शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुस्ताउन थाल्यो सेयर कारोबार, यो साता ५६ प्रतिशतको गिरावट

शनिबार, २७ मङ्सिर २०७७, ०९ : ५२
शनिबार, २७ मङ्सिर २०७७


काठमाडौं । सेयर बजारको कारोबार सुस्ताउन थालेको छ । अघिल्लो हप्ता दैनिक ८ अर्बभन्दा बढी औसत कारोबार रहेको बजारमा यो साता ४ अर्ब भन्दा कम कारोबार भएको हो ।  

यो साता नेपाल स्टक एक्सचेञ्जमा १८ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो साता यस्तो कारोबार ४० अर्ब ९८ करोड रुपैयाँ बराबरको थियो । यो  साताको कारोबार रकम अघिल्लो साताको भन्दा ५६.०३ प्रतिशत कम रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यसरी कारोबार रकम घट्नुमा नेप्सेको उतारचढाव प्रमुख कारण रहेको विश्लेषकहरुको भनाई छ । बजार उच्च रुपमा बढ्दै जाँदा लगानीकर्ताको मनोबल उच्च हुन्छ । यस्तो अवस्थामा अझै बढ्ने अपेक्षासहित लगानीकर्ता लगानी गर्न तयार हुन्छ ।

उता बजार घट्दा लगानीकर्तामा मनोविज्ञान नकारात्मक हुन्छ । बजार अझै घट्ने भयले त्योबेला घटेकै मूल्यमा बजारमा सेयको आपूर्ति बढ्न थाल्छ । यसले कारोबारलाई माथि पुर्याउँछ । तर यो साता बजारमूल्यमा धेरै घटबढ नभएकोले बजारको कारोबार घट्न पुगेको हो ।

यो साता नेप्से परिसूचक करिब ९१ अंकले घटेको छ । अघिल्लो साता २ हजार ५५ अंक रहेको बजार यो साता १ हजार ९ सय ६४ विन्दुमा झरेको छ । पहिलो दिन आइतबार नकारात्मक १ सय २३ अंक घटेर नकारात्मक सर्किट लागेको बजारमा दोस्रो दिन करिब ८२ अंकले बढेको थियो । त्यसपछि भने बजार स्थिर देखिएको छ ।

बजार परिसूचक घटेसँगै यो साता बजार पुँजीकरण पनि घटेको छ । अघिल्लो साता २७ खर्ब ५५ अर्ब रहेको बजार पुँजीकरण यो साता घटेर २६ खर्ब ३३ अर्ब रुपैयाँमा झरेको हो ।

यो साता पनि अघिल्लो साताजस्तै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ । सो कम्पनीको २ अर्ब ५६ करोडको सेयर किनबेच भएको थियो । त्यस्तै, नेपाल लाइफको १ अर्ब २९ करोडको कारोबार हुँदा नेपाल टेलिकमको ७९ करोडको कारोबार भएको छ ।

बजारको ठूला कम्पनीको सूचीमा साता कुनै फेरबदल भएको छैन । पहिलो नम्बरमा १ खर्ब ७७ अर्ब रुपैयाँको पुँजीकरणसहित नेपाल टेलिकम कायम रहँदा दोस्रोमा १ खर्ब ५४ अर्बसहित नेपाल पुनर्बीमा कम्पनी रहेका छन् । त्यस्तै, नबिल बैंकको १ खर्ब १२ अर्ब तथा नेपाल लाइफ इन्स्योरेन्सको १ खर्ब ४ अर्ब रुपैयाँ बजार पुँजीकरण रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप