डिजिटल बैङ्किङ : फोनबाटै ऋण दिनेदेखि मुद्दती खाता खोल्नेसम्म, बैङ्कहरुले प्रविधिमा कति गर्छन् खर्च ?
पछिल्लो समय बैङ्कहरुले आफ्ना सेवालाई प्रविधिसँग जोड्दै गएका छन् । बैङ्कहरु प्रविधिको प्रयोगमा टेलिकम्युनिकेसन पछिको अग्रभागमा रहेको गभर्नर महाप्रसाद अधिकारीले नै एक कार्यक्रममा भनेका थिए । कुन बैङ्क कति एडभान्स छ भन्ने देखाउन उनीहरुले प्रयोग गर्ने प्रविधिबाटै प्रष्ट हुन्छ । आफ्ना सेवालाई प्रविधिमैत्री बनाउन र बैङ्कसम्म सेवाग्राहीको उपस्थिति कम गर्न डिजिटलाइजेसनतर्फ बैङ्कहरु गएका छन् । यद्यपि अझै अनलाइनबाट खाता खोले पनि केवाईसी अपडेट प्रविधिको प्रयोगको पछिल्लो उदाहरण हो एक कलबाटै ऋण लिनसक्ने व्यवस्था । कर्जा लिन बैङ्कसम्म पुग्नुपर्ने व्यवस्थाको अन्त्य गर्न केही बैङ्कले घरमै बसी ग्राहकलाई कर्जा दिन मिल्ने योजना अघि सारेका छन् । बैङ्कमा तलबी खाताका ग्राहकले यस्तो सुविधा पाउँनेछ । जस्तोसुकै अवस्थामा पनि इन्टरनेटको पहुँचमा बैङ्कबाटै आवेदन दिँदा ऋण लिन पाउँनेछन् ।
इन्टरनेट भएको ठाउँबाट मोबाइलबाटै आवेदन दिँदा कर्जाको रकम खातामा जम्मा हुने व्यवस्था नबिल बैङ्क, कुमारी बैङ्क र एनएबी बैङ्कले गरेका हुन् । अन्य बैङ्कसमेत यसको तयारीमा रहेका छन् ।
अनलाइनबाटै खाता खोल्न मिल्ने, मोबाइलबाटै मुद्दती खाता खोल्न मिल्ने जस्ता व्यवस्था भएका छन् । एनआईसी एसिया बैङ्कले मोबाइलबाटै मुद्दती खाता खोल्न सक्ने व्यवस्था गरेको छ । उसो त केही बैङ्कहरुले मुद्दती निक्षेप राखेका केही सेवाग्राहीको सो निक्षेप परिपक्व भएपछि फोन गरेर नै नयाँ मुद्दती निक्षेप खाता खोलिरहेका छन् । उदाहरणका रूपमा सिटिजन्स बैङ्कलाई लिन सकिन्छ । सिटिजन्सको कुपन्डोल शाखाले फोन गरेर मुद्दती खाता खोल्दै आएको छ । डिजिटल बैङ्किङका लागि बैङ्कहरुबीच प्रतिस्पर्धा जस्तै देखिएको छ । मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, एटीएम, डेबिट कार्ड, क्रेडिट कार्ड, एसएमएस बैङ्किङ, ब्रान्चलेस बैङ्किङ, अन्तरबैङ्क विद्युतीय भुक्तानी प्रणाली जस्ता डिजिटलाइजेसनका उदाहरण हुन् । यसलाई बैङ्कहरुले अपनाइरहेका छन् ।
नेपालका बैङ्कहरुमा सीबीएस (कोर बैङ्किङ सफ्टवेयर) धेरै प्रयोग हँुदै आएको छ । बैङ्कहरुको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड लगायतका कार्डका कारण आम बैङ्क प्रयोगकर्ता बैङ्कसम्म पैसा झिक्न जानुपर्दैन । विदेशी कम्पनीको स्विच प्रयोग गर्दै आएका बैङ्कहरु विस्तारै आफ्नै स्विच प्रयोग गर्न सक्ने भइसकेका छन् ।
डिजिटल प्रविधिको माध्यमबाट नेपाली अर्थतन्त्रलाई विश्व अर्थतन्त्रसँग जोड्ने सरकारी लक्ष्य छ । चालू आर्थिक वर्षको बजेटले पनि डिजिटल नेपालको परिकल्पना गरेको छ ।
प्रविधिको सुरुवाती कस्ट महँगो, कालान्तरमा फाइदा
बैङ्कहरुले प्रयोग गर्ने प्रविधिको लागत सुरुमा महँगो हुने नबिल बैङ्कका डेपुटी सीईओ मनोज ज्ञवाली बताउँछन् । यद्यपि सुरुमा महँगो भएको प्रविधि कालान्तरमा सेटल हुँदै लागत कम पर्न जाने उनको भनाइ छ ।
बैङ्कहरुले प्रयोग गर्ने कोर बैङ्किङ सफ्टवेर कुन डेभलपरको हो सो अनुसार मूल्य फरक पर्ने भएकाले बैङ्कहरुले प्रयोग गर्ने एप्लिकेसन र एपमा कति लागत लाग्छ भन्ने यकिन तथ्याङ्क नभएको ज्ञवाली बताउँछन् । कुनै एउटा एपको प्रयोगको लागत थाहा भए पनि बैङ्कहरुले प्रयोग गर्ने विविध प्रविधिको वार्षिक औषत लागत कति लाग्छ भन्ने यकिन गर्न सहज नभएको ज्ञवालीको भनाइ छ । मोबाइल बैङ्किङ, एटीम, ब्रान्चलेस बैङ्किङ सबैजसो बैङ्कहरुले अपनाएका छन् । साङ्ग्रिला डेभलपमेन्ट बैङ्कका आईटी प्रमुख सन्तोष पङ्गेनी प्रविधि महँगो भए पनि प्रतिस्पर्धामा डिजिटललाई अपनाउनै पर्ने बताए । पङ्गेनीका अनुसार सामान्य एउटा बुथका लागि बैङ्कहरुले ४ देखि ५ लाख रुपैयाँसम्म वार्षिक खर्च गर्छन् भने ई–बैङ्किङ धेरैजसो बैङ्कले प्रयोगकर्ताको आधारमा रकम तिर्छन् । साङ्ग्रिला बैङ्कले ई–बैङ्किङका लागि वार्षिक २० लाख रुपैयाँसम्म तिर्ने गरेको छ । यस्तै एउटा एटीएम कार्डको डेढ सय रुपैयाँसम्म पर्छ भने सफ्टवेयरका लागि डेढ करोड रुपैयाँसम्म खर्चनुपर्छ । यी त डिजिटल बैङ्किङका प्रतिनिधि उदाहरण हुन् ।
पङ्गेनी बैङ्कहरुले प्रविधिमा गरेको खर्च अनुसारका प्रविधि प्रयोगकर्ताहरु नभएको बताउँछन् । यद्यपि कोरोनाका कारण डिजिटल प्रविधिको प्रयोगप्रतिको सचेतना भने बढेको उनी स्विकार्छन् । कोरोनाका कारण बैङ्कहरुले डिजिटल बैङ्कलाई प्रोत्साहन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित
-
झापाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
हामीले पनि एमालेले जस्तै सडकमा मञ्च बनाएर सभा गर्न पाउनुपर्छ : प्रभु साह
-
५ जना युवतीहरूलाई बेचबिखन गरेको आरोपमा पक्राउ
-
जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई
-
भारतीय सेना प्रमुखले भने– नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउनु सौभाग्यको कुरा