मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बालाचतुर्दशीमा पशुपति क्षेत्र सुनसान

शनिबार, २७ मङ्सिर २०७७, २१ : १५
शनिबार, २७ मङ्सिर २०७७

मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान गर्ने भक्तजनको भीड लाग्ने पशुपति क्षेत्र यस वर्ष सुनसान भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपतिलगायत देशभरका शिवालयमा दीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्वमा यस वर्ष पशुपति सुनसान भएको हो ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यस वर्ष पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यस वर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए । आज दीपदान गरी आइतबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । 

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेकामा यस वर्ष मेला नलाग्ने भएपछि श्रद्धालुले नजिकैको शिवालयमा दीपदान गरेका छन् । पशुपति क्षेत्रमा महादीपदान गर्न पूर्णरूपमा निषेध गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । 

आइतबार बिहान शतबीज छर्न मन्दिरको मुख्य क्षेत्र कैलाशडाँडामा निषेध गरिएको उनले जानकारी दिए । मृगस्थली, गुह्येश्वरी र गौरीघाट क्षेत्रमा भने शतबीज छर्न सकिने कोषले जनाएको छ ।
 
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने चलन रहँदै आएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप