शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शक्ति सञ्चयमा प्रचण्ड र ओली

सोमबार, २२ मङ्सिर २०७७, ०७ : २६
सोमबार, २२ मङ्सिर २०७७

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले राखेको प्रस्ताव फिर्ता नभएसम्म स्थायी कमिटीको बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएसँगै बैठक एक हप्ता सारेर दुवै अध्यक्ष शक्ति सञ्चयतर्फ लागेका छन् । आइतबार बसेको स्थायी कमिटी बैठकमा दाहालको प्रस्ताव र ओलीको जवाफी पत्रलाई छलफलको अजेन्डा बनाउने कि नबनाउने भन्नेबारेमा छलफल भएको थियो । बैठकले ती दुवै प्रस्तावलाई अजेन्डा नबनाएर सट्टामा ‘पार्टीको आन्तरिक समस्याबारे’ भन्ने अजेन्डा बनाएपछि सात दिनलाई बैठक स्थगित गरेर अध्यक्षद्वय शक्ति सञ्चयतर्फ उन्मुख भएका हुन् ।  

धुम्बाराहीमा स्थायी कमिटीको बैठक सकिएपछि ओलीले बालुवाटारमा आफूनिकटका नेताहरूसँग भावी रणनीतिबारे छलफल गरेका थिए । आफूमाथि दाहालले लगाएको आरोपको प्रतिवाद कसरी गर्ने र दाहालको प्रस्तावलाई कसरी असफल बनाउने भन्ने विषयमा ओलीले निकटका नेताहरूसँग छलफल गरेका हुन् । बालुवाटार निकट स्रोतका अनुसार स्थायी कमिटीबाट भन्दा पनि सचिवालय बैठकबाट समस्याको छिनाफानो गर्ने रणनीति ओली समूहको छ । स्थायी कमिटीमा ओलीका विरुद्ध गतिलो बहुमत छ भने सचिवालयमा ओलीको अवस्था केही बलियो छ ।

यता दाहालले पनि निकटका नेताहरूसँग छलफल गरिरहेका छन् । उनले खासगरी पूर्व माओवादीका नेताहरूसँग छलफल गरेका थिए । स्थायी कमिटी बैठकमा दाहालले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफूलाई कुनै संकोच नभएको बताएका थिए । त्यसपछि साँझ उनले निकटका नेताहरूसँग सामान्य छलफल गरे । ‘पार्टीमा नेतृत्व हस्तान्तरणको प्रसंग उठिरहेको छ । यसमा मलाई समस्या छैन । मलाई अध्यक्ष हुनुपर्ने मोह छैन’, दाहालले बैठकमा भनेका थिए । स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार दाहालले पदभन्दा गणतन्त्र र पार्टी आवश्यक भएकाले आवश्यक परे त्याग गर्न तयार हुने बताएका थिए । साँझको छलफलमा यो विषयले पनि प्राथमिकता पाएको थियो ।

पछिल्लो समय बहुमतको घेराबन्दीमा परेका प्रधानमन्त्री ओली भदौ २६ गतेको स्थायी कमिटी बैठकले दिएको म्यान्डेट कार्यान्वयन गर्छु भन्ने अवस्थामा पुगेका छन् । यो विषय पनि सचिवालय बैठकमा नभएर स्थायी समिति बैठकबाटै छिनोफानो हुनुपर्ने दाहाललगायतको नेताको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप