युनिस्ट आन्दोलन पनि शिखरमा थियो । 

यस्तो बेला एउटा सानो टुकुडी लिएर प्रतिकूल राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिका बीच जनयुद्धको आरम्भ गरे प्रचण्ड र उनको टिमले । अढाई सय वर्ष यता कायम रहेको शाह वंशीय राजतन्त्र र त्यसले खडा गरेको केन्द्रीकृत राज्य, एक भाषा एक धर्म र राज्यको स्रोतसाधनमा सभ्रान्त वर्ग र जातीय वर्चस्व खतम गरेर आम श्रमजीवी किसान मजदुरको राज्य स्थापना गर्ने यो युद्धको घोषित लक्ष्य थियो । यो असाधरण रूपान्तरणकारी एजेन्डाका साथ सुरु भएको जनयुद्धले छोटो समयमै चामात्कारिक विजय हासिल गर्दै अघि बढ्यो । बाहुजातीय, बहुभाषिक, बहुधार्मिक मुलुकमा राज्यको अग्रगामी पुनर्संरचनाको मुद्दा नेपाली इतिहासकै असाधरण परिवर्तनकारी एजेन्डा थियो । यही एजेन्डाका कारण जनयुद्ध देशको आम श्रमजीवी नागरिकको जीवन प्रक्रिया बन्न पुग्यो भने यही मुद्दाका कारण प्रचण्ड शक्तिशाली नेता बने । 

जनयुद्धको दर्भियानकै बीच दरबार हत्याकाण्ड मार्फत शाह वंशको परम्परागत बिरासत टुट्न पुग्यो । त्यसपछि उदय भएको नक्कली राजतन्त्रप्रति जनताको विश्वास रहेन । अन्ततः राजतन्त्रविरुद्ध उत्पन्न जनताको आक्रोशलाई सम्बोधन गर्न पनि माओवादी आन्दोलन सफल भयो । राजतन्त्रविरुद्ध संसदवादीहरुसँग सहकार्य गर्ने बाबुराम भट्टराईको प्रस्तावलाई सुरुमा अस्वीकार गरे पनि अन्ततः प्रचण्ड संसदवादी शक्तिसँग राजतन्त्रविरुद्ध सहकार्य गर्न तयार भए । यसले प्रचण्डलाई असाधरण निर्णय क्षमता भएको पुष्टि गर्याे । प्रचण्डको नेतृत्वमा गिरिजाप्रसाद कोइराला जस्ता उग्र कम्युनिस्ट बिरोधि लोकतान्त्रिक नेतासँग सशस्त्र सङ्घर्षमा रहेको कम्युनिस्ट पार्टीसँग संयुक्त आन्दोलन विश्वको दुर्लभ राजनीतिक प्रयोग भयो नेपालमा । बाह्रबुँदे समझदारीमार्फत निरङ्कुश राजतन्त्र विरुद्ध संयुक्त जनआन्दोलन र पहिलो संविधान सभाको निर्वाचनपछि नेपालमा अढाई सय वर्ष लामो शाह वंशीय राजतन्त्रको अन्त्य गर्याे । यो विश्व इतिहासमा एकाइसौ शताब्दीकै मौलिक क्रान्ति थियो । 

यही मौलिक क्रान्तिका नेता थिए प्रचण्ड । तर दुर्भाग्यको कुरा पहिलो संविधानसभा नै यस्तो कडी बन्न पुग्यो त्यो शक्तिशाली इतिहास बोकेको प्रचण्डलाई कमजोर बनाउने कडी पनि त्यही बिन्दुबाट सुरु भयो । माओवादी पहिलो शक्तिको रूपमा उदाएपछि देशभित्रका प्रतिक्रान्तिकारी शक्ति मजबुत ढङ्गले सङ्गठित हुनु स्वाभाविक थियो । प्रतिक्रान्तिकारी शक्तिले नेपालमा मौलिक ढङ्गले आफूलाई प्रस्तुत गर्याे पहिलो संविधान सभा पछि । संसदवादी शक्ति भित्र रहेकोे आफ्नो वर्गीय मित्रहरूलाई परिवर्तनकारी एजेन्डाविरुद्ध दृढताका साथ उभ्याउन सबै शक्ति प्रयोग गरे । संसदवादी शक्तिभित्र रहेका उग्र दक्षिणपन्थी प्रवृत्तिलाई प्रतिक्रान्तिकारी शक्तिले भरमजबुत प्रयोग गर्न सफल भयो । केपी ओली जस्ता घोर दक्षिणपन्थीहरुलाई आफ्नो नायकका रूपमा उभ्याए उनीहरुले । आज त्यो प्रवृत्तिले नै परिवर्तनका एजेन्डा उल्ट्याउन अनेकन अभ्यास गरिरहेका छन् सत्ताको केन्द्रमा बसेर । 

माओवादी पार्टीभित्र भने राष्ट्रिय अन्तर्राष्ट्रिय सबै शक्ति केन्द्रले खेल्न सुरु गरे । बाम बिसर्जनवादी प्रवृत्तिलाई उपयोग गर्न सबैभन्दा सजिलो थियो ती शक्तिलाई । क्रान्तिकारी आवरणमा नै परिवर्तनका एजेन्डा कमजोर बनाउन सकिन्थ्यो । अन्ततः त्यो काम पनि फत्ते भयो । माओवादी पार्टीभित्र इमानदारीपूर्वक परिवर्तनलाई संस्थागत गर्न र नयाँ सन्दर्भमा नयाँ विचारको विकास नयाँ राजनीतिक कार्यक्रम र सङ्गठनात्मक विधि पद्धतिको विकासको माग गर्नेलाई दक्षिणपन्थको आरोप लगाएर दन्डित गरिए । जनयुद्धको बलमा मूलतः फौजी सङ्घर्षको बलमा प्राप्त भएको शक्तिलाई नयाँ सन्दर्भमा टिकाउने र थप शक्ति आर्जन गर्न २०६३ बाट बनाउन सुरु गरिएको सङ्गठनात्मक आधारले सक्दैन थियो । 

त्यसले न उपलब्धि काँधमा बोकेर हिँड्न सक्थ्यो न दुस्मनले हिर्काउँदा थेग्न सक्थ्यो । अन्ततः पहिलो संविधान सभाको विघटन र बाम विसर्जनवादी प्रवृत्तिको बहिर्गमन र माओवादी विभाजनसँगै परिवर्तनका एजेन्डा कमजोर बन्दै गयो र प्रचण्डको क्षयीकरण र चुनाैतिपूर्ण वर्तमान प्रारम्भ भयो । 

माओवादी आन्दोलनको यही विघटनको जगमा ओली पथीय दक्षिणपन्थको उदय भयो नेपालमा । तर प्रचण्ड तिनै दक्षिण पन्थसँग घाँटी जोड्न पुगे कालन्तरमा । उनैसँग पार्टी एकता गरे । भलै पछिल्लो पटक ओलीको दक्षिणपन्थी प्रवृत्तिविरुद्ध उनले पार्टीभित्रै मोर्चा कसेका छन् । यो उनीहरु बीच भएको शक्ति सङ्घर्षको भित्री पाटो बाबुराम भट्टराईको शब्दमा अग्रगमन र पश्चगमन बीचको सङ्घर्ष हो । 

ओली दक्षिणपन्थको कहर भोग्न विवश छौँ हामी नेपाली यतिबेला । युगान्तकारी परिवर्तनपछि परिवर्तन विरोधी शक्तिले नै सत्ता हत्याएपछि राजनीतिक परिवर्तनविरुद्ध हर्कत अघि बढाइए । जसका कारण जनआक्रोश पैदा भएको छ । सडकमा राजतन्त्रको पक्षमा धर्म निरपेक्षताको विरुद्ध सङ्घीयताविरुद्ध जसरी प्रदर्शन सुरु भएको छ यो ओली पथले खडा गरिदिएको उर्वर भूमिमा भइरहेको छ । यो वा त्यो नाममा ओलीले नै उनीहरुको पक्षमा मलजल गरिरहेका छन् । ओलीको गणतन्त्र विरोधि रुझान सङ्घीयता विरोधी हर्कतले अहिले राजतन्त्र पक्षधर प्रतिगामी शक्तिलाई ऊर्जा मिलेको छ । आफ्नो नायक मानेका छन् ती प्रतिगामीहरुले ओलीलाई । तर प्रचण्डविरुद्ध आगो ओकलेका छन् तिनीहरुले । कहिले लडाकु घोटाला प्रकरण त कहिले हेगको धम्की दिएर प्रचण्डलाई तर्साउन खोजिरहेका छन् उनीहरु । उनीहरुको यो धम्कीको अन्तर्यमा प्रचण्डलाई कमजोर बनाएर जनयुद्धलाई अपराधीकरण गर्ने र आफ्नो प्रतिगामी सपना साकार पार्ने अभीष्ट छ । 

राजतन्त्र र हिन्दु राष्ट्र पक्षधर प्रतिगामीहरु ओलीको पक्षमा सतिसाल भएर उभिएका छन् । उनीहरु देशको अहिलेको राष्ट्रियताको प्रमुख कार्यसूची इन्डोप्यासेफिक रणनीति अन्तर्गतको एमसीसी परियोजनाको पक्षमा लबिङ गरिरहेका छन् । जुन नेपालको सन्दर्भमा सबैभन्दा ठूलो राष्ट्रघात हो । तर प्रचण्ड राष्ट्रिय हितविरुद्ध रहेका प्रावधान परिमार्जन नगरी एमसीसी संसदबाट पारित गर्ने पक्षमा छैनन् । त्यसैले इन्डो अमिरिकी संरक्षित प्रतिगामीहरु अहिले प्रचण्ड विरुद्ध बमबार्ड गरिरहेका छन । त्यसले के पुष्टि गर्छ भने प्रचण्ड अहिले पनि परिवर्तनका नेता हुन । उनीसँग थुप्रा विषयमा असहमतिहरु छन् । तर देशको अग्रगमन र मुलुकको पछिल्लो देशभक्तिपूर्ण अडानमा प्रचण्ड माथि प्रतिगामीहरुले गरेको हमलामा ताली बजाएर नाच्न सकिन्न । त्यो किमार्थ स्वीकार्य हुन सक्दैन । यो अग्रगमन र देशभक्तिको अडानमा प्रचण्डलाई सलाम गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रजमान तामाङ
रजमान तामाङ
लेखकबाट थप