बौरन थाल्यो नेपाली अर्थतन्त्र, पुरानै लयमा फर्कन थालेपछि यस्ता देखिए एक दर्जन आर्थिक परिसूचक
आर्थिक गतिविधिका केही परिसूचकले नेपाली अर्थतन्त्र बौरन लागेको सङ्केत गरेको छ । कोरोनाका कारण भएको लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण ठप्प बनेको अर्थतन्त्र विस्तारै चलायमानतर्फ उन्मुख भएको छ । चालू आर्थिक वर्ष (२०७७/०७८) को पाँचौँ महिना चलिरहेको छ । विगत चार महिनाको केही परिसूचकले अर्थतन्त्रको सकारात्मक सन्देश बोकेको अर्थविद् केशव आचार्य बताउँछन् । यद्यपि मानिसमा मनोवैज्ञानिक त्रास भने कायम नै रहेकाले कुनै पनि क्षेत्रमा ढुक्क भएर लगानी विस्तार गर्न नसकेको उनको बुझाइ छ ।
बैङ्किङ सिस्टममा भएको लगानी योग्य रकमले पनि विस्तारै लगानी विस्तार हुन थालेको देखाउँछ । नेपाल राष्ट्र बैङ्कका सहप्रवक्ता नारायण पोखरेल अहिले बैङ्किङ सिस्टममा १ खर्ब ३२ अर्ब तरलता रहेको बताउँछन् । उनका अनुसार अधिक तरलता नियन्त्रणतर्फ उन्मुख छ । लकडाउन ताका नै २ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रेको थियो । बैङ्कहरुले तरलता खिचिदिन राष्ट्र बैङ्कलाई हारगुहारसमेत गरको थिए । राष्ट्र बैङ्कको पहिलो त्रैमासको समीक्षाले फागुन मसान्तको तुलनामा मुलुकको आर्थिक गतिविधिको क्षमता उपयोग ५३ प्रतिशतले घटेको देखाउँछ । अहिले औसतमा ४७ प्रतिशत मात्र क्षमता उपयोग भएको अर्थविद् आचार्यको भनाइ छ ।
यति मात्र होइन चालू आर्थिक वर्षको वैदेशिक व्यापारमा सङ्कुचन आउनु, मुद्रास्फीति (महँगी) काबुमै रहनु, पुँजी बजारले नयाँ उचाइ चुम्दै जानु र निजी क्षेत्र सलबलाउँन थाल्नुले पनि अर्थतन्त्र बौरन थालेको सङ्केत गरेको छ ।
यता पर्यटन व्यवसाय पनि विस्तारै खुल्न थालेका छन् । गतवर्षभन्दा उद्योग वाणिज्य महासङ्घको निर्वाचन पश्चात निजी क्षेत्र पनि जुर्मुराएकाले आशा जगाएको उनको भनाइ छ । यति मात्र होइन निजी क्षेत्रलाई विश्वासमा लिनसक्ने क्षमता भएका अर्थमन्त्री छन् । यसले पनि अर्थतन्त्र सुधारमा सघाउने केही अर्थविद्हरु बताउँछन् ।
आर्थिक गतिविधिका केही सूचक
वैदेशिक व्यापारमा सङ्कुचन
अर्थतन्त्रको प्रमुख सूचकमध्येको वैदेशिक व्यापार अर्थात आयात निर्यातको तथ्याङ्कले देश केही हदसम्म भए पनि व्यापारघाटा न्यूनीकरण गर्नेतर्फ उन्मुख भएको देखाउँछ । भन्सार विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने चालू आर्थिक वर्षको ४ महिनासम्म (श्रावणदेखि कात्तिकसम्म) व्यापार घाटा १२.४९ प्रतिशतले सङ्कुचन आएको छ । ४ खर्ब ४२ अर्ब ६९ हजार २ सय ४२ रुपैयाँको वैदेशिक व्यापार भएकोमा आयात ४ खर्ब २ अर्बको भएको छ भने निर्यात ४० अर्ब २० करोडको भएको छ ।
रेमिट्यान्समा वृद्धि
यता कोरोनाका कारण वैदेशिक रोजगारमा जाने धेरैको रोजगारी गुम्ने र रेमिट्यान्समा धक्का लाग्ने अनुमान विपरीत रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको छ । राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कले (तीन महिनामा) २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको देखाउँछ । यो १२.६ प्रतिशतको वृद्धि हो । नेपाली अर्थतन्त्रको एउटा आधार भनेको रेमिट्यान्स पनि हो ।
चालू खातामा सुधार र शोधानान्तर स्थिति बचतमा
अहिले देशको चालू खातामा सुधार देखिन्छ । चालू खाता ३४ अर्ब ३६ करोडले बचतमा छ भने शोधानान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोडले बचतमा छ । आयातमा भएको सङ्कुचन र रेमिट्यान्सको वृद्धिले चालू खातामा सुधार र शोधानान्तर स्थिति बचतमा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । भुक्तानी सन्तुलनले देशको वित्तीय र आर्थिक अवस्थाको चित्रण गर्छ । भुक्तानी सन्तुलनले देशको मुद्राको स्थिति दरिलो बन्दै छ वा ह्रास आउँदै छ भन्ने चित्रण गर्न सहज हुन्छ । यस्तै चालू खातामा आफ्नो देश र अन्य देशबीच भएको वस्तु तथा सेवा आयात तथा निर्यातको तथ्याङ्क समावेश हुन्छ ।
मुद्रास्फीति काबुमा
सरकारले चालू आर्थिक वर्षमा मुद्रास्फीति ७ प्रतिशतको सीमामा राख्ने लक्ष्य लिएको छ । पछिल्लो तथ्याङ्कले देशको मुद्रास्फीति काबुमै रहेको देखाउँछ । औसत उपभोक्ता मुद्रास्फीति ३.९३ प्रतिशत रहेको छ । खाद्य मुद्रास्फीति भने ५.५० प्रतिशत रहेको छ । खाद्य मुद्रास्फीति बढी भए पनि गैरखाद्य मुद्रास्फीति कम भएकाले औसत मुद्रास्फीति कम रहन गएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । भारतको भन्दा नेपालको मुद्रास्फीति अहिले कम छ । यसले भारतसँगको व्यापारमा नेपालको प्रतिस्पर्धा क्षमता बढ्न थालेको सङ्केत गर्छ ।
सेयर बजारमा नयाँ उचाइ
पछिल्लो समय सेयर बजारले नयाँ उचाइ कायम गरिरहेको छ । नेप्से परिसूचक मङ्सिर २४ सम्म १९५५ विन्दुमा छ । पछिल्लो समय नेप्से इन्डेक्स र कारोबार रकमसमेत बढिरहेको छ । पुँजीबजारतर्फ अहिले लगानी आकर्षित छ । पुँजी बजारलाई अर्थतन्त्रको ऐना पनि मानिने गरिन्छ ।
अधिक तरलता नियन्त्रणतर्फ
कोरोना महामारीसँगै भएको लकडाउनका कारण लगानी विस्तार हुन नपाउँदा बैङ्कहरुमा लगानीयोग्य रकम अधिक रह्यो । २ खर्ब पुगेको लगानीयोग्य रकम अब भने विस्तारै नियन्त्रणतिर लागेको छ । अहिले बैङ्किङ सिस्टममा १ खर्ब ३२ अर्ब अधिक तरलता छ । यसले लगानी विस्तार हुँदै गएको पुष्टि गर्छ । लगानी विस्तार हुनु भनेको अर्थतन्त्र चलायमान पनि बनाउनु हो ।
पुँजीगत खर्च
हालसम्म पुँजीगत खर्च ९.२५ प्रतिशत भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो खर्चलाई सन्तोषजनक रहेको बताउँदै आएका छन् । चालू आवका लागि ३ खर्ब ५२ अर्ब पुँजीगत खर्च विनियोजन भएकोमा हालसम्म ३२ अर्ब ६४ करोड खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । हो ।
राजस्व सङ्कलन
हालसम्म २७.६२ प्रतिशत राजस्व सङ्कलन भएको छ । २ खर्ब ७९ अर्ब ४३ करोड १६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । सरकारले कर र गैरकरबाट १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको छ ।
सलबलाउन थाल्यो पर्यटन क्षेत्र
कोरोनाले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन क्षेत्र पनि पछिल्लो समय सलबलाउन थालेको छ । झण्डै ८ महिना बन्द भएको होटल, पार्टी प्यालेसहरुमा चहलपहल देखिन थालेको छ । यद्यपि सरकारले पर्यटन क्षेत्र खुला गरेको औपचारिक घोषण नगरे पनि यी क्षेत्र पुरानै लयमा फर्कन खोज्दैछन् ।
अर्थतन्त्र चलायमान बनाउने अर्थमन्त्रीको भेट
अर्थमन्त्री विष्णु पौडेलले धेरैजसो क्षेत्रका नेतृत्वहरुसँग भेटघाट गरेर उनीहरुको गुनासो तथा सुझावसमेत लिइसकेका छन् भने केही लिने क्रममै छन् । यसले पनि उनी सबै पक्षलाई रिझाएर बढ्न खोजेको देखिन्छ । यता बजेट खर्च बढाउन पनि विभिन्न मन्त्रालयसँग छलफल गरेका छन् भने बजेटमा लेखिएका विषयको कर्यान्वयनका लागि धमाधम कार्यविधि पास भइरहेको छ । विश्व अर्थतन्त्रलाई नै धक्का दिएको कोरोनाबाट भएको क्षति तत्काल रिकभर नभए पनि पछिल्ला परिदृश्यले अर्थतन्त्र बौरन थालेको अनुभूति हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक