शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाका सेकेन्ड लेफ्टिनेन्ट थापालाई बेलायतमा अवार्ड

शनिबार, २७ मङ्सिर २०७७, ०६ : ४१
शनिबार, २७ मङ्सिर २०७७


लन्डन । नेपाली सेनाका सेकेन्ड लेफ्टिनेन्ट पिटर थापालाई बेलायतमा ‘इन्टरनेशनल सोर्ड अफ अनर’ नामक अन्तरराष्ट्रिय अवार्डबाट सम्मान गरिएको छ । विभिन्न मुलुकका ३३ क्याडेटहरुबीच ४४ हप्ताको प्रशिक्षण सम्पन्न गरेको अवसरमा थापालाई शुक्रबार उक्त अवार्ड प्रदान गरिएको हो । बेलायतको स्याण्डहस्टस्थित रोयल मिलिट्री एकेडेमीमा प्रशिक्षणका क्रममा उत्कृष्ट प्रदर्शन गरे वापत उनलाई बेलायती महारानीको प्रतिनिधित्व गर्दै आएका जनरल सर प्याट्रिक स्याण्डर्सले सोभिरेन परेडका क्रममा ‘इन्टरनेशनल सोर्ड अफ अनर’ प्रदान गरेका थिए  । कोरोना संक्रमणका कारण सो कार्यक्रममा बेलायती महारानीको अनुपस्थिति रहेको हो ।

सोहि अवसरमा थापाले प्लाटुन कमान्डरको समेत पास प्राप्त गरेका छन्, जुन ब्रिटिश अफिसर क्याडरलाई तालिम दिन योग्य पास हो । यस किसिमको इन्सट्रक्टरको पास नेपालले पहिलो पटक पाएको थापाले बताए । थापाले कुनै पनि बेला बेलायतमा आएर ब्रिटिश अफिसर क्याडेटलाई दुई वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् । उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी लगायत युएइका क्राउन प्रिन्स शेख मोहम्मद वीन जाइद लगायत सेनाका माथिल्लो  दर्जाका अधिकृत र कूटनीतिज्ञहरुको समेत सहभागी थियो ।

धादिङ जिल्लाको  त्रिपुरा सुन्दरी नगरपालिका निवासी थापा दुई वर्ष अघि मात्र नेपाली सेनामा भर्ना भएका हुन् । २१ वर्षीय थापा बेलायती सेनाको एउटै मात्र कोटामा छानिएर बेलायत तालिममा आएका हुन् । करिब दुई दशकको अवधिमा यस किसिमको अवार्ड पाउने थापा पहिलो नेपाली भएको बताइएको छ । तालिम अवधिभर आफूले धेरै कुराको अनुभव बटुलेको  थापाले बताएका छन् । आफूले पाएको सम्मान सम्पूर्ण नेपाल र नेपालीकै भएको र आफूलाई थप जिम्मेवारीका साथ अगाडी बढ्न प्रेरणा मिलेको  उनले बताए । सन् २०२१ को जनवरीबाट उनले तीन महिनासम्म बेलायतस्थित ब्रेकनमा प्लाटुन कमान्डर ब्याटल कोर्स गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप