ad
केन्द्रीय संस्करण
कोरोना महामारी

क्यान्सरको उपचार खोज्ने एक जोडीको अभियानले विश्वलाई यसरी कोरोनाको खोप दिलायो

person explore access_timeमंसिर २३, २०७७ chat_bubble_outline0

 

पश्चिमा जगत्मा सबैभन्दा पहिले स्वीकृति पाउने, फाइजर र बायोएनटेकले बनाएको कोभिड– १९ भ्याक्सिन बनेको छ । उक्त भ्याक्सिनको विकासको कथा ३० वर्षअघि जर्मनीमा सुरु भएको थियो, जब भर्खरै प्रेममा परेका दुई युवा चिकित्सकरुले क्यान्सरको उपचार पत्ता लगाउने निधो गरे । यी दुबै चिकित्सक टर्किस् आप्रवासी आमा–बाबुका सन्तान हुन् । जर्मनीको बायोनटेक कम्पनी र उसको अमेरिकी साझेदार फाइजर इन्कले १० महिनामा तयार गरेको भ्याक्सिनले गत बुधबारबाट आपत्कालीन प्रयोगका लागि बेलायतमा  अनुमति पाएको छ, यो पश्चिमा जगत्मा भ्याक्सिन निर्माणको नयाँ कीर्तिमान हो । यसअघि सबैभन्दा छिटो भ्याक्सिन विकास भएको भनेकै ३ वर्षभन्दा धेरै अवधिमा हो ।

झट्ट हेर्दा छोटो अवधिमा भ्याक्सिन बनेको छ । तर बायोनटेकका संस्थापक पति–पत्नी उगुर साहिन र ओज्लेम टुरेसीका लागि यो ३ दशकदेखिको अहोरात्र तपस्या र मिहिनेतको उपज हो । गत जाडोयाममा मानिसमा कोरोना भाइरस पहिलोपटक देखिनुभन्दा लामो समयअघिदेखि नै उनीहरु यस काममा खटिएका थिए ।

महामारी सुरु हुँदासम्म डाक्टर साहिनले एमआरएनए (शरीरलाई भाइरस र अन्य खतराको रक्षाका लागि तयार हुन सहयोग मिलोस् भन्ने हेतुले शरीरभित्र पठाइने जेनेटिक निर्देशन)  अध्ययनमा वर्षौं बिताइसकेका थिए । युरोपमा पहिलोपटक कोरोना पहिचान हुनभन्दा केही दिनअघि जनवरीमा आफ्नो घरको कम्प्युटरमा भ्याक्सिनको डिजाइन गर्नका लागि उनले आफ्नो ज्ञान प्रयोग गरे । ‘यो सफलता एकअर्कासँग गाँसिएका दुई व्यक्तिबीचको उत्कृष्ट संयोजन हो,’ कुनै समय ज्युरिचस्थित साहिनको ल्याबमा काम गरेका  नोबेल पुरस्कार विजेता रोल्फ एम जिन्केरनागेलले भने, ‘साहिन निकै सिर्जनात्मक वैज्ञानिक र टुरेसी राम्रो व्यापारिक सुझबुझ  भएकी उत्कृष्ट चिकित्सक हुन् ।’

डाक्टर साहिनको जन्म टर्कीको मेडिटेरानियन समुद्री तटस्थित इस्केन्दीरनमा सन् १९६५ मा भएको थियो । युद्धपछिको जर्मनीलाई विदेशी कामदारमार्फत पुनर्निर्माण गर्ने नीतिअन्तर्गत कोलोन नजिककैको फोर्ड कम्पनीको कारखानामा उनका बाबुले काम पाएपछि उनी पनि जर्मनी आए । यही समय आसपास लासट्रपस्थित क्याथोलिक अस्पतालमा काम गर्न डाक्टर टुरेसीका बाबु जर्मनी आएका थिए । लासट्रम्पमै आफ्ना बाबुका बिरामीहरुप्रति साहानुभूति राख्ने साधिकाहरुबाट टुरेसी प्रेरित भइन् ।

सुरुमा आफैं साधिका बन्ने सोच बनाएकी टुरेसीले त्यसपछि बाबुको बाटो पछ्याइन् । क्यान्सरका ती बिरामी, जसका लागि किमोथेरापीले काम गर्न छाडेपछि अन्य वैकल्पिक विधिको अभाव हुन्छ, ती  बिरामीको अवस्था देखेर युवाअवस्थामा साहिन र टुरेसी वेचैन, हैरान हुन्थें । यही हैरानीले उब्जाएको छटपटिले नै एमआरएनएबारे काम गर्न उर्जा दिएको उनीहरु बताउँछन् ।

यी दुईजनाको होमवर्ग विश्वविद्यालय अस्पतलामा १९९० को दशकमा भेट भयो । ‘जतिबेला हामीसँग बिरामीका लागि दिने केही थिएन । त्यसबेला हामीले महसुस ग-यौं कि स्ट्यान्डर्ड थेरापीमार्फत हामी चाडैं त्यो बिन्दुमा पुग्नेछांै,’ डाक्टर टुरेसी भन्छिन्, ‘यो फर्मेटिभ प्रयोग थियो ।’ यो जोडीले आफ्नो डक्टोरेल थेसिस पनि प्रयोगात्मक थेरापीहरुबारे लेखेको थियो ।

तत्कालीन समय जोहानेस–गुटेनवर्ग विश्वविद्यालयको हेमाटोलोजी र अन्कोलोजी विभागका प्रमुख क्रिस्टोफ हुवर (जो अहिले बायोनटेकका नन–एक्जुकेटिभ डाइरेक्टर छन्) ले उनीहरुलाई आफ्नो संकायमा भर्ना हुन अभिप्रेरित गरेका थिए । शरीरको आफ्नै प्रतिरोधी प्रणालीलाई संक्रामक रोग जसरी नै क्यान्सर जित्नेगरी तयार गर्नेबारे आधारित नयाँ उपचार विधिका बारेमा यी दुईले अनुसन्धान थाले ।

सन् २००१ मा एन्टीबडी उपचारको विकास गर्नका लागि उनीहरुले आफ्नो पहिलो कम्पनी गेनीमेड फर्माक्युटिकल्स जीएमबीएच स्थापना गरे । यस कम्पनीमा डाक्टर टुरेसी प्रमुख कार्यकारी र डाक्टर साहिन अनुसन्धानकर्ता थिए । ‘विज्ञान र जीवनबीचको खाडललाई पुर्ने प्रेरणा थियो । अनुसन्धानका क्रममा हामीले त्यस्ता समाधानहरु देख्यौं, जसलाई हामीले हाम्रो बिरामीको अस्पतालको बेडसम्म ल्याउन सक्दैन थियौं,’ डा टुरेसीले भनिन् । सन् २००२ को एकदिन, डाक्टर साहिन र डाक्टर टुरेसीले लन्चटाइम आसपास आफ्नो प्रयोगशाला छाडे, उनीहरु रजिस्ट्री कार्यालय पुगे । त्यहाँ बिहे दर्ता गरेपछि फेरि उनीहरु ल्याबको कपडा लगाएर काममा फर्किए ।

यो जोडीलाई सुरुमा र सबैभन्दा धेरै सहयोग गर्ने व्यक्तिहरु आन्द्रेस र थोसम स्ट्रङम्यान थिए, यी खर्बपती जुम्ल्याहा दाजुभाइइले सन् २००१ यता २ सय मिलियन युरोभन्दा धेरै लगानी यो जोडीको व्यवसायमा लगाइसकेका छन् । ‘साहिन भिजनरी छन्, जसले हामीलाई भविष्य देखाउँछन्, टुरेसीले कसरी त्यहाँसम्म पुग्ने भनेर बताउँछिन्,’ बायोनटेक सुपरभाइजरी बोर्डका अध्यक्ष तथा स्ट्रङम्यानको निजी कार्यलयका व्यवस्थापक हेल्मुट जिग्गलले भने । उनका अनुसार यी दुई वैज्ञानिकहरुलाई फराकिलो रणनीतिक स्वतन्त्रता दिन पाएकोमा जुम्ल्याहा दाजुभाइ खुसी थिए । सन् २००८ मा साहिन र टुरेसीले आफ्नो अनुसन्धानलाई एन्टीबडी उपचारबाट एमआरएनएमा बिस्तार गर्नका लागि बायोनटेक स्थापना गरे । सन् २०१६ मा यो दम्पत्तीले १ दशमलव ४ बिलियन अमेरिकी डलरमा गेनीमेड बेच्यो, यसबाट आएको नाफा उनीहरुले नयाँ योजनामा लगाए । त्यसयता बायोनटेकमा मात्रै उनीहरु ध्यान केन्द्रीत भयो । फाइनान्स र सेल्स प्रमुखसहित बायोनटेकका सबै कार्यकारी निर्देशकहरु वैज्ञानिक छन् । सिईओ साहिनले स्थानीय विश्वविद्यालयमा प्राध्यापन पनि गरिरहेका छन्, उनी त्यहाँ पिएचडीका विद्यार्थीहरुलाई अभ्यास गराउँछन्, कहिलेकाँही उनीहरुलाई काममा लगाउनका लागि नजर पनि डुलाउँछन् ।

आफ्ना घाँटीमा टर्किस अमुलेट (लकेट) झुन्ड्याएका डाक्टर साहिन आफ्ना कामबारे कुराकानी गर्दा प्रायजसो फर्मुलाहरु कोर्नका लागि ब्ल्याकबोर्ड भएको ठाउँ जान्छन् ।

६० देशका वैज्ञानिकहरु समावेश बायोनटेक टिममा आधा महिला छन्, यसमा एमआरएनए क्षेत्रका काटालिन कारिको  (पेन्सिलभेनिया मेडिकल स्कुल विश्वविद्यालयकी प्रोफेसर) जस्ता एमआरएनए क्षेत्रका दिग्गज समेत समावेश छन् । 

‘धेरैजसो बायोनटेकका सिईओहरु सेल्सम्यान हुन्, तर साहिन ती वैज्ञानिक हुन् जसले मलाई कन्भिन्स गरें किनकि यहाँ विज्ञान धेरै राम्रो छ,’ हंगेरियन प्रोफेसर कारिकोले भनिन्, ‘हाम्रो उत्पादनका कुनै ब्लुप्रिन्ट छैनन्, कसैले यसअघि यस्तो गरेको छैन ।’

२५ जनवरी, शनिबारका दिन एक अध्ययन पढेपछि चीनबाट सुरु भएको अज्ञात रोग विश्वभर फैलनेमा डाक्टर साहिनले आँकलन गरिसकेका थिए ।  त्यसपछि उनले आफ्नो कम्प्युटरमा काम थाले, जहाँ उनले १० वटा संभावित कोरोनाभाइरस भ्याक्सिनको ‘ढाँचा’ तयार गरे । यसैमध्येको एक ढाँचा बुधबार बेलायतले स्वीकृति दिएको बिएनटी१६२बी२ बन्नेवाला थियो ।

भोलिपल्टै साहिनीले जिग्गलसँग भाइरसविरुद्धको लडाइँमा बायोनटेकले आफ्नो कामलाई केन्द्रीत गर्छ भनेका थिए । यो त्यस्तो भाइरस थियो, जसको कुनै नाम थिएन र यतिबेलासम्म युरोपमा पहिचान भइसकेको पनि थिएन । ‘म अचम्मित थिए,’ सन् २००१ देखि डाक्टर साहिनसँगै काम गरेका जिग्गलले भने, ‘हामीसँग धेरै स्वतन्त्र पुँजी पनि थिएन र हामी हाम्रो क्यान्सर अनुसन्धानमा पनि जोडिएका थियौं ।’ आप्mना कुरालाई प्रष्ट्याउन डाक्टर साहिनले सन् १९६८–६९ मा ४० लाखको ज्यान लिने हङकङ फ्लुको उदाहरण दिएका थिए ।

दुईघण्टापछि जिग्गल सहमत भए ।

त्यसपछिको सोमबार डाक्टर साहिनले आफ्ना कर्मचारीहरुलाई सात दिने सिफ्टमा पुनर्संयोजन गरे, उनले प्रमुख कर्मचारीहरुलाई बिदा स्थगित गर्न र सार्वजनिक यातायतको प्रयोग बन्द गर्न भने । उनले यस प्रयासलाई ‘लाईटस्पिड प्रोजेक्ट’ (प्रकाशको गतिको परियोजना) भने, यसअन्तर्गत वषौं नभएर महिनौंसम्ममा भ्याक्सिन विकास गर्ने उनले त्यतिबेला बताएका थिए ।

फेब्रुअरीमा साहिनले जानको असरलाई माइक्रोस्कोपमा नियालिरहेका थिए । तत्कालीन समय उपस्थित रहेका दुई कर्मचारीसँग उनले सेल्फी लिए । ‘मेरो बुझाइ यो हाम्रो भ्याक्सिन उम्मेदवारको जन्म हो,’ उनले घोषणा गरे ।

एमआरएनए प्रविधिमा आधारित रहेको फ्लु भ्याक्सिन बनाउनका लागि बायोनटेकले फाइजरसँग सहकार्य गरिरहेको थियो । विभिन्न महादेशहरुमा क्लिनिकल परीक्षण गर्न, विश्वव्यापी रुपमा उत्पादन तयार गर्न र अमेरिका, युरोपलगायत देशमा यसको वितरण गर्नका लागि साहिनलाई साझेदार चाहिएको थियो र त्यसका लागि के गर्ने भन्ने पनि उनलाई थाहा थियो । गत मार्चमा दुई कम्पनीहरु बायोएनटेक र फाइजरले सम्झौतामा हस्ताक्षर गरे, अनि अप्रिलमा पहिलो मानव परीक्षण सुरु भयो ।

भ्याक्सिनले स्विकृतिको प्रतिक्षा गरिरहेका बेला जोखिम लिएर उत्पादन सुरु गर्ने एक अमेरिकी कम्पनी र जर्मनीको ठूलो औषधी कारखाना बायोनटेकले फेला पा-यो । यो ठूलो जोखिम थियो ( खोप असफल भएको अवस्थामा.. )

मेर्गान स्ट्यान्लीको अनुमानअनुसार भ्याक्सिनले फाइजर र बायोनटेकलाई १३ अर्ब अमेरिकी डलर आम्दानी दिनसक्छ । ‘फाइदालाई फेरि लगानी गर्नेछौं,’ डाक्टर साहिनले भने ।

उनको लक्ष्य बदलिइसकेको छैन, एमआरएनएमा आधारित तथा अन्य आधुनिक क्यान्सरको उपचार बजारमा ल्याउने । यस्ता ११ वटा उपचार विधि क्लिनिकल परीक्षणमा छन् ।

यो संभव हुनसक्छ भन्नेमा धेरै वैज्ञानिकहरु अझै सन्देह गर्छन् । अक्सफोर्ड विश्वविद्यालयबाट एमआरएनएमा विशेषज्ञता हासिल गरिरहेका वरिष्ठ पोस्टडक्टोरल वैज्ञानिक थोमस सी रोबर्टस्का अनुसार भ्याक्सिनको नतिजा उत्साहजनक रह्यो, तर एमआरएनए खोपको प्रयोग गर्नुपूर्व नै महत्वपूर्ण चुनौतीहरु देखिन्छन् ।

तर डाक्टर साहिन यसप्रति असहमत छन् । ‘भ्याक्सिनको स्वीकृतिले आफ्नो प्रविधिलाई वैधता दिने र औषधीको दुनियाँमा पूर्णत नयाँ सुरुवात हुने’ उनी बताउँछन् ।

स्रोतः द वाल स्ट्रिट जर्नल 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.