गोलकिपरको आत्मघाती गोलले रियललाई राहत, एथ्लेटिकोको अपराजित यात्रा जारी

सेभियाविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिडले ला लिगामा तीन खेलको जीतविहीन यात्रा अन्त्य गरेको छ । शनिबार राति भएको खेलमा रियल १–० गोलले विजयी बन्यो ।
खेलमा एक मात्र गोल सेभियाका गोलकिपर यासिन बोउनाउले गरे । भिनिसियस जुनियरको प्रहार गोलकिपर यासिनलाई लाग्दै गोलमा परिणत भएको थियो । यासिन सन् १९९१ पछि आत्मघाती गोल गर्ने सेभियाका पहिलो गोलकिपर हुन् ।
खेलमा सेभियाले मात्र दुई पटक रियलको पोष्टमा आक्रमण गर्न सक्यो । उता, रियलका लागि करिम बेन्जेमाले गोलका थुप्रै अवसर गुमाए भने टोनी क्रुसको प्रहार पोष्टबाट बाहिर गएको थियो ।
जीतसँगै रियल लिगको तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको एथ्लेटिकोभन्दा रियल छ अंकले पछि छ ।
जीतले म्यानेजर जिनेदिन जिदानमाथिको दबाब केही कम भएको छ । अब रियलले बुधबार बोरुसिया मोचेनग्लाडब्याचविरुद्ध गर–या–मरको खेल खेल्नेछ । खेलमा हारे रियल पहिलोपटक प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्न असफल हुनेछ ।
उता, एथ्लेटिको म्याड्रिडले भने यो सिजन आफ्नो अपराजित यात्रालाई कायम राख्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । एथ्लेटिकोले रियल भालाडोलिडलाई २–० गोलले हरायो ।
एथ्लेटिको जीतमा मार्कस लोरेन्टे र थोमस लेमारले एक–एक गोल गरे । १० खेलपछि एथ्लेटिकोको २६ अंक रहेको छ ।
अन्य खेलमा लेभान्तेले गेटाफेलाई ३–० गोलले हरायो ।