मेक्सिकोमा कोभिड-१९ खोप अभियान डिसेम्बरको अन्त्यमा

मेक्सिको सिटी । कोरोनाभाइरसको महामारीबाट नराम्रोसँग प्रताडित मेक्सिकोमा यही डिसेम्बर महिनाको अन्त्यदेखि व्यापक खोप अभियान शुरु हुँदैछ । मेक्सिको सरकारले पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप दिने बताएको छ ।
उपस्वास्थ्य मन्त्री ह्युगो लोपेज–गाटेलका अनुसार पहिलो चरणको खोप अभियान यही डिसेम्बर महिनाको तेस्रो साताबाट शुरु हुने र त्यो फेब्रुअरी २०२१ सम्म चल्नेछ । राजधानी मेक्सिको सिटी र उत्तरी कोहाउइला राज्यलाई पहिलो प्राथमिकतामा राखिएको पनि उनले जानकारी दिए ।
मेक्सिको सिटीमा आयोजित पत्रकार सम्मेलनमा उनले चिकित्सक र नर्सका साथै वृद्धवृद्धा समेतका अति जोखिममा परेका नागरिकलाई पहिलो प्राथमिकताका साथ खोप दिइने बताए । मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डका अनुसार यसै महिना करिब २ लाख ५० हजार डोज खोप मेक्सिको आइपुग्ने जानकारी दिएका छन् ।
मेक्सिकोमा सोमबारसम्म ११ लाख ८२ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र हालसम्म १ लाख १० हजार व्यक्तिको मृत्यु भइसकेको छ । राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले मेक्सिकोका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क वितरण गरिने घोषणा गरेका छन् । उनले सन् २०२१ को अन्त्यसम्ममा सबै नागरिकलाई खोप दिइसक्ने योजना अघि सारेका छन् ।
सरकारले यसअघि नै फाइजर–बायोएनटेक कम्पनीसँग ३ करोड ४४ लाख डोज खोपका लागि सम्झौता गरिसकेको छ जसमध्ये २ लाख ५० हजार डोज डिसेम्बर १७ भित्रमा मेक्सिको आइपुग्ने अपेक्षा गरिएको छ । मेक्सिकोको सेना र प्रहरीले खोप वितरणको जिम्मेवारी पाएको छ ।
मेक्सिकोको औषधि व्यवस्था विभागले आगामी डिसेम्बर ११ भित्रमा फाइजरको खोपलाई स्वीकृत गरिसक्ने ह्युगो लोपेज–गाटेलले बताएका छन् । बेलायतले फाइजर–बायोएनटेकको खोपलाई स्वीकृत गरी आम सर्वसाधारणलाई खोप दिन थालिसकेको छ ।
राष्ट्रपति ओब्राडोरले अन्य मुलुकको भ्याक्सिन पनि मेक्सिकोले खरिद गर्ने योजना बनाएको जानकारी दिएका छन् । मेक्सिकोले यसै साता चीनको करिब ३ करोड ५० लाख क्यानसिनो खोप ल्याउने गरी सम्झौता गरेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने