ad
केन्द्रीय संस्करण
मेरो जीवन

‘मैले सम्झन योग्य फिल्म दिन सकेको छैन’

अहिलेको समय भए म हिरो हुन्थेँ : निर्देशक ऋषि लामिछाने

person explore access_timeमंसिर २७, २०७७ chat_bubble_outline0

 

ऋषि लामिछाने नेपाली फिल्म क्षेत्रका निर्देशक हुन् । कलाकारिता हुँदै निर्देशनमा प्रवेश गरेका लामिछानेको नाम पछिल्लो समय सफल निर्देशकको सूचीमा समेत पर्छ । विगत २० वर्षदेखि टेलिभिजन च्यानलमा सानो पर्दाको सिरियल समेत दिँदै आएका उनी फिल्म ‘कहीँ मिलन कहीँ बिछोड’ बाट निर्देशनमा डेब्यु गरेका हुन् ।

पहिलो फिल्मले राम्रो व्यवसाय नगरे पनि ४ वर्षपछि फेरि ‘आफ्नो मान्छे आफ्नो हुन्छ’ फिल्म गरेका उनले त्यसपछि पछाडि फर्किएर हेर्नुपरेन । ऋषिले अहिलेसम्म ‘श्रीमान् श्रीमती’, ‘हाम्रो माया जुनी जुनीलाई’, ‘सरी ल’, ‘हवल्दार सुन्तली’, ‘किस्मत–२’ लगायत फिल्म निर्देशन गरेका छन् ।  कोरोनाको कहर सकिने बितिक्कै दुई फिल्म गर्ने तयारी गरिरहेका निर्देशक लामिछानेको जीवनको विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा केलाउने प्रयास गरिएको छ ।

मेरो खाना

कालो दाल, भात र तरकारी जे भए पनि मनपर्छ । पिँडालु, भिन्डीको तरकारी र माछामासु धेरै मनपर्छ । मोहीलाई कडी बनाएर खाएको मनपर्दैन ।

साथीभाइ, परिवारसँग कहिले काहीँ रेस्टुरेन्ट जान्छु । त्यहाँको बढी मनपर्ने मम, चाउमिन नै हो । हामी परिवारमा तीन कहिलेकाहीँ रेस्टुरेन्टमा खाना खान जान्छौँ । मलाई पकाउन रुचि छैन । भाँडा माज्नमा रुचि छ । म हरेक दिन भाँडा माज्छु ।

मेरो फिट्नेस

फिट्नेसका अहिले खासै ध्यान दिन्न । पहिले एक्सरसाइज गर्थें । बीचमा छोडेको थिएँ । अहिले फेरि सुरु गरेको छु । पहिले मर्निङवाक पनि गर्थें । जाडो भएर छोडेको छु । ट्रेमिल, डम्बेललगायत केही साधारण एक्सरसाइजका सामान घरमै छन् । त्यसमै एक्सरसाइज गर्छु । डोरी खेल्ने, पुसअप गर्नेगर्छु ।

मेरो पोसाक

पोसाकको मामलामा कमजोर छु । सामान्य पहिरनमा मेरो रुचि छ । बाहिरी पोसाकभन्दा भित्री मन स्वच्छ राख्नुपर्ने मेरो धारणा रहेको हो ।

जाडोमा बाक्लो र गर्मीका पातलो पहिरन लगाउँछु । प्रायः समय टिसट, सर्ट र पाइट लगाउँछु ।

विशेष कार्यक्रम वा फर्मल कार्यक्रममा सट पाइन्ट लगाउँछु । निलो, कालो, पहेलो, सेतो मेरो मनपर्ने पहिरन रङ्ग हो । अरूले गिफ्ट दिएको बाहेक मैले अहिलेसम्म ब्रान्डेड पहिरन लगाएको छैन । वर्षमा ८, १० हजार भए पहिरन खर्च पुग्छ ।

मेरो अध्यायन

अध्ययनमा मेरो रुचि छ । पहिले हरेक दिन सुत्नु अगाडि दैनिकी लेख्थेँ । सो समय किताब नपढी निन्द्रा लाग्दैन थियो । अहिले पढ्न अल्छी लाग्छ । रुचि भने छ ।

समाज पढ्न मनलाग्छ । व्यक्तिगत जीवन, धर्मका कुरा, वाद, सिद्धान्तका कुरा पढ्न मन लाग्छ । म फिल्मकर्मी भएकाले फिल्मका लागि आवश्यक पुस्तक बढी पढ्छु ।

सटानिक भर्सेज भन्ने पहिले पढेको किताब अहिले फेरि पढ्न थालेको छु । म कुनै पनि किताब एकै समय पूरै पढ्न सक्दिनँ । मेरो कमजोरी यही हो । अहिले नयाँ फिल्म गर्दैछु । त्यसका लागि ‘आमा जान्नुहोस्’ र ‘चौतारा साक्षी’ भन्ने किताब पढिरहेको छु ।

मेरो घुमघाम      

म अल्छी मानिस हुँ । घुमफिरमा रुचि छ तर कसैले जाउँ भन्यो भने मात्र जाने हो । आफै इन्टेस लिएर जाँदिनँ । घुम्न पहाड बढी मनपर्छ । तराई मनपर्दैन । चिसोसँग एलर्जी छ । तर चिसै ठाउँ घुम्न मनपर्छ ।

जुन ठाउँमा जीवन देखिन्छ त्यस्तो ठाउँ जान, घुम्न र हेर्न मनपर्छ । पौराणिक स्थानहरु घुम्न रुचि छ । केही दिन अगाडि सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुङ्गा’ गीत सुनेको थिएँ । अहिले ओखलढुङ्गा घुम्न मनलागेको छ । मैले ओखलढुङ्गा देखेको पनि छु । घुमेको पनि छु । तर गीत सुनेपछि फेरि घुम्न मन लागेर आयो । देशको सुदूरपश्चिमका केही जिल्ला घुमेको छैन होला नत्र सबै स्थान पुगेको छु । विदेशमा जापान, फ्रान्स, जर्मनलगायत केही राष्ट्र घुमेको छु ।

मेरो फुर्सद

फुर्सद छ, छैन पनि । काम भएको समय बिहान ४ बजेदेखि बेलुका ११ बजेसम्म म खटिन्छु । अन्य समय भने अल्छी लाग्छ । फुर्सदमा घरपरिवारलाई समय दिने, टीभी हेर्ने, पढ्ने गर्छु ।

मेरो खेलकुद

पहिले र अहिले पनि खेलकुदमा धेरै रुचि छ । तर अहिले खेल्न सकेको छैन । म तेक्वान्दोको ब्ल्याक बेल्ड हुँ । रोजीरोटीको दौडले खेलकुद मेरो छुट्यो ।

अहिले मलाई छाती ठूलो बनाउन, आम्स् ठूलो बनाउन मनलाग्छ । घरमा पुसअप अहिले पनि गर्छु । क्रिकेट, फुटबल लगायतका गेम हेर्छु ।

मेरो मोबाइल

अहिले मसँग आइफोन सेभेन प्लस ब्रान्डको मोबाइल छ । मेरो मोबाइल हराएकाले विगत दुई महिनादेखि श्रीमतीको मोबाइल बोक्दैछु ।

अनलाइन समाचार पढ्न, सामाजिक सञ्जाल चलाउन, युट्युब चलाउन, कसैको बारेमा जान्न गुगल सर्च गर्न, मेल गर्न लगायतमा मेरो मोबाइल प्रयोग हँुदै आएको छ ।

अहिलेसम्म आफ्नो पैसाले मोबाइल किनेको छैन । म सकभर मोबाइल बोक्न खोज्दिनँ ।

मेरो टिभी

टिभी धेरै हेर्छु । अचेल ‘बिग बोस’ भन्ने कार्यक्रम हेर्छु । बेलुका प्रायः फिल्म, मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्छु ।

टेलिभिजनमा म आफ्नो सिरियल हेर्न सक्दिनँ । राम्रो बनाउन नसकेकाले लाज लाग्छ । हेर्दा धेरै कमजोरी देख्छु । नेपाली, अङ्ग्रेजी, हिन्दी फिल्म हेर्छु ।

मेरो कलाकारिता

मेरो कर्म, पेसा, सपना, बिपना सबै चलचित्र नै हो । २०३९ सालमा काठमाडौँ छिर्दा म ७ वर्षको थिएँ ।

मेरो ठूलो दाइ मनोहर लामिछानेले मलाई काठमाडौँ पढ्न ल्याउनु भएको हो । म सल्यानको विकट ठाउँमा जन्मिएको मानिस हुँ । त्यहाँ सायद अहिले पनि बिजुली र गाडी गएको छैन होला ।

त्यो समय त्रिचन्द्र क्याम्पसमा एउटा ड्रामा भएको थियो । उक्त ड्रामाको निर्देशक हिरो नै मणी थापा थिए । म उहाँको छोरा भएर खेलेको थिएँ ।

गरिबको छोरोले पानी पनि खान पाउँदैन भन्दै मर्ने कथा नाटकको थियो । त्यो समय अभिनय, नाटक के हो भन्ने थाहा थिएन । पछि गएर कलाक्षेत्र रोज्छु भन्ने पनि थिएन ।

त्यसपछि एक दुई नाटक अभिनय गरँे । २०४७ सालमा भित्तामा कुँदिएका कथा भन्ने नाटकबाट बुझेर कलाकर्म सुरु भयो । त्यो समयदेखि अहिलेसम्म यही क्षेत्रमा छु ।

निर्देशक विधामा फिल्म ‘साथी’बाट चिफ असिस्टेन्ट निर्देशक भएर  सुरु गरेको थिएँ । २०५८, ०५९ मा निर्माण भएको फिल्म ‘कही मिलन कहीँ बिछोड’ बाट म फूल निर्देशक बने ।

निर्देशन अगाडि अभिनयमा मेरो हिरो बन्ने रुचि थियो । त्यतिबेला हिरोका लागि अग्लो कद, बलिस्ट शरीर र सुन्दर अनुहार चाहिन्थ्यो । अहिले जस्तो जो पनि हिरो हुने समय थिएन । अहिलेको जस्तो समय भए म पनि हिरो हुन्थेँ । त्यतिबेला मैले आफूलाई ऐनामा हेर्दा हिरो जस्तो देखिनँ । अनि निर्देशनमा होमिएँ ।

निर्देशनमा डेब्यु फिल्म ‘कही मिलन कही विछोड’ चलेन । त्यसपछि टेलिभिजनमा ४ वर्ष परिचय नामक सिरियल गरेँ । त्यसपछि ‘आफ्नो मान्छे आफ्नो हुन्छ’ फिल्म गरेँ । यो फिल्म धेरै चल्यो । यो फिल्म मैले यो क्षेत्रमा पछि फर्किएर हेर्नुपरेको छैन । ‘श्रीमान् श्रीमती’, ‘हाम्रो माया जुनी जुनीलाई’, ‘सरी ल’, ‘हवल्दार सुन्तली’, ‘किस्मत २’ लगायत निर्देशन गरे ।

अहिले कोरोनाको कारणले वैशाखमा गर्ने भनेको फिल्म पछि सरेको छ । अहिले दुई फिल्म गर्दैछु । सिरियल भने २० वर्षदेखि नियमित गरिरहेको छु ।

मेरो प्रेम

विसं २०५४ साल वैशाख ४ गते मैले सरितासँग प्रेम विवाह गरेको हो । सरिताको दिदी र म एउटै कक्षामा पढ्थ्यौँ । दिदीसँग कहिले उनकोमा जाँदा एउटा फुच्ची देख्थेँ ।

देख्दादेख्दै कुनबेला उनीसँग आँखा जुध्यो, कुन बेला मन बस्यो । कुनबेला यो मुटुले त्यो मुटुलाई मनपरायो थाहा नै भए । मैले प्रेमपत्र पनि दिइन । एक पटक उनलाई नयाँ बानेश्वरको एक रेस्टुरेन्टमा लगेको थिएँ । त्यहाँ दाइको साथी भेट्दा झसङ्ग भएँ । उहाँले सोध्नुभयो । मैले नढाटी बुहारी भनेर चिनाए ।

उनीसँग विवाहको प्रस्ताव मैले राखेँ । प्रेम भएको करिब ७ वर्षपछि सुटुक्क हामीले विवाह गर्यौँ ।

साँच्चै भन्ने हो भने त्यो बेलाभन्दा अहिले हाम्रो प्रेम बढी छ । अहिले हामी हनिमुन, लभ, रोमान्स र प्रेमको कुरा गर्दछौँ । अहिले बल्ल हामी जीवन बाँचिरहेका छौँ ।

मेरो दुःख

म केही कुरामा पनि दुःख मान्दिनँ । किनभने जो मानिसको ठूलो सपना हुन्छ । त्यसले दुःख महसुस गर्नुपर्छ । मेरो पूरा हुने मात्र सपना देख्छु । अर्काे कुरो म धेरै महत्त्वकाङ्क्षा पनि राख्दिनँ । त्यसैले दुःख केही छैन ।

मेरो सपना

हरेक मानिस सपनाका लागि बाँचेको छ । उनीहरुको केही न केही पाउने आस हुन्छ । कसैलाई दाम चाहियो, कसैलाई नाम र प्रतिष्ठा चाहियो, कसैलाई केही चाहियो । सबै मानिस केही पाउने आसमा, सपना बाचेको हुन्छ । मेरो सपना धेरै पैसा कमाउ भन्ने छैन । राम्रो फिल्म गर्न पाए हुन्थ्यो भन्ने छ । मैले साँच्चिकै भन्ने हो भने अहिलेसम्म राम्रो फिल्म गरेकै छैन । मेरो फिल्मले व्यावसाय गरेका छन् । नगरेका पनि होलान् ।

तर ती फिल्ममा मलाई खोज्नुस्, पाउनुहुन्न । म आफै पनि ती फिल्ममा आफूलाई पाउँदिनँ । मेरो देश, समाज भेटिने र आफू सन्तुष्ट हुने फिल्म गर्ने सपना छ ।

मेरो गीतसङ्गीत

सिरियस, सेन्टिमेन्टल गीतसङ्गीत बढी मनपर्छ ।  ‘हर रात सपनीमा ऐठन हुन्छ’ जस्ता खालका गीत मानपर्छ ।

नयाँ पुराना गायक गायिका सबैको गीत मनपर्छ । जुन गीतसङ्गीतमा जीवन होस्, दर्शन होस्, आदर्श होस् त्यस्ता गीतसङ्गीत मनपर्छ । मलाई आफ्नै फिल्मको गीतसङ्गीत मन पर्दैन ।

मेरो मापसे

मापसे हरेक दिन गर्दिनँ । मन लागेको बेला गर्छु । कहिले ६ महिनामा एक पटक पनि गर्छु । कहिले सातामा एक पटक । आजसम्म मैले दुई प्याक भन्दा लिएको छैन ।

जति खाए पनि म इन्जोए गरेर खान्छु । एक समय श्रीमतीले ब्ल्याकलेबल भन्दा तल नखानु भनेकाले त्यसै गरे । कुनै समय रक्सी खानै हुँदैन भनेर पनि भन्थे । अहिले जे पनि खान्छु, ठिक्क मात्र ।

घरमा रक्सी छ । सजाएर राखेको पनि छु । बाहिरभन्दा बढी रक्सी घरमै खान्छु । धेरै दिन घरमा रक्सी नखाएको देखेपछि श्रीमतीले नै थोरै खानुस् भन्छिन् ।

मेरो भुल

मानिस हुँ । जानी नजानी धेरै भुल भए होलान् । त्यस्तो पछुताउनुपर्ने भुल अहिलेसम्म भएको जस्तो लाग्दैन । किनभने सकभर म कसैलाई विश्वास नै गर्दिनँ । त्यसले गर्दा पनि पछुताउनु पर्ने भुल भएको छैन ।

मेरो रोग

भगवानको कृपाले अहिलेसम्म त्यस्तो रोग केही छैन । सुगर बोडर लाइनमा बसेको छ ।

मेरो राशि

मेरो राशि कन्या हो । ग्रह दशामा विश्वास लाग्दैन । त्यसैले अहिलेसम्म हेराउने, जुराउने गरेको छैन । श्रीमतीको आग्रहमा भने कहिलेकाहीँ जानैपर्ने हँुदो रहेछ ।

मेरो मृत्यु

मृत्यु अन्तिम सत्य हो । मलाई मृत्युसँग धेरै डर लाग्छ । तर थाहा छ हो एक दिन मर्नुपर्छ । तैपनि किनकिन मर्नसँग डर लाग्छ । मृत्युपछि बाँच्ने काम अहिलेसम्म गरेको छैन । मृत्युपछि बाँच्ने कामको प्रयासमा गर्दैछु ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.