जबाफ दिनोस् नेताज्यूहरू विभाजन कि एकता ?
एउटा खुला प्रश्नको जबाफ दिनोस् नेताज्यूहरू अब विभाजन गर्ने कि एकता ? जस्तो प्रश्न उठेको छ त्यस्तै उत्तर दिनु पर्छ । प्रश्नको उल्टो उत्तर दिन मिल्दैन, गलत उत्तर मान्य हँुदैन । यसैकारण उत्तर दिनुभन्दा पहिले प्रश्नलाई राम्ररी विचार गर्नुपर्छ । यो प्रश्नको पछाडि के भावना लुकेको छ ? उत्तर दिन नमिल्ने वा उत्तर दिन नसक्ने भए, नेताहरूले त्यसको पनि खुला स्पष्टीकरण दिनुपर्छ । उत्तर दिनु पनि एक कला हो । नेतृत्वमा स्थापित हुन कुनै पनि प्रश्नको मीठो जबाफ दिन सक्नुपर्छ । नेपाल कम्युनिस्ट पार्टी झण्डै सत्तरी पटक फुटेको छ । त्यसलाई मुख्य नेताहरूले विभिन्न कारण देखाएर फेरि फुटाउनुभयो भने त्यो बहादुरी होइन, राजनीतिक अपराध ठहरिने छ । बुद्घिमता होइन अराजनीतिक मूर्खता सावित हुने छ । कुनै पनि राजनीतिक मुद्दाको छिनोफानो गर्ने वास्तविक प्रधान न्यायाधिश नेपाली जनता हुन् । खबरदार, अपराध गर्नेलाई जनताले क्षम्य दिन सक्दैनन् ।
भनिन्छ अपराधीलाई दण्ड दिएर तह लगाउनुपर्छ । लोभीलाई पैसा दिएर वशमा लिनुपर्छ । स्वाभिमानीलाई हात जाडेर, विद्वानलाई यथार्थ कुरा भनेर खुसी पार्नुपर्छ । मूर्खलाई उसले जे चाहन्छ त्यसै भनेर, फुक्र्याएर, ठूलो बनाएर अफ्नो अनुकूलमा राख्न सक्नुपर्छ । आफ्नो गल्ती नदेख्ने, अर्काको छिद्र मात्र हेर्ने मूर्ख हो, आफ्नो आङमा भैँसी नदेख्ने अर्काको आङ्मा जुम्रा देख्ने छिद्रान्वेशी हो । त्यस्तो मनोवृत्तिबाट सबैजना जोगिनुपर्छ अर्थात जनतालाई बाटो देखाएर आफू अगाडि हिँड्ने आपतविपत आइपरेको बेला नहडबडाईकन सधैँ धैर्य धारण गरेर नयाँ बाटो देखाउने नेताहरू त झन् जनभावना बुझेर मानिसअनुसार व्यवहार गर्न सिपालु हुनुपर्छ । असल नेता आफूले चालाएको पानी जहाज वा आफूले उडाएको हवाइ जहाज ल्यान्ड गर्न निपुण हुनुपर्छ । उनी त्यसमा चुकेभने विनासकारी भिषण दुर्घटना निम्तिन्छ ।
आफू राम्रो बाटोमा हिँड्ने, जनतालाई राम्रो बाटोमा हिँडाउने सिद्घान्त राम्ररी बुझेर समाजवादी आन्दोलनको नेतृत्व गरिरहेका केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगयतका कम्युनिस्ट नेताहरूलाई एकअर्का विरुद्घ कसले लडाउन सक्छ ? अहिले राजनीतिक स्थिरता, सुशासन, शान्ति, अमनचैन, उत्पादन अभिवृद्घि, तीव्र विकास र समृद्घि हासिल गरेर समृद्घ नेपाल बनाउने, समाजवादका आधार निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी पाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी फुटाउने चक्रव्यूहमा कसले फसाउन सक्छ ? यो शङ्का÷आशङ्काले भरिएको दूरगामी महत्त्वको खुला राजनीतिक प्रश्न हो ।
नेकपा का सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी सदस्यहरूका साथै, जनसङ्गठन, सामाजिक, सामुदायिक, सार्वजनिक एवं निजी सङ्घ÷संस्थाका अगुवा, नागरिक समाज, सबै मतदाता र आम जनमानसले यसको खुला स्पष्टीकरण सोधेका छन् । दूरगामी सोचकासाथ इतिहासको ठोस विश्लेषण गर्ने हो भने वास्तवमा वर्तमान अतितको सन्तान र भविष्यको जननी हो । यो ऐतिहासिक कार्यभारलाई भुसुक्कै भुलेर वा पूरै बेवास्ता गरेर केही बोलक्ड नेताहरूले कुरा निकै मीठा गर्छन्, योजना ठूल्ठूला बनाउँछन तर आफूले सिन्को ठाडो पार्नुपरे सबभन्दा पहिले तिनै नेताहरू आफ्नो जिम्मेवारीबाट पन्छिन्छन् र चारैतिर सुन्ड÷मुसुन्डहरूको पर्खाल बनाएर जनतालाई गरिबीको आहालमा डुबाउन खोज्छन् । यो तीतो सत्य पहिलेदेखि नै सबैका सामु तेर्सिएको छ ।
यदि पटक पटक राज्य सत्ता समाल्ने सुनौलो अवसर पाएका मुख्य नेताहरूलाई जनशक्तिभन्दा धनशक्ति चाहिएको छ । सदाचारभन्दा लोकचार चाहिएको छ । कर्मयोगभन्दा भक्ति योग चाहिएको छ । देश र जनतालाई भन्दा चामत्कारिक परिणाम आफूलाई चाहिएको छ । सिद्घान्त, विचार, नीति, विधि, पद्घतिभन्दा आफ्नो हैकम चाहिएको छ भने नढाँटीकन, नडराईकन, नलजाईकन सत्य भन्नु पर्दा सत्ता र शक्तिको ठूलो भिरबाट लड्ने नेताहरूलाई रामराम मात्रै भन्न सकिन्छ, कोही पनि सती जान सकिँदैन ।
‘सधैँ साँचो बोल, मातापिता र गुरुको सम्मान गर, अर्काको सम्पत्तिमा आँखा नलगाऊ, इमानदार बन, परोपकारमा लाग, सानालाई माया गर, पाउनालाई सत्कार गर, दुर्वाच्य नबोल, दयालु होऊ’, यो पूर्वी दर्शनको आदर्श हो । यो देशको सबभन्दा उच्च तहमा चढ्नु भएका नेताज्यूहरू, यदि हजुरले समाजविज्ञान भुलिसक्नु भयो, मार्क्सवाद त्यागी सक्नुभयो, हजुरलाई म कम्युनिस्ट हुँ भनेर बाँच्न लाज लाग्छ भने कम्तीमा मर्ने बेलामा यो पूर्वी दर्शन चाहिँ सम्झिनु होला । पक्कै पनि कहिल्यै नसुनिएको सत्यभन्दा हजारौँ पटक सुनिएको झुट पत्याउन सजिलो हुन्छ । मुख्य नेताज्यूको राजनीतिक जीवनमा प्रकट भएको मपाइँ प्रवत्ति त्यसैको नजिर नबनोस् ।
राज्य सञ्चालकहरूले ठूल्ठूला गुण्डी हाँके पनि आजको जमनामा सत्य लुक्दैन झुटो टिक्दैन । यो देशमा अहिले पनि हत्या छ । बलात्कार छ, पाखण्डीपन छ । चोरी, डकैती, गुण्डागर्दी, लुटपाट छ । गरिबी, अभाव र कालो बजारी छ । मिसावट छ, अनेकौँ प्रकारको भ्रष्टचार, दुरचार, व्यभिचार छ । अन्याय, अत्याचार, शोषण, उत्पीडन छ । यो सुन्दर देश अहिले पनि उनै पाँच प्रतिशत ठूलाठालु÷टाठाबाठाहरूका लागि मोजमस्ती गर्ने अखडा जस्तै बनेको छ । तर पन्चानब्बे प्रतिशत सोझा जनता भने राजतन्त्र अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आगमनपछि पनि आनन्द र खुसीविहीन दुःखी गरिब मानिस बन्न वा अभिभावकविहीन टुहुरा छोराछोरी जस्तै भएर कष्टपूर्ण जीवन जिउन विवस भएका छन् । लोकतन्त्रका नाममा लुटतन्त्र, गणतन्त्रका नाममा गुण्डातन्त्र, सङ्घीयताका नाममा हैकमतन्त्र, जनताका नाममा बर्बरतन्त्र हावी हुन थालेको छ । पतनको चितामा जलेको राजतन्त्र बिउँताउने भूतको कथा सुनाउँदै पूर्व पञ्च मण्डले फुटपाथमा बर्बराउन थालेका छन् । यसलाई सुशासनको अनिकाल भनिन्छ । यो कठोर कुरा सबैभन्दा गम्भीर चुनौती हो ।
यसै पृष्ठभूमिमा अत्यन्तै नग्न विकृति, विसङ्गति, विचलन, अनैतिकता र अदुरदर्शिताको पराकाष्टा थपिएको छ । यो देशले वर्षौंदेखि झेलिरहेको खतरा र देशवासीहरूले भोगिरहेको कष्ट समाधान गर्न नसकेकै कारण नेपालमा फेरि राजनीतिक सङ्कट झङ्गिदै छ, गहिरिँदै छ । आन्तरिक समस्या थुपिँ्रदैछ, चुलिँदै छ । राजनीतिक द्वन्द्व पेचिलो बन्दैछ । चर्किंदै छ । राज्य सञ्चालक र राजनीतिक नेताहरूले हरक्षण उच्च सजकता अप्नाउनुपर्ने कुरा यो सङ्कट एक्कासि टर्दैन् । सबै समस्या एकैचोटि समाधान हुँदैनन् । द्वन्द्व आजको आजै टुङ्गिदैन । यसको मूल कारण के हो ? स्वच्छ हृदय, दृढ इच्छाशक्ति, दूरदृष्टि र स्पष्ट दृष्टिकोण नभएको नेताले यस प्रश्नभित्र लुकेको गुदी कुरा पहिल्याएर सही निष्कर्ष निकाल्न, जनभावना बुझेर पार्टी सुदृढ गर्न, समयको गति र बदलिँदो परिस्थिति बमोजिम देश समाल्न सक्दैन । पार्टी सुदृढ गर्न, जनादेश पालना गर्न, देशको बागडोर समाल्न नसक्ने निकाम्प नेतृत्वको काम छैन । तर पार्टी र सत्ता तिनै मूर्खहरूको हातमा छ । कटु यथार्थ के हो भने निरासा, कुण्ठा या क्रोध, आक्रोश मात्रै ? यसको जबाफ मुख्य नेताहरूले नै दिनुपर्छ, दिनेछन् । गलत जबाफ आयो भने त्यसको भागीदार नेताहरू नै हुनेछन् । हरेक राजनीतिककर्मीले जाने बुझेको कुरा के हो भने जबसम्म राज्य सञ्चालन गर्ने मूल नीति राजनीति स्वस्थ, स्वच्छ, स्थिर र सुदृढ हुँदैन । मुलुकको बागडोर समाल्ने राजनीतिक नेतृत्वपङ्क्ति सिद्घान्तनिष्ठ, इमानदार, नैतिकवान, सबल र सक्षम बन्दैन तबसम्म देशले अग्रगति, प्रगति, विकास, उन्नति र समृद्घिको शिखर चुम्न गाह्रो हुन्छ ।
लोकतन्त्रको मीठो गफ गर्दै जनमानसलाई रणभुल्ल पार्ने तर लोकको वास्तविक हितमा सिन्को पनि ठाडो नपार्ने मनोवृत्ति निस्तेज नहुँदासम्म संविधानमा लेखिएको समाजवाद नेताहरूको मागी खाने भाँडो बन्छ । अहिले त्यही बनेको छ, बनाइँदै छ । यो पश्चगमन, प्रतिगमन र प्रतिक्रान्ति निम्त्याउने खतराको घण्टी भन्ने कुरामा आम जनमानस पूर्ण सजक हुनुपर्छ ।
इतिहास ताजै छ । निरङ्कुश राजतन्त्रले नेपालीहरूलाई २४० वर्षपछि धकेल्यो, नेपाललाई संसारको सबभन्दा गरिब मुलुकको पङ्क्तिमा उभ्यायो । यसैकारण राजतन्त्र ढल्यो र सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो । राजा महाराजाहरूको युग समाप्त भयो र जनताको युग सुरु भयो । जनताको युगमा जनताले विकास गरेको राज्य प्रणाली चल्छ । जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा समृद्घ नेपाल निर्माण गर्दै समाजवाद विकास गर्ने महान कार्य सुरु गर्न खोज्दै छन् । अब पहिलेको त्यो २४० वर्षको भयनाक क्षति मात्रात्मक र गुणात्मक रूपमा पूर्ति गरेर समृद्घि र समाजवादमा फड्को मार्न प्रत्येक वर्ष उत्पादन अभिवृद्घि, विकास र समृद्घिको गति एवं नेपालीहरूको क्षमतामा न्यूनतम २४० गुणा अभिवृद्घि गर्न सक्नुपर्छ । यो फुजुल तर्क होइन, युगको माग, देशको आवश्यकता र जनताको चाहना हो । जतिसुकै खस्रो, तिखोे र रुखो भए पनि चुनाव जितेर सत्तामा पुगेको नेपाल कम्युनिस्ट पार्टी र मुलुकको बागडोर समाल्ने ऐतिहासिक जिम्मेवारी बोकेको पार्टीको मूल नेतृत्वले यो कुरालाई गम्भीर रूपमा ग्रहण गर्न जरुरी छ । मूल नेतृत्वले यो कुरा आत्मसात नगरे आजैदेखि पतनको चिहानमा जाने दिनगन्ती सुरु हुन्छ ।
इतिहास ताजै छ । २००७ सालको सशस्त्र विद्रोहले राणा शासन त ढाल्यो तर जनताको पँहुच भएको प्रजातन्त्र संस्थागत गर्न सकेन । पुरानै राजतन्त्र पुनस्र्थापना भयो । २०३६ देखि २०४६ सालसम्म ठूल्ठूला आन्दोलन भए । नेपालमा केही राजनीतिक परिवर्तन भयो । तर जनताको जीवनमा आधारभूत परिवर्तन भएन । नचाँदा नचाँदै पनि नेपाली जनता फेरि सशस्त्र जनयुद्घ लड्न, जनआन्दोलन, मधेस विद्रोहमा उत्रिन बाध्य भए । दस वर्षे जनयुद्घ, उन्नाइसदिने जनआन्दोलन, मधेश विद्रोहले राज्य सत्ताको स्वरूप नै बदलिदियो । राजतन्त्र अन्त्य, सङ्घीय लोकतान्कि गणतन्त्र स्थापना भएको पनि डेड दशक भइसक्यो । तर यो युगान्तकारी राजनीतिक परिवर्तनले जनताको जनजीवनमा काँचुली फेर्न सकेको छैन । राजनीतिक आदर्शको जामा जुन दर्शन, वाद, विचारधार र पथको पहिरिए पनि नेपालमा क्रियाशील सबै राजनीतिक पार्टीका अधिकांश नेता सनातनी संस्कारबाट सर्वथा मुक्त हुन सकेका छैनन् ।
राजतन्त्र अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि जीवन–मरणको लडाइँ लडेका राजीतिक योद्घाहरू, त्याग, तपस्या, वीरता र वलिादनका कीर्तिमान खडा गरेका सहिदहरू, बेपत्ता बनेका, जेलनेल भोगेका, अनेक सास्ती खेपेका वीरवीरङ्गनाहरूको बखान गरेर आजीवन नेता बन्न, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, मन्त्री र सांसद बन्न मरिहत्ते गर्ने नेताहरू नै परिवर्तनका बाधक बन्न थालेका छन् । यो राजनीतिक विचलनको पराकाष्टा हो । जनताको राष्ट्रिय स्वाभिान माथिको बज्रप्रहार हो । यो कदापी सह्य हुँदैन । जनताको घरदैलोमा पुगेर गरिएका पूर्ण लोकतन्त्र र समाजवादको बाटोमा अघि बढ्ने वाचा कबुल एवं राज्य सत्तामा पुगेर गर्न नसकेको कार्य र आफ्नो गम्भीर गल्तीप्रति सबै नेता उत्तरदायी र जबाफदेही बन्नुपर्छ । त्यसबाट भाग्ने, पन्छिने छुट कसैलाई छैन ।
यहाँको अनौठो भूराजनीति, जटिल भौगोलिक अवस्था, स्रोत साधानको चरम अभाव, पुरातन संस्कार र आचरणदेखि लिएर अलोकतान्त्रिक, अवैज्ञानिक र अनैतिक सोच, मन्द विकास प्रक्रिया, अस्थिर राजनीति, सुशासनको शून्यता र सबल नेतृत्वको अभावकै कारण यो देश संसारकै गरिब मुलुकहरूको पङ्क्तिमा धकेलिएको हो । यतिबेला यो देशको इतिहासले सबैभन्दा गरिब मुलुकहरूको पङ्क्तिबाट जुरुक्कै उचालेर नेपाललाई विकास, उन्नति र समृद्घिको शिखरमा चढाउने राष्ट्रि«य नीति र त्यसलाई युद्घस्तरमा लागू गर्ने सोच भएको सवल नेतृत्वपङ्क्ति खोजेको छ । तर सत्य बोल्दा लेख्दा जसले जस्तो ठाने पनि आजको मितिसम्म नेपालमा क्रियाशील राजनीतिक पार्टीका अधिकांश नेता नेपाल राष्ट्र र नेपाली जनताप्रति, आफ्नै पार्टी र इतिहासप्रति, आन्दोलनकारीहरूको सङ्घर्ष, त्याग, तपस्या र बलिदानप्रति आजीवन इमानदार हुन सकिरहेका छैनन् ।
सडकमा सिंहझैं गर्जिने नेताहरू सिंहदरबारमा छिरेपछि भकारी फोर्ने मुसा जस्तै बनेका छन् । देश र जनताको सेवा गर्ने जिम्मेवारी पाएका राज्य सञ्चालकहरू दृष्टिविहीन, दिशाहीन सावित भएका छन् । आजकल नेता भन्ने शब्द सुन्ने वित्तिकै जनताले नाक खुम्च्याउने स्थिति छ, बुद्घिजीवी पदावी भिरेका तथाकथित विद्वान विदुषीहरूको अनुहार देख्ने बित्तिक्कै मिहिनेती जनता लजाउनुपर्ने लाजमर्दो अवस्था छ । यो देशका सोझा मिहिनेती जनता केवल स्वर्गीय राजा, पूर्व राजाहरूबाट मात्रै लुटिएका थिएनन्, अहिलेसम्मका सबै प्रधानमन्त्री, मन्त्री र उच्च अधिकारीहरूबाट समेत कुनै न कुनै रूपमा सधैँ चुसिएका छन् ।
सुन्दै तालु तात्ने यो कठोर कुरा निरसा, विचलन र पतनको कुण्ठा होइन । प्रत्येक नागरिकलाई गम्भीर भएर सोच्न, उचित निर्णय गर्न र ठोस कदम चाल्न बाध्य बनाउने अत्यन्त संवेदनशील विषय हो । राज्य सञ्चालकहरूलाई खबरदारी गर्नु पर्ने ऐतिहासिक जिम्मेवारीबोध हो । जनबोली बोलेर जनताको विश्वसा जित्न जोकोही जान्दैनन । जनादेश शिरोधार्य गरेर राष्ट्र निर्माणमा श्रेष्ठता प्रदर्शन गर्न जोकोहीले सक्दैनन् । किनभने जनताको विश्वास जित्नु, राष्ट्र निर्माणमा श्रेष्ठता प्रदर्शन गर्नु भनेको चन्द्रमामा पुग्नु जस्तै हो । यस्तो बेलामा यो देशले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा नयाँ राष्ट्रिय एकता सुदृढ गर्ने क्रान्तिकारी पृथ्वीनारायण शाहहरू अनि यो देशका पौरखी जनताले जनादेश शिरोधार्य गरेर राष्ट्र निर्माणमा श्रेष्ठता प्रदर्शन गर्ने नवीन सोच भएका नयाँ जङ्गबहादुर राणाहरू खोजिरहेका छन् । यो अहिलेसम्मको राजनीतिक आन्दोलनले दिएको ऐतिहासिक शिक्षा हो । यो ऐतिहासिक घडीमा नेपाली जनताले यतिबेला ‘नेपाल एउटा विपन्न मुलुक हो, जुन प्रत्येक दिन झनै विपन्न हुँदैछ’ भन्ने दरिद्र चिन्तनलाई पूरै उल्ट्याएर नेपाल प्राकृतिक, सांस्कृतिक रूपमा एउटा समृद्घ मुुलुक हो, अब आर्थिक रूपमा पनि झनै सम्पन्न हुँदै जानेछ भनेर खुला उद्घोष गर्न र त्यसलाई जनताको दैनिक जीवनमा लागू गर्न सक्ने महत्त्वकाङ्क्षी राजनीतिक नेतृत्वपङ्क्ति विकास गर्न विशेष ध्यान दिनुपर्छ । एक्काइसौँ शताब्दीको उन्नत चेतना, दक्ष जनशक्ति, चमत्कारिक विज्ञान, प्रविधि, सूचना तथा सञ्चार प्रणाली प्रयोग गरेर उत्पादन अभिवृद्घि, तीव्र विकास र समृद्घि हासिल गर्ने राष्ट्रिय नीति अघि सार्न जोड दिनु पर्छ । नत्र यो देश सतिले सरापेको देशमै गिर्ने छ । नेपाल स्वर्गको टुक्रा हो भन्ने लोककथन एकले अर्काको तेजोबध गर्ने शब्दबाण जस्तै बन्ने छ ।
राजनीति कठोर हुन्छ । चिन्तक बीपी कोइराला राजासँग घाँटी जोडिएको छ भन्दा पनि उनी जेल कोचिए । नेकपाका संस्थापक पुष्पलाल पार्टीभित्रै एक्लिए, गद्दार घोषित भए । प्रधानमन्त्री पद त्याग गर्ने गणेशमान सिंह पार्टीबाटै लखेटिए । नयाँ विचार अघि सार्ने मदन भण्डारी जिउँदो छँदा पार्टीभित्र प्रहारको निसाना बने, दासढुङ्गा जिप दुर्घटनामा रहस्यमय मृत्यु भएपछि उनी जननेता घोषित भए । सन्त नेता कृष्णप्रसाद भट्टराई राजनीतिक शरणार्थी जस्तै बनेर मरे । अहिले केपी ओली, पुष्पकमल दाहाल प्रचण्डहरू चौतर्फी आक्रमणको निसाना बनेका छन् । उनीहरू आफैं एक अर्काविरुद्घ वाक युद्घ लड्दै छन् । कम्युनिस्टहरू नास भएको देख्न चाहने देशी विदेशी शक्तिको चुङ्गुलमा परेर मारिए पछि वा मरेपछि उनीहरू पनि महान घोषित हुने छन् । यो नेपाली राजनीतिमा मौलाएको विचित्रको मनोवृत्ति हो । यसबाट पाठ सिक्नु पर्छ ।
नेपालको राजनीतिक रङ्गमञ्चमा अब पूर्वराजा, पञ्चहरूको अन्धो राष्ट्रवादको कामै छैन । कम्युनिस्टहरूको थोत्रो जनवादको अर्थ छैन । नेपाली काँग्रेसको बूढो प्रजातन्त्र अब नेपालमा चल्दैन । पूर्वपञ्च, विचलित काँग्रेस र स्खलित कम्युनिस्टहरूको खोक्रो लोकतन्त्र अहिलेको जमाना टिक्दैन । महेन्द्रको राष्ट्रवाद, बीपीको प्रजातान्त्रिक समाजवाद, पुष्पलालको नौलो जनवाद, मदन भण्डारीको जनताको बहुदलीय जनवाद र प्रचण्डको एक्काइसौँ शताब्दीको जनवादबाट सिकेर राज्यको बागडोर समाल्ने ऐतिहासिक जिम्मेवारी पाएको नेपाल कम्युनिस्ट पार्टीले नेपाली मोडेलको समाजवादको आधार निर्माण गर्ने महान कार्यमा श्रेष्ठता प्रदर्शन गर्न सक्नुपर्छ ।
आजसम्मको अध्ययनले के पुष्टि गरेको छ भने जङ्गली युग दासयुगमा बदलियो, दासयुग सामन्ती युगमा विलय भयो, सामन्ती युग पुँजीवादी युगमा विकसित बन्यो, अब अहिलेको पुँजीवादी युग समाजवादी युगतर्फ फड्को मार्दै छ र समाजवादी युग साम्यवादी युगमा रूपान्तरण हुने कुरा समाज विकासको सार्वभौम नियम हो । यो ऐतिहासिक विकासक्रमलाई आधार मानेर नेपाली मोडेलको वैज्ञानिक समाजवाद विकास गर्नु नेपाल कम्युनिस्ट पार्टी र यसका नेताहरूको ऐतिहासिक कार्यभार हो । समृद्घ समाजवादको शिखर चढ्ने सुनौलो सम्भावना आफैँ यथार्थमा बदलिँदैन । त्यसलाई याथार्थमा फेर्न नेकपाका नेताहरूले पूर्ण लोकतन्त्र र समृद्घ नेपालमा रमाउन चाहने सम्पूर्ण अग्रगामी शक्ति र आम जनसमुदायलाई एकताबद्घ गरेर समाजवादी क्रान्तिको नेतृत्व गर्ने युगान्तकारी जिम्मेवारी पूरा गर्न सक्नुपर्छ । तर दुःखद् कुरा केछ भने नेपालमा फेरि राष्ट्रियता र लोकतन्त्रको नाममा, समृद्घि र समाजवादकै नाममा हरेक राजनीतिक पार्टीभित्र पश्चगमन, प्रतिगमन र प्रतिक्रान्तिको वृषवृक्ष उम्रान खोजिँदै छ । जातिवादी, पृथकतावादी, हिन्दुवादी, अतिवादी, उग्रवादी, विर्सजनवादी रोग भित्रिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीभित्र त झन विवाद, विभजना र विचलनको महामारी नै मच्चिएको छ । अन्य राजनीतिक पार्टीहरू पनि परम्परागत खालका ससाना शक्ति केन्द्रका रूपमा विखण्डित हुँदै गएका छन् । निश्चित नेताले भनेको व्यक्ति मात्रै ठूलो मान्छे हुने, तिनैले भनेको कुरा मात्रै सुन्ने, तिनैले मात्र अवसर र पुरस्कार पाउने अरू तिरस्कृत हुने अनौठो परम्परा सबैजसो राजनीतिक पार्टीभित्र चलिरहेको छ । यो राजनीतिक महाप्रलयको अशुभ सङ्केत हो । हरेकले जानेबुझेको कुरा राजनीतिक पार्टीभित्र होस या बाहिर, राज्य यन्त्रमा होस् या अन्य मोर्चाहरूमा, देशको आन्तरिक कुरामा होस् या कूटनीतिक मामिलामा, राजनीतिक समजदारी र विश्वास चाहिन्छ । निश्चित मूल्य मान्यता र आदर्शको खाँचो पर्छ । तर नेपाली राजनीतिमा अहिले यसको अनिकाल छ ।
थोरै शब्दमा भन्नुपर्दा हरेक सवालमा आलोचनात्मक दृष्टिकोण राख्ने, अरूका विचार सुन्ने, फरक विचारलाई आदर गर्ने, आफ्नो कुरामा मात्रै अडिक नहुने, विचारमा स्पष्टता, व्यवहारमा लचकता प्रदर्शन गर्ने, स्वतन्त्रतालाई सबैभन्दा धेरै सम्मान गर्ने, नीति, विधि र पद्घतिमा चल्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनेको जनताले आफ्नो शासान आफैं गर्न पाउने पद्घति हो भनेर व्यावहारिक रूपमा प्रयोग गर्ने कुरा राज्य सञ्चालक र राजनीतिक नेताहरूको दैनिक जीवनशैली हेर्दा आजकल दन्त्य कथा जस्तै बन्दै छ । देश बदल्न, देश सिँगार्न कस्तो राष्ट्रिय सोच, राष्ट्रिय नीति, विधि, पद्घति चाहिन्छ ? देश र जनताको हितमा दिनहुँ राम्रो कार्य गर्न, राजनीतिक स्थायित्व, सुशासन, अमनचैन, उत्पादन अभिवृद्घि, तीव्र विकास र समृद्घिको शिखर चढ्न, अहिलेको गतिशील संसारमा विश्व वन्धुत्व, कूटनीतिक सम्बन्ध र राष्ट्रिय÷अन्तर्राष्ट्रिय मामिलामा श्रेष्ठता प्रदर्शन गर्न कस्तो राजनीतिक नेतृत्व चाहिन्छ ? समृद्घ नेपाल, सुखी नेपाली कति वर्षमा देख्न पाइन्छ ? हामी नेपाली स्वतन्त्रता र समानतापूर्ण समृद्घ समाजवादमा कहिले पुगिन्छ ? नेपाल कम्युनिस्ट पार्टीको मूल नेतृत्वपङ्क्तिले यो खुला राजनीतिक प्रश्नको व्यावहारिक रूपमा ठोस जबाफ दिन सक्नुपर्छ । यस अग्निपरीक्षमा कसैलाई पनि फेल हुने अधिकार छैन ।
लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हुन् ।