शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जापानः जन्मदर बढाउनका लागि आर्टिफिसियल इन्टेलिजेन्सको सहारा

शुक्रबार, २६ मङ्सिर २०७७, ०७ : ३२
शुक्रबार, २६ मङ्सिर २०७७

जापानले आफ्नो चिन्ताजनक जन्मदर बढाउनका लागि एक नयाँ तरिका निकालेको छ । उसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) म्याचमेकिङ स्किम्सलाई आर्थिक सहयोग प्रदान गर्ने योजना बनाइरहेको छ जसले नागरिकलाई आफ्नो प्रेम खोजिदिन मद्दत गर्दछ । 

जापानले अर्को वर्ष ती स्थानीय सरकारलाई आर्थिक सहायता प्रदान गर्नेछ जसले जोडी भेटाइदिनका लागि एआईको प्रयोग गर्ने प्रोजेक्ट पहिलेदेखि चलाइरहेका छन् वा सुरु गर्ने तयारीमा छन् । 


गत वर्ष जापानमा सबैभन्दा न्यून जन्मदर दर्ता गरिएको थियो । त्यहाँ गत ८ लाख ६५ हजार बालबालिकाको जन्म भएको थियो । 

जापानमा ज्येष्ठ नागरिकको संख्या बढ्दो छ र प्रजनन दर संसारमा सबैभन्दा कम छ । यस्तोमा यो देश जन्मदर बढाउनका लागि विभिन्न तरिका खोजिरहेको छ ।
 
एआई प्रविधिको प्रयोगलाई प्रोत्साहन दिन यस्तो नयाँ तरिका अपनाइएको हो । 

समाचार एजेन्सी एएफपीका अनुसार सरकारले अर्को वर्ष स्थानीय सरकारलाई १९ मिलियन डलर प्रदान गर्ने योजना बनाइरहेको छ । 
त्यहाँ थुप्रै मानिसहरुले पहिलेदेखि नै म्याचमेकिङ एजेन्सी चलाउँदै आएका छन् । केहीले म्याचमेकिङका लागि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग सुरु गरेका छन् । उनीहरुलाई आशा छ कि एआईमार्फत् उत्कृष्ट तरिकाले कसैलाई जोडी खोज्न मद्दत मिल्छ । वास्तवमा जब कोही व्यक्ति आफ्नो जानकारी दिन्छ तब एआई सिस्टमले उक्त जानकारीको आधारमा ती व्यक्तिका लागि जोडी खोज्ने काम गर्छ । 


हालको सिस्टम आयस्रोत र उमेरजस्ता क्राइटेरियासम्म सिमित हुन्छ । यसले त्यतिबेला मात्रै परिणाम देखाउँछ जब त्यस्तै खालको म्याच पाइन्छ । 

स्थानीय मिडियाका अनुसार आर्थिक सहायता पाउँदा प्रशासनले अली महँगो र उन्नत सिस्टमको प्रयोग गर्न सक्छ जसले शौख र मूल्य–मान्यताजस्ता पाटोलाई ध्यानमा राख्छ । 

एक क्याबिनेट अधिकारीले एएफपीसँग भने, ‘हामी विशेष रुपमा ती सथानीय सरकारलाई आर्थिक सहायता दिने योजना बनाइरहेका छौं जसले एआईको प्रयोग गर्ने म्याचमेकिङ प्रोजेक्ट चलाइरहेको छ र सुरु गर्ने योजनामा छ । हामीलाई आशा छ कि यो सहयोगले देशको घट्दो जन्मदरलाई सुधार्न मद्दत मिल्नेछ ।’

एक अनुमानका अनुसार जापानको जनसंख्यामा शताब्दीको अन्त्यसाँ भारी गिरावट आउनेछ । सन् २०१७ मा जापानको जनसंख्या १२८ मिलियन थियो भने शताब्दिको अन्त्यसम्म यो घटेर ५३ मिलियन हुने अनुमान गरिएको छ । जापानको जनशक्ति पनि तीब्र रुपमा कम भइरहेको छ ।

जापानको टेम्पल युनिभर्सिटीमा सामाजिक सांस्कृतिक र चिकित्सा मानवविज्ञानी सचिको होरीगुचीका अनुसार सरकारसँग जन्मदर बढाउनका लागि एआई म्याचमेकिङभन्दा राम्रो तरिका छ । जस्तै कम तलब पाउने युवाको मद्दत गर्नु । 

उनी हालै प्रकाशित एक रिपोर्टलाई उद्धृत गर्दै भन्छिन्, ‘जापानका युवामा प्रेम सम्बन्धमा रुची नहुनु उनीहरुको कम आयसँग सम्बन्धित छ ।’
डा. होरिगची बीबीसीसँग भन्छिन्, ‘यदि उनीहरुलाई डेटिङमा रुची छैन भने म्याचमेकिङबाट केही फाइदा हुनेछैन । यदि हामीले प्रविधिको मद्दत लिनै परेपनि हामी कम मूल्य भएका रोबोट लिन सक्छौं जसले घरको काम र बच्चा सम्हाल्न मद्दत गरोस् ।’

विश्लेषकले लामो समयदेखि यो कुरामा ध्यान केन्द्रीत गरिरहेका छन् कि जापानमा कामकाजी आमाले खासै सहयोग पाइरहेका हुँदैनन् । महिलाले घरको सार काम गरुन्, अफिसको काम पनि गरुन् र बालबच्चाको हेरविचार पनि गरुन् भनेर आशा गरिन्छ । 

सरकार केही वर्षदेखि धेरैभन्दा धेरै महिलालाई पूर्ण कालीन जागिरमा आउन प्रेरित गरिरहेको बताउँदै आएको छ, तर लैङ्गिक असमानता लगातार बढ्दो छ ।

लैङ्गिक समानतामाथि विश्व आर्थिक मञ्चको सन् २०१९ को एक रिपोर्टमा जापान १५३ देशको सूचीमा १२१ औं स्थानमा थियो । एक वर्ष अघिको तुलनामा ऊ यो सूचीमा ११ स्थान तल झरेको थियो । – बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप