शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बजारले नरुचाएको बुँदा नम्बर ६८, एकैदिन गुम्यो १६६ अर्ब

आइतबार, २१ मङ्सिर २०७७, १७ : ०६
आइतबार, २१ मङ्सिर २०७७

काठमाडौं । मौद्रिक नीतिको समीक्षाको एउटा बुँदाले नेपालको पुँजी बजारको सम्पत्ति एकैदिन १ खर्ब ६६ अर्ब रुपैंयाले घटेको छ । बिहीबार २७ खर्ब ५५ अर्ब रुपैयाँ रहेको सेयर बजारको सम्पत्ति घटेर आइतबार २५ खर्ब ८९ अर्बमा झरेको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले बताए । आइतबार बजार एकैदिन १ सय २३ अंकले घटेको छ । यो गिरावट इतिहासकै सबैभन्दा बढी गिरावट समेत हो । यसअघि एकैपटक ८६ अंकसम्मको घटबढ बजारमा भएको थियो । 

राष्ट्र बैंकले बिहीबार साँझ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको थियो । समीक्षाको बुँदा नम्बर ६८ मा भनिएको छ, ‘व्यक्तिगत अधिविकर्ष कर्जा, शेयर धितो कर्जा तथा रियलस्टेट कर्जासम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ ।’ सोही व्यवस्थाका कारण लगानीकर्ताहरु भयभित हुँदा बजारले सो परिमाणको मूल्य गुमाउनु परेको हो । 

मौद्रिक नीतिको समीक्षामा गरिएको व्यवस्था

बिहीबार उक्त समीक्षा सार्वजनिक हुँदा सेयर बजारको कारोबार बन्द भइसकेको थियो । शुक्रबार बजारको नियमित कारोबार नखुल्ने भएका कारण अघिल्लो साता नै यसको प्रभाव परेन । तर, आइतबार बजार खुला हुन ेबित्तिकै यसले ‘नकारात्मक प्रतिक्रिया’ देखाएको थियो । 

मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएसँगै लगानीकर्ताहरुले राष्ट्र बैंकको निर्णयको विरोध गर्दै आएका थिए । सोही विरोधकै स्वरुपमा नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्र्ता संघ, पुँजीबजार लगानीकर्ता संघ लगायत लगानीकर्ता संघका पदाधिकारीहरुले आइतबार डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई ज्ञापनपत्र समेत बुझाउँदै सो पुुनरावलोकन सच्याउन माग गरेका छन् । उनीहरुको सक्रियताको बाबजुद बजारले नकारात्मक दिशा लिएको हो । 

(ज्ञापनपत्र बुझाउँदै लगानीकर्ता संघका पदाधिकारीहरु)


परिपत्र नआउँदै भयभित बजार

त्यसो त, अहिलेसम्म पनि राष्ट्र बैंकले गर्न लागेको पुनरावलोकन कस्तो खालको हो भन्नेबारे केही उल्लेख गरेको छैन । बैंकका नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल यसबारे अझै अन्तिम निर्णयमा पुग्न बाँकी रहेको बताए । तर, नयाँ व्यवस्थामा के हुन्छ भन्ने नै थाहा नभई लगानीकर्ताहरु बजारबाट बाहिरिन थालेका हुन् । 

राष्ट्र बैंकले गर्ने भनेको पुनरावलोकनलाई बजारले मार्जिन घटाउने, जोखिम भार बढाउने वा मार्जिन कलसम्बन्धी व्यवस्थालाई पुनरावलोकन समेत घटाउने अर्थमा लिएका छन् । हाल शेयर बजारको मार्जिन सीमा ७० प्रतिशत तोकिएको छ । 

त्यस्तै, १२० दिनको औसत मूल्यलाई आधार मानेर सेयरमा धितोको गणना गर्ने व्यवस्था गरिएको छ । तर, त्यसरी दिइने ऋणमा २० प्रतिशत घटेपछि मात्रै बैंकहरुले सम्बन्धित ऋणीलाई धितोमा रहने शेयर थप्न वा कर्जा तिरेर मार्जिन पुर्याउन ताकेता गर्न पाउने व्यवस्था छ ।  त्यस्तै, बैंकहरुले सेयर धितोमा ऋण दिएबापत सो ऋणलाई शतप्रतिशत भारका आधारमा जोखिमका लागि जगेडा कोषको व्यवस्थापन गर्नुपर्ने व्यवस्था हाल कायम हुँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप