शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छालालाई सुक्खापन हुनबाट यसरी जोगाउन सकिन्छ

शनिबार, २७ मङ्सिर २०७७, १३ : ३८
शनिबार, २७ मङ्सिर २०७७

जाडोयाम सुरु भएको छ । जाडोयाममा सबैले भोग्ने थुप्रै समस्यामध्येको एउटा प्रमुख समस्या छालामा हुने सुक्खापन पनि हो । यो मौसममा चिसो हावा चल्ने भएकाले छालामा सुक्खापन आउनुका साथै विभिन्न समस्या देखा पर्छन् । जाडो मौसममा छाला सुक्खा हुँदा चह¥याउने, चिलाउने, पोल्ने, फुट्ने, औँलाहरु रातो भएर सुन्निने र घाउ हुनेजस्ता समस्याले प्रायःजसो मानिसलाई सताएकै हुन्छ ।

नियमित औषधि सेवन गर्नेको छालामा बढी सुक्खापन आउने बीर अस्पतालकी छाला रोग विशेषज्ञ डा. लैला लामा बताउँछिन् । सुगर, ब्लड प्रेसर, किड्नीको औषधि प्रयोग गर्नेको छालामा सुक्खापना बढी देखिने उनको भनाइ छ ।

जाडो मौसममा हामीले सामान्य कुराहरुको ख्याल नगर्दा छालामा सुक्खापनका आउनुका साथै अनेक समस्या देखा पर्छ । त्यसैले जाडोमा छालाको स्याहारमा ध्यान दिनुपर्ने डा.लामा बताउँछिन् ।

जाडो याममा छालामा सुक्खापन देखिने कारणहरु :

डा. लामाले जाडो याममा छालामा विभिन्न कारणले सुक्खापन देखिने बताइन् ।

—शरीरमा पानीको मात्रा कम हुँदा 

—धेरै तातो पानीले नुहाउँदा 

—साबुनको धेरै प्रयोग गर्दा 

—शरीरमा बढी घामका विकिरण छिर्दा 

—जुन पायो त्यही साबुनको प्रयोग गर्दा

—बजारमा पाइने जुन पायो त्यही मोस्चराइजर क्रिम प्रयोग गर्दा ।

चिसो याममा छालामा देखापर्ने समस्याबाट यसरी जोगिन सकिन्छ :

डा. लामाले चिसो याममा छालामा देखापर्ने समस्याबाट जोगिनका लागि केही उपायहरु सुझाएकी छन् । 

— जाडोमा उनबाट बनेको बाक्लो लुगा लगाउँदा शरीर सुक्खा भएर चह-याउँछ । त्यसले शरीर चिलाउने हुँदा सुतीको पातलो लुगा लगाएरमात्र बाहिरबाट उनीको लुगा लगाउनु उचित हुन्छ । यसले छालामा सुक्खापन आउन दिँदैन ।

—जाडोमा सामान्य छाला पनि खस्रो हुने भएकाले छाला सुक्खा हुन नदिनका लागि नियमित रुपमा मोइस्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ ।

—चिसोले छाला सुक्खा हुँदा कत्ला निस्कने गर्छ । छालाबाट कत्ला निस्किएको अवस्थामा चिल्लो पदार्थ प्रयोग गर्नुपर्छ । यदि चिल्लो पदार्थको प्रयोग गर्दा पनि समस्या कम भएन भने छाला रोग विशेषज्ञसमक्ष देखाउनुपर्छ ।

—जुनपायो त्यही साबुनले नुहाउँदा छालामा धेरै सुक्खापन आउन सक्छ । त्यसैले जाडो र गर्मी मौसममा नुहाउँदा प्रयोग गरिने साबुन फरक फरक हुनुपर्छ । जाडोमा नुहाउँदा कसैलाई ग्लिसिरिनयुक्त साबुनको प्रयोग गर्नुपर्ने हुन सक्छ भने कसैलाई मोस्चराइजर साबुन प्रयोग गर्नुपर्छ ।

—प्रशस्त मात्रामा पानी पिउनाले पनि सुक्खा छालाको समस्या समाधान हुन सक्छ ।

—नुहाउने वित्तिकै छालामा तेल वा मोइस्चराइजर लगाउनुपर्छ ।

—खानपानमा विशेष ध्यान दिनुपर्छ भने हरियो सागसब्जीमा बढी जोड दिनुपर्छ । 

काठमाडौँ लगायत देशका पहाडी तथा हिमाली क्षेत्रमा बस्ने प्रायःजसो मानिसमा हात, खुट्टाका औँला रातो भएर सुन्निने समस्याले सताउने गर्छ । डा. लामाका अनुसार यस्तो अवस्थामा निम्न उपायहरु अपनाउनुपर्छ :

—पानी खेलाउनुभन्दा अगाडि रबरको पञ्जा लगाएर काम गरेको खण्डमा औँला सुनिदैन ।

—औँलाहरुलाई रातो भएर सुनिन नदिनका लागि ‘हट वाटर ब्याग’ले औँला सेक्नुपर्छ ।

—जाडोमा जुत्ता लगाउँदा पातलो सोल भएको लगाउन हुँदैन । ‘स्पोर्टस्’ जुत्ता लगाउनु पर्छ ।

—हातखुट्टामा न्यानो पञ्जा तथा मोजा लगाउनु पर्छ ।

—छालाको प्रकृति हेरेर मोस्चराइजर क्रिम र लोसन प्रयोग गर्नुपर्छ । सकेसम्म विशेषज्ञको सल्लाहमा मोस्चराइजर क्रिम वा लोसनको प्रयोग गर्दा राम्रो हुन्छ ।

—छाला सुक्खा हुन नदिनका लागि नरिवलको तेल निकै लाभदायी मानिन्छ भने मह, जैतुनको तेल, दूधको क्रिम र एलोभेरा जस्ता घरायसी चिजलाई मोइस्चराइजरको रुपमा छालामा प्रयोग गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप