शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारविरुद्ध काँग्रेस सडक प्रदर्शनमा : राजावादी आन्दोलनलाई पनि ‘काउन्टर’

सोमबार, २२ मङ्सिर २०७७, ०९ : २९
सोमबार, २२ मङ्सिर २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सरकारका विरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिँदैछ । काँग्रेसले २९ मंसिरमा देशव्यापी प्रदर्शन गर्ने भएको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई १७ मंसिरमा गृहजिल्ला तनहुँमा एउटा पुल उद्घाटन गर्ने क्रममा स्थानीय प्रशासनले नियन्त्रणमा लिएपछि आक्रोसित भएको काँग्रेसले सरकारविरुद्ध सडकमा जाने निर्णय गरेको हो ।

काँग्रेसका शीर्ष नेतासहित शुक्रबार बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध देशव्यापी प्रदर्शनको उद्घोष गरेको थियो । काँग्रेसले सडकसँगै सदनबाट पनि सरकारमाथि दबाब बनाउने नीति लिएको छ । त्यसका लागि संसद बैठक अविलम्ब बोलाउन सरकार र सभामुख समक्ष काँग्रेसको माग छ ।

राष्ट्रिय रूपमा उठेका जीवन्त प्रश्नहरू सँगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएको काँग्रेसको ठहर छ । काँग्रेसले वर्तमान सरकार निरन्तर रुपमा दमन, भ्रष्टाचार र कोभिड—१९ को अव्यवस्थापनको पर्यायवाची बनेको आरोप लगाएको छ । साथै कम्युनिष्ट सरकारको अधिनायकवादी चिन्तन र व्यवहारका विरुद्ध संघर्ष गर्नु परिरहेको काँग्रेसको भनाइ छ ।

सरकारी विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकन् भ्रष्टाचार काण्ड र बेथितिलाई काँग्रेसले विरोध प्रदर्शनको एजेण्डा बनाएको छ । सरकार विरुद्धको प्रदर्शनबारे नेता कृष्णप्रसाद सिटौलाले भने, ‘मुख्यरुपमा सरकाररुपी भ्रष्टाचार, दमन र कुशासनविरुद्धमा ¥याली र सभा हो । संघीय लोकतान्त्रिक गणतन्त्रका दिशामा सरकारको ध्यान छैन । सरकार आफ्नो स्वार्थसिद्धका लागि दमन र भ्रष्टाचारमा लिप्त भयो ।’

सिटौलाका अनुसार तर काँग्रेसले यी विषयमा विरोध प्रदर्शनको निरन्तरताबारे कुनै ठोस योजना बनाएको छैन । ‘तनहुँमा रामचन्द्रजीमाथिको दमन र सामान्य खालका त सयौँ घटना भइसके । यी सबै कुरालाई लिएर विरोध प्रदर्शन गर्न लागिएको हो । अहिले एकदिने विरोध -यालीमात्र हो,’ उनले भने ।

यस्तै नेता अर्जुननरसिंह केसीले सरकारले एकपछि अर्को गरेर प्रतिपक्षी विचारलाई निषेध र नियन्त्रण गर्ने हर्कतहरु देशव्यापीरुपमा गर्दै आएको बताए । ‘कतिपय जिल्लामा भौतिक आक्रमण भएको छ । कतिपय जिल्लामा नेकपाका कार्यकर्ताबाट हाम्रा कार्यकर्ता मारिएका पनि छन् । यसले ओली सरकार सम्पूर्ण रुपबाट लोकतन्त्रका आधारभूत मान्यता र सिद्धान्त विपरीत प्रतिपक्षी विचार र व्यक्तिलाई शत्रु ठान्ने प्रवृत्तिको द्योतक र एकदलीय कम्युनिस्ट पार्टीतर्फ उन्मुख गतिविधिको पछिल्लो कडीका रुपमा हाम्रा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि अपमानपूर्ण ढंगले लछारपछार गर्ने गतिविधि भयो,’ केसीले भने ।

केसीका अनुसार अहिलेसम्म भएका यावत भ्रष्टाचारको गतिविधिका बाबजुद कुनै भ्रष्टमाथि कारबाही भएन भनेर काँग्रेसले जनतासामु मुद्दा पु¥याउने छ । उनले भने, ‘कोरोना महामारीको प्रकोपबाट पीडित नेपाली जनतालाई केन्द्रविन्दुमा राख्न नसकेर ८ महिनादेखि कुर्सीकै द्वन्द्वमा सरकारमा बस्नेहरु अलमलिएका छन् । आइसियु नपाएर, बेड नपाएर कोभिडका बिरामीको बिचल्ली छ । डेढ सयभन्दा बढी सुत्केरी महिलाको अकाल मृत्यु भइसकेको छ, आत्महत्या, खाना नपाएर मृत्यु भएकाहरुको संख्या पनि उत्तिकै छ, यिनै विषयलाई जनताका बीचमा पु¥याइने छ ।’

कोभिड–१९ लाई नियन्त्रण गर्न सरकार पूर्ण असफल भएको केसीको दाबी छ । ‘अहिलेको यो स्थितिमा पनि ज्यानको बाजी लगाएर रोजगारीका लागि लाम लागेर विदेश जानुपर्ने अवस्था छ । महँगी आकाशिएको छ, कृषकले मल पाएका छ्रैनन्,’ उनले भने, ‘औद्योगिक, सामाजिक क्षेत्रमा सरकारको उदासीनता छ । यी सम्पूर्ण कुरालाई केन्द्रविन्दुमा राखेर २९ गते हामी सांकेतिक रुपमा कार्यक्रम गर्दैछौँ, जुलुस प्रदर्शन हो ।’

यी विषयमा संसद र सडकबाट आफ्नो ढंगले उठाउँदै जाने केसीको भनाइ छ । ‘तत्काल संसद बोलाउन पनि माग गरेका छौँ । समस्याले चारैतिर घेरिएको छ । नेपाली जनताको प्रतिनिधिका रुपमा स्थापित नेपाली जनताको सार्वभौम सत्ताको नेतृत्व गर्ने संसदलाई छल्ने गरिएको छ । अब हामी यी विषयमा संसद र सडकबाट आफ्नो ढंगले उठाउँदै जान्छौँ,’ केसीले भने ।

आन्दोलनभन्दा महाधिवेशनमा ध्यान

काँग्रेसलाई सरकारका गलत काम कारबाहीको विरोधभन्दा पनि १४ औं महाधिवेशनको चटारो बढी छ । त्यसलाई पुष्टि गर्नेगरी सिटौलाले भने, ‘हामीहरु महाधिवेशनमा प्रवेश गरेकाले पार्टीभित्र महाधिवेशनका कार्यक्रम अगाडि बढाउनु छ । विरोधका कार्यक्रमलाई पनि विस्तारै नियमित ढंगले अगाडि बढाउने नै छौँ । १४ औं महाधिवेशन गर्नुपर्ने हुँदा पार्टीभित्र त्यससम्बन्धी विषय प्रवेश हुन्छ । सम्पूर्ण ध्यान आन्दोलनमा मात्र केन्द्रित गर्न सकिँदैन । महाधिवेशनको काम पनि गर्नु परेको छ ।’

यद्यपि सिटौलाले महाधिवेशन छ भनेर सरकारले गरेका गलत कामलाई चुप लागेर हेर्न पनि नसकिने बताए । ‘महाधिवेशनका साथसाथै सरकारले गरेका गतल काम कारबाहीका विरुद्धमा नेपाली काँग्रेस विपक्षीको हैसियतमा सडक प्रदर्शनमा जान्छ,’ उनले भने । तर निर्णायक आन्दोलनका लागि महाधिवेशनपछि मात्र तयार हुने केसीको भनाइ छ ।

‘महाधिवेशन अगाडि महाधिवेशनमै केन्द्रित हुनुपर्ने आवश्यकता छ । त्यसका कारण एक दिने -याली गर्दैछौँ । यसमा हाम्रा नेपाली काँग्रेसका कार्यकर्ता, सबै भ्रातृ संस्थाको संयुक्त समूहमा ७७ वटै जिल्लामा विरोध प्रदर्शन हुन्छ । अहिलेलाई हामीले सिम्पल एक दिनको विरोध कार्यक्रम तय गरेका छौँ,’ उनले भने ।

आन्तरिक व्यवस्थापन गर्दै महाधिवेशन सकेसम्म चाँडो गरेर अहिलेको भ्रष्टाचार, बेथिति, ज्यादती, संवैधानिक अंगलाई निरीह बनाउने कुरा र लोकतान्त्रिक विरोधी गतिविधिको सशक्त प्रतिविरोध गरिने उनको भनाइ छ । तर अहिले पार्टी महाधिवेशनका लागि केन्द्रित हुनुपर्ने भएकाले आन्दोलनकै निरन्तरताको पक्षमा भने काँग्रेस नरहेको केसीको भनाइ थियो ।

महामन्त्री पूर्णबहादुर खड्काले भने आगामी दिनमा कसरी अगाडि जाने भन्नेबारे पुसको पहिलो साता बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिने बताए ।

राजावादी आन्दोलनको काउन्टर

प्रतिगमनका आकांक्षाहरु विरुद्ध एक ढिक्का रहेर सडकदेखि संसदसम्म प्रस्तुत हुने काँग्रेसको भनाइ छ । बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्वर्द्धन आफ्नै ऐतिहासिक अभिभारा रहेकोे काँग्रेसको ठहर छ ।

नेता केसीले भने, ‘प्रतिगामी र प्रगतिशील पक्षधरका आ–आफ्ना किसिमका आन्दोलनमा हामी मुलभूतरुपमा संवैधानिक लोकतन्त्रमा प्रतिवद्ध छौँ । यस्ता विरोधी विचारहरुको हामीले जहाँ जहिले पनि  प्रतिवाद गर्छौँ । गरिरहेका पनि छौँ ।’

तर काँग्रेसको विरोध प्रदर्शन कुनै पक्षको विरुद्धमा भन्दा पनि प्रतिगामी दृष्टिकोण, अलोकतान्त्रिक गतिविधिको सम्पूर्ण रुपमा विरोधमा केन्द्रित हुने उनको भनाइ छ ।

‘यो संविधान निर्माणमा नेतृत्व गर्ने हामी हौँ । यस संविधानमाथि आउने चुनौतीलाई हामीले प्रतिरोध गर्छौँ नै,’ उनले भने, ‘यो संविधानलाई असफल सिद्ध गर्न सत्तारुढ दल लागेको छ । चारैतिर असफलता, भ्रष्टाचार, बेथिति छ ।’

त्यसैको परिणामस्वरुप जनता विभिन्न कोणबाट सडकमा आएका केसीको भनाइ छ । ‘तिनका आ–आफ्ना राजनीतिक दृष्टिकोण छन् । त्यसमा असहमति हुँदा हुँदै पनि यसको मुल कारण त सरकारको असफलता र नालायकीले गर्दा संवैधानिक लोकतन्त्रमाथि प्रश्न उठ्न थालेको गम्भीर स्थिति हो । त्यतातिर हामी सचेत छौँ,’ उनले भने ।

कार्यक्रमको स्वरुप

२९ मंसिरमा हुने कार्यक्रममा सरकारबाट जारी कोभिड– १९ सम्बन्धी मापदण्ड लागु नगरिने काँग्रेसको भनाइ छ ।

‘सरकारको मापदण्ड केही रहँदैन । ७७ वटै जिल्लाका सदमुकाममा पार्टीका तमाम कार्यकर्ता साथीहरु उपस्थित हुन्छन् । उहाँहरुले जुलुस, र्याली निकाल्नु हुन्छ  । सभा समारोह गर्नुहुन्छ,’ सिटौलाले भने ।

आफैले आफूलाई कोभिडबाट बचाउन सतर्कता अपनाइने उनको भनाइ छ । सिटौलाले भने, ‘मास्क लाउँछौँ । सडकमा जान्छौँ । मोटरसाइकल ¥याली, गाडी ¥याली, जुलुस, सभा सबै हुन्छ ।’

विरोध प्रदर्शन कार्यक्रममा केन्द्रीय नेता पनि उपस्थित हुने उनको भनाइ छ । ‘जिल्लाले आवश्यकता बमोजिम नेताहरु बोलाइहाल्छ । केन्द्रले ठाउँ तोकेर नेताहरुलाई पठाउने निर्णय गरेको छैन । जिल्लाको स्थिति बमोजिम जिल्लाका नेताहरुले आयोजना गर्ने कार्यकम हो । त्यसमा केन्द्रीय नेताहरु पनि सहभागी हुनुहुन्छ,’ सिटौलाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप