मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हिँउदे अधिवेशनको तयारीमा संसद सचिवालय, सांसदलाई बाल्कोनीमा समेत राखिने

आइतबार, २१ मङ्सिर २०७७, १७ : ५७
आइतबार, २१ मङ्सिर २०७७

संवैधानिक व्यवस्थाअनुसार अगामी पुस १४ गतेअघि सरकारले संघीय संसद बैठक आह्वान गनुपर्ने हुन्छ । सोही समयलाई मध्यनजर गरेर संघीय संसद सचिवालयले बैठक सञ्चालनका लागि तयारी सुरु गरेको छ । 
कोरोनाभाइरस संक्रमणको जोखिमका कारण सांसदहरुबीच दुरी कायम गर्दै बैठक सञ्चालनका लागि आवश्यक तयारी सुरु भएको संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले रातोपाटीलाई जानकारी दिए । 

उनले भने, ‘संसदको हिउँदे अधिवेशनका लागि आवश्यक पर्ने व्यवस्थापकीय काम सुरु गरेका छौँ । यो पटकको अधिवेशनमा कोरोनाका कारण बढी संवेदनशीलता अपनाउनु पर्नेछ । यो संवेदनशील समयमा कसरी स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तवरले अधिवेशन सञ्चालन गर्न सकिन्छ भन्ने ढंगले संघीय संसद सचिवालयले विभिन्न पक्षहरुबाट अध्ययन तथा विश्लेषण गरेर काम अघि बढाएको छ ।’

विश्व स्वास्थ्य संगठनले तय गरेका मापदण्ड अनुसार सांसदहरुबीच कसरी दुरी कायम गर्न सकिन्छ, सुरक्षित रुपमा प्रवेश गर्नेदेखि, सभामा बस्ने र बाहिर निस्कनेसम्म के कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने तयारीमा सचिवालय जुटेको उनले बताए ।  

यसका लागि विभिन्न सरोकारवाला पक्षहरुसँग छलफल गरेर आएका सुझाव अनुसार व्यवस्थापनको प्रक्रिया अघि बढाइएको सहप्रवक्ता धमलाको भनाइ छ ।

दर्शकदीर्घामा पनि सांसदलाई राख्ने तयारी 
गत वर्षे अधिवेशनमा प्रतिनिधिसभामा दुई सिट छोडेर दुरी कायम गरिएपनि त्यसले पर्याप्त हुन नसक्ने भएकाले यसपटक सांसदहरुलाई बाल्कोनी अर्थात दर्शकदीर्घामा समेत राख्ने तयारी गरिएको छ । 
सहप्रवक्ता धमलाले भने, ‘हाउसको तल्लो भागमा मात्र बस्न सम्भवै छैन, स्वास्थ्य संवेदनशीलताका कारण माननीयज्यूहरुलाई माथिल्लो भागमा पनि राख्नैपर्ने हुन्छ । अहिले मुख्य प्राथमिकता भनेकै स्वास्थ्य सुरक्षा हो ।

सभा व्यवस्थित ढंगले सञ्चालनका लागि राष्ट्रिय सभा अध्यक्ष र सभामुखले त्यही किसिमले निरन्तर रुपमा निर्देशनपनि दिइरहनुभएको छ । सचिवालको नेतृत्वले पनि विभिन्न महाशाखाहरुलाई, शाखाहरुलाई निरन्तर रुपमा निर्देशन दिने कामहरु भइरहेको छ ।’

वर्षे अधिवेशन सुरु गर्नुअघि झै हिउँदे अधिवेशन अघि पीसीआर परीक्षण गर्ने कि नगर्ने भन्नेमा निर्णय हुन बाँकी रहेको उनले बताए । 
पदाधिकारीहरुसँग छलफलपछि यसबारे निर्णय गरिने भएको छ । पीसीआर परीक्षणभन्दा पनि संसद भवनभित्रको बसाईलाई कसरी पातलो गर्न सकिन्छ, कर्मचारीहरुबिच कसरी दुरी कायम गरेर काम गर्न सकिन्छ भन्नेमा सचिवालय केन्द्रीत रहेको सहप्रवक्ता धमलाले बताए । 

उनले भने, ‘अहिलेको अवस्थामा दुरी पातलो बनाएर सुरक्षित रुपमा अधिवेशन चलाउने कुरा एकदमै चुनौतिपूर्ण छ । पुस १८ अघि अधिवेशन सुरु होला, अहिलेको चुनौतिलाई सामना गर्दै त्यसका लागि आन्तरिक रुपमा गर्नुपर्ने काम कारवाहीहरुलाई व्यवस्थित रुपमा सुरु गरेका छौँ । हाम्रो स्वास्थ्य जनशक्तिले आफ्नो ढंगले गर्नुपर्ने कामका लागि पनि जुटिसकेका छौँ ।’ अब हुने संसद बैठक पहिलेको भन्दा अझ धेरै दुरी कायम गरेर गर्ने तयारीमा संसद सचिवालय जुटेको छ । 

यतिबेला संघीय संसद अन्र्तगत रहेका विभिन्न समितिकाहरुको बैठक स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर भर्चुअल रुपमा चलिरहेको छ । केही समितिका बैठक भने सांसदहरु कार्यक्रममा हलमै उपस्थित भएर पनि भइरहेको छ । केही दिनअघि संघीय संसद सचिवालयले गरेको कार्य    ममा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सरकारले निर्धारित समयमै संसदको हिउदे अधिवेशन बोलाउने उल्लेख गरेकी छिन् । 

संसदको एउटा अधिवेशन सकिएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्ययस्था अनुसार आँउदो पुसको दोश्रो साताभित्र संसदको हिउँदे अधिवेशन सुरु गरिसक्नुपर्नेछ ।  तर, सरकारले बैठक बोलाउन ढिलाइ गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप