बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

देशभर सुरक्षा सतर्कता बढाउन प्रहरीको निर्देशन

बिहीबार, २५ मङ्सिर २०७७, १६ : ०५
बिहीबार, २५ मङ्सिर २०७७

काठमाडौं । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो । प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले भने, “पहिलेदेखि लागू हुँदै आएको सुरक्षा योजनालाई अझै कडाइका साथ पालना गर्न भनिएको छ, सुरक्षा चुनौती विष्लेषण गरेर संयुक्तरूपमा टोली परिचालन गर्ने कुरालाई विशेष ध्यान दिने गरी निर्देशन भएको छ ।” 

यही मङ्गलबार मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्रकुमार श्रेष्ठको बर्बतापूर्ण तरिकाले हत्या भएको थियो । उक्त हत्यामा नेत्रविक्रम चन्द समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ । घटना भएको भोलिपल्ट बुधबार गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायमा प्रमुखसँग ‘सुरक्षा ब्रिफिङ’ लिएको थियो । उक्त ब्रिफिङ नियमित भएको गृह प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

यसअघि सो समूह विभिन्न भौतिक संरचनालाई क्षति पुर्याउन विष्फोट गराउने क्रियाकलाप गर्नमा बढी उद्यत थियो । उपत्यकामा बम पड्काउने क्रममा केही सर्वसाधारण र केही आफ्नै कार्यकर्तासमेत मारिएका थिए । गतिविधि आपराधिक हुन थालेपछि सरकारले विसं २०७५ फागुन २८ गतेबाट  चन्द समूहका गतिविधि रोक्ने निर्णय गरेको थियो । यसपछि प्रहरीले उपल्लोस्तरका नेतासहित झण्डै दुई हजारलाई पक्राउ गरी कारवाही गरेको थियो । तीमध्ये एक हजार ८९४ मुद्दा दर्ता भएको छ । पक्राउ परेकामध्ये धेरै छुटेका छन् ।

प्राप्त विवरणअनुसार १३८ जना पुर्पक्षका लागि थुनामा छन् भने अरु सबै छुटेका छन् । छयालीस जनाविरुद्ध अहिले अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए । यस बीचमा चन्द समूहबाट प्रहरीले ४३ वटा पेस्तोल, विभिन्न हतियारमा प्रयोग हुने ५०० राउण्डभन्दा बढी गोली, दुई रिभल्बर, तीन थ्रीनट थ्री, एक/एक थान एसएलआर र एलएमजी, एम–१६ र सात एसएमजी बरामद गरिसकेको छ । यस्तै प्रहरीले दुई प्रेसर कुकर बम, आठ सुतली बम, २३ सकेट बम, ३८ हाते ग्रिनेट, २१० थान डेटोनेटर पनि बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप