‘अब त मलाई पनि विवाहको रहर जागिसक्यो’
गायिका ज्योति मगर पछिल्लो समय ‘डान्सिङ विथ दि स्टार्स नेपाल’का कारणले चर्चामा छिन् । उक्त शोमा उत्कृष्ट ५ भित्र पुगेर हालै बाहिरिएकी छन् । शोमा विभिन्न शैलीका नृत्य प्रस्तुत गरेको कारण चर्चाको केन्द्रमा रहेकी उनले शोमार्फत् आफुलाई बहुमुखी प्रतिभाकी धनीको रुपमा समेत आफू चिनाउन सफल भएकी छन् ।
लोकगायिकाको रुपमा चर्चित उनी म्युजिक भिडियो अभिनय तथा स्टेज पर्फमेन्समा बोल्ड अवतारको कारण पनि चर्चामा हुन्थिन् । त्यसैले त ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ उनी आफ्नो छवि परिवर्तन गर्न मात्र शोमा उनी सहभागी भएको आरोप पनि लाग्यो । उनी भने आफुमा रहेको बहुमुखी प्रतिभा प्रस्तुत गर्न शोमा सहभागी भएको बताउँछिन् । शोबाट बाहिरिएपछि नयाँ गीतसंगीतको तयारीमा रहेकी गायिका मगरसँग गरिएको कुराकानीको केही अंश ।
पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
– ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ शोमा व्यस्त रहेको थिएँ । केही दिनभयो त्यहाँबाट बाहिरिएको छु । अब भने फुर्सद भएको छ ।
प्रतियोगिताको उत्कृष्ट ५ मा पुगेर बाहिरिनु पर्दा कस्तो अनुभूति भयो ?
–प्रतियोगिता जित्छु नै भनेर म सहभागी भएको थिएँ । प्रतियोगिता अगाडि बढ्दै जादा टप कम्पिडिसन पनि हुन थालेको थियो । त्यसका लागि पनि म तयार थिएँ । प्रतिस्पर्धा पनि गरेकै हो । तर, भोटिङले पनि यसमा प्रभाव पार्दाेरहेछ । मेरो भोटिङका संख्या कम भयो । आफुले त शतप्रतिशत दिँदादिदै भोटिङले असर गर्यो ।
प्रतियोगिताले चर्चा त धेरै दिलायो नि हैन र ?
–कोरोना महामारिले गर्दा सबै क्षेत्र सेलाएको बेलामा प्रतियोगिताले धेरै चर्चा दिलायो । कोरोनाको यो समय पनि पुरै सदुपयोग भयो । प्रतियोगितामार्फत् सबैले मेरो फरक छवि पनि देख्न पाउनुभयो । यो प्रतिभा मैले देखाउने प्ल्याटफर्म अहिलेसम्म पाएको थिइनँ । भिडियोमार्फत् केही देखाउन कोसिस गर्दागर्दै पनि देखाउन पाएकी थिइनँ । त्यो मौका यसमा मिल्यो ।
बिग्रिएको छवि सुधार्न ज्योति प्रतियोगितामा सहभागी भएकी हो भन्ने आरोप पनि छ नि ?
– प्रतियोगितामा भाग लिने समय यतातिर मैले केही सोचेको थिइनँ । फेरि दर्शकले मेरो भिन्न खालको छवि मनपराउनु हुन्छ भन्ने बुझेको पनि थिइनँ । अचानक यो सबै कुरो भैदियो । मेरो लागि यो राम्रो कुरा पनि हो ।
सिकाइको रुपमा कस्तो रह्यो प्रतियोगिता ?
– मेरो विचारमा जीवनको हरेक पल एक किसिमको सिकाइ नै हो । अनुभूति मात्र फरक–फरक हुने हो । धेरै मिहिनेत, समयको महत्त्वलगायत बुझ्न सकेँ ।
तपाईंका गीतसंगीत बाहिर नआएको धेरै समय भयो नि ?
– हो । कोरोना कहरको सुरुका समय ४ महिना म गाउँमा गएर बसेँ । त्यसपछि फर्कदा तीजको गीतहरुको लहर चलिरहेको थियो । त्यसैले ४–५ वटा तीजको गीत गाए । त्यसपछि ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ प्रतियोगीताको अभ्यास सुरु भयो ।
उत्कृष्ट ५ सम्म आइपुग्दा धेरै समय यसमा बितेको पत्तै भएन । अहिले बल्ल फ्री भएँ । अब, छिटोभन्दा छिटो श्रोता दर्शकले मेरो नयाँ गीतसंगीत पाउनु हुनेछ ।
देश विदेशका मेला, महोत्सव, स्टेज कार्यक्रममा सधैँ व्यस्त रहने तपाईं, कोरोनाको कहर र त्यसका कारणले सिर्जित लकडाउनका समय बिताउन गाह्रो त पक्कै भयो होला ?
– दिन त जसोतसो कटेको छ । रमाइलोसँग दिन काट्न भने पाइएको छैन । हामी विभिन्न कार्यक्रम, मेला महोत्सवमा जाँदा भिडभाडमा गीत गाउँदा हुने सन्तुष्टि, पारिश्रमिक बुझ्दा हुने सन्तुष्टिलगायत धेरै कुरो मिस भएको छ । गीत गाउन नपाएर ‘सिक’ भएकी छु अहिले । गीत गाउँदा पाउने सन्तुष्टि मैले नृत्य र अन्यबाट कहिलै पनि पाउदिनँ ।
व्यक्तिगत जीवनमा कोरोनाले के असर गर्यो ?
– सिधा रुपमा आर्थिक असर भइहाल्यो । एउटा रफ्तारमा रहेको करियरमा पनि यसले एक किसिमको धक्का दियो । आर्थिक अवस्थामा असर पर्ने बितिक्कै हामीले खुलेर संगीतमा लगानी गर्न, चाँडो ल्याउन सक्दैनौँ । यस्तो माहोलमा बाहिरको गीत पनि कम हात पर्छ ।
हाम्रोभन्दा पनि कोरोनाले मजदुर वर्गमा पारेको असर देख्दा म मानसिक रुपमा झन् विक्षिप्त भएकी छु ।
कार्यक्रम तथा म्युजिक भिडियोमा देखिने तपाईंको खुल्लापनालाई मानिसले अश्लील, छाडा लगायत उपनामले सम्बोधन गर्ने गरेका छन् नि ?
– सागर कति गहिरो छ भन्ने कुरो मानिसले त्यसमा हाम नफलेसम्म थाहा पाउन सक्दैन भने जस्तै हो यो । त्यो मेरो तर्फबाट एउटा मनोरञ्जनको पाटो हो । स्टेजमा डान्स गरेर गीत प्रस्तुत गर्दा जुन ड्रेसअप सहज हुन्छ । त्यो गर्ने हो मैले ।
साडी लगाएर प्रस्तुत हुने बित्तिकै मलाई असहज हुन्छ । असहज हुने बित्तिकै अरुलाई मनोरन्जन गराउन सक्दिनँ म । त्यो कुरा मलाई आरोप लगाउनेले बुझ्न नचाहनु भएको हो । यस्ता कुरामा मैले सबैलाई जवाफ दिएर पनि सक्दिनँ ।
गायिकाको रुपमा रहँदा राम्रो थियो ज्योति, म्युजिक भिडियो अभिनय गर्न थालेपछि बिग्रियो भनेर पनि भन्छन् ?
– त्यो मानिहरुको हेर्ने नजर हो । जसरी पनि हेर्न सक्छन् । भिडियो अभिनय गर्नु भनेको मोडलिङ गर्नु हो । त्यसले मलाई प्लस गरेको हो । म सानैदेखि नाच्ने, ड्रामा गर्ने खालको थिएँ । यी सबै चिज मैले छोड्न नसकेको पनि त हो ।
विवाह पछि सुध्रिन्छ ज्योति भन्छन् नि ?
– पहिलो कुरो म सुध्रिन्नँ । किनभने सुध्रिनका लागि बिग्रनु पर्छ । म बिग्रिएको छैन । मानिस जन्मदै एउटा नेचर लिएर जन्मिएको हुन्छ । त्यो उसले मरेर पनि लान्छ । यसलाई विवाहलगायत कुनै पनि समय र परिस्थितीले रोक्न सक्दैन ।
यो मेरो नेचर मसँग रही रहन्छ । म ५ गलत मानिसको कुरा सुन्ने भन्दा पनि एक सही मानिसको सङ्गत गर्ने गर्दछु । समय र परिस्थिति अनुसार भने चल्छु ।
फ्यानले विवाह कहिले हेर्न पाउने ?
– अब त मलाई पनि विवाहको रहर जागिसक्यो । मंसिरको महिना फेसबुक लगायत जताततै विवाह देख्दा मलाई धेरै रहर लागेको छ । मन मिल्दो, राम्रो बर पाएँभने जुनै समय पनि हुनसक्छ विवाह । भनेको जस्तो बर पाइनँ भने कहिलै पनि नहुन पनि सक्छ ।
कस्तो वरको चाहना हो ?
– मुख्य कुरो आफ्नो खुटमा उभिएको हुनुपर्यो । सामाजिक हुनुपर्यो । व्यवहारिक पनि हुनुपर्यो । महिलालाई सम्मान गर्ने हुनुपर्यो । मेरो पेसा बुझेको हुनुपर्यो ।
चर्चा र सफलतालाई कसरी हेर्नु भएको छ ?
– यो क्षणिक चिज हो । मुख्य कुरो मानिसको संघर्ष हो । जबसम्म मानिसमा श्वास चल्छ, तबसम्म संघर्ष जारी रहन्छ । हिजो चर्चित हुनका लागि संघर्ष थियो, आज चर्चित भएपछि पनि टिकिरहन त्यस्तै संघर्ष छ । भोलि फेरि अर्काे संघर्ष हुनेछ ।
नयाँ गीतसंगीत कहिले आउँछ ?
– गीतलगभग तयार छ । छिटोभन्दा छिटो ल्याउने तरखरमा छु ।
पछिल्लो समय लोकदोहोरीको अवस्था कस्तो देख्नुभएको छ ?
– अहिलेको मेरो बुझाइ लोकदोहोरी क्षेत्र एकदमै धनी रहेछ । यसका लागि अहिले ८–१० लाखसम्म खर्च गरेर भिडियो बनाइरहेका छन् । अर्काे कुरो यसले कलाक्षेत्रका ७५ प्रतिशतभन्दा बढी मानिसलाई यतिबेला पालेको छ । हिजो चलचित्र गरेर ठीकै आम्दानी गर्ने कलाकारहरु अहिले भिडियो अभिनय गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । घर गाडी जोडेका छन्, सम्पन्न भएर हिँडेका छन् । लोकदोहोरी क्षेत्रको मानिसको मनपनि ठुलो छ । फाइदा नहेरेर पनि यो क्षेत्रकालगातार काम गरिरहेका छन् ।
तस्विरहरु : ज्योति मगरको फेसबुकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको सामान्य प्रभाव : यी प्रदेशमा हल्का वर्षादेखि हिमपातको सम्भावना
-
काठमाडौंका यी स्थानमा कतिबेर जाँदैछ विजुली ?
-
आज पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
-
अमेरिकी डलरको मूल्य उच्च विन्दुमा, अन्य विदेशी मुद्रा कसको भाउ कति ?
-
शनिबार आज कसको भागमा कति लाभ ? हेर्नुहोस् राशिफल
-
ला लिगामा रायो भायकानो विजयी