बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नियामक निकायहरुकोे नीतिगत दबाबमा सेयर बजार

शनिबार, २० मङ्सिर २०७७, १२ : ५२
शनिबार, २० मङ्सिर २०७७

काठमाडौं । पछिल्लो समय उच्चदरमा बढ्दै गएको बजार नियामकीय निकायको दबाबमा परेको छ । नियामक निकायहरुले एकपछि अर्कोे गर्दै लिएका निर्णयहरुका कारण २ हजार अंकभन्दा माथि रहेको नेप्से परिसूचक दवावमा परेको हो । 

बिहीबार नेप्से परिसूचक २ हजार ५५ अंकमा छ । यो अंक बिहीबार १५ अंकको करेक्सनपछि प्राप्त भएको हो । त्यसभन्दा अगाडिका सातवटा कारोबार दिनहरुमा बजार उच्च दरमा बढेर २ हजार १ सय अंकभन्दा माथि समेत पुगिसकेको छ । बिहीबार सामान्य करेक्सन भएको बजारलाई पछिल्लो साता विभिन्न नियामक निकायको कदमका कारण दवाव पुग्नसक्ने देखिएको हो । 

धितोपत्र बोर्डद्वारा सचेत
बजार परिसूचक १ हजार ९ सय ९७ विन्दुमा रहँदा सोमबार नेपाल धितोपत्र बोर्डले सूचना जारी गर्दै सेयर बजारमा लगानी गर्दा सचेत हुन लगानीकर्ताहरुलाई आग्रह गर्यो । नियामक निकायको आग्रहकै बाबजुद बजारले २ हजार १ सयको विन्दु छोएर तल झरेको छ । अहिले बजार परिसूचक नेप्से २ हजार ५५ विन्दुमा कायम रहेको छ । 

बोर्डले जारी गरेको विज्ञप्तिमा अहिले बजारको वृद्धिलाई अस्वाभाविक त भनेको छैन । तर, योभन्दा माथि गएर हुने कारोबारले भोलिका दिनमा लगानीकर्ताहरु डुब्नसक्ने अवस्थाको आकलन भने गरेको छ । २ हजारको नजिक नेप्से रहँदा धितोपत्र बोर्डले अनुमान गरेको परिसूचकको स्वभाविक उच्च विन्दु २ हजार नै हो भन्ने बुझाउँछ । 

राष्ट्र बैंकको कडाइ
उता नेपाल राष्ट्र बैंकले पनि सेयर धितोमा जाने कर्जासम्बन्धी व्यवस्थालाई पुनरावलोन गर्ने जनाएको छ । बिहीबार साँझ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ओभरड्राफ्ट लोन, शेयर धितो कर्जा र घरजग्गा धितोमा दिइने कर्जामा कडाई गर्ने घोषणा गरेको हो । 

यी तीनवटै कर्जाहरु व्यक्तिगत प्रकृतिका कर्जा हुन् । ओभरड्राफ्ट लोन प्रयोजन नखुलाई लिइने ऋण हो । त्यस्तै, सेयर कर्जा सेयर बजारमा लगानीकै लागि लिइने मार्जिन प्रकृतिको कर्जा हो । यी कर्जाका कारण पछिल्लो समय सेयर बजारमा लगानी बढेका अनुमान राष्ट्र बैंकको छ । त्यसबाहेक हाल विद्यमान ६५ प्रतिशतको मार्जिनले समेत बढ्दो बजारमा ऋणको जोखिम बढाउनसक्ने भन्दै यसमा पुनरावलोकन गर्ने तयारी राष्ट्र बैंकले गरेको हो । 

राष्ट्र बैंकले यो कर्जामा मार्जिन घटबढ गर्ने, मार्जिन कलको व्यवस्थामा परिवर्तन गर्ने, कर्जाको जोखिम प्रिमियम तलमाथि गर्ने वा यो क्षेत्रमा जाने कर्जासँग प्राथमिक पुँजीको सीमालाई परिवर्तन गर्ने विकल्प रोज्न सक्छ । अहिलेको अवस्थामा राष्ट्र बैंकबाट रिग्रेसिभ खालकै नीति आउनसक्ने विश्लेषण बजारमा गरिएको छ । यसले एकप्रकारको दबाब निम्त्याएको छ । 

अर्कोतर्फ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले उठाउँदै आएका सेवा शुल्कसम्बन्धी मागहरुलाई सम्बोधन गर्दै त्यसमा पुनरावलोकन गर्ने व्यवस्था समेत गरेको छ । यसले बैंकिङ क्षेत्रमा केही राहत दिनसक्ने अवस्था देखिन्छ ।  
कोरोना बीमाको रकम भुक्तानी
अर्थ मन्त्रालयले शुक्रबारमात्रै बीमा समितिलाई निर्देशन दिँदै कोरोना बीमाको रकम भुक्तानी गर्न निर्देशन दियो । यो निर्देशन अनुसार रकम भुक्तानी गर्ने हो भने संकलन भएको प्रिमियम रकम, बीमा कम्पनीहरुको महाविपत्ति कोषको रकमबाहेक पुनर्बीमा कम्पनीको १ अर्ब रुपैंया तथा अन्य बीमा कम्पनीको समेत केही रकम थप खर्च गर्नुपर्ने अवस्था देखिन्छ । यो हुँदा बीमा कम्पनीबाट ठूलो तरलता बाहिरिन सक्छ । यसरी तरलता बाहिरिनुले निर्जीवन बीमा क्षेत्रलाई दबाब पर्नसक्छ । अहिले निर्जीवन बीमा क्षेत्रमा १८ वटा बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनीहरु सूचीकृत छन् । 

नयाँ पुनर्बीमा कम्पनीको चर्चा
नेपालको पुनर्बीमा बजारमा एकलौटी रहेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिस्पर्धी कम्पनी आउने चर्चा यतिबेला बजारमा सुरु भएको छ । यद्यपि यसका लागि अघिल्लो आर्थिक वर्षदेखिनै यसको प्रक्रिया अघि बढेको हो । 
निजी क्षेत्रका केही प्रवद्र्धकहरु मिलेर ल्याउन लागेको नयाँ पुनर्बीमा कम्पनीमा बीमा कम्पनीहरुको लगानी र सहभागिताका लागि प्रयास सुरु भएको हो । यो गतिविधिले पनि पुनर्बीमाको मूल्यलाई असर गर्नसक्छ । सोही हल्लाका कारण बिहीबारको बजारमा पुनर्बीमा कम्पनीको शेयरमा उच्च गिरावट भएको थियो । 

लकडाउन अन्त्यपछि खुलेको बजारमा सुरुमा ३ सयको बन्दुबाट कारोबार सुरु भएको पुनर्बीमा कम्पनीको शेयर १ हजार ८ सयसम्म पुगेको छ । यसले गर्दा यो कम्पनीले करिब डेढ खर्ब रुपैंया बराबरको बजार पुँजीकरणमा सहयोग गरेको छ । यो पुँजीकरण समग्र बजार पुँजीकरणको करिब ६ प्रतिशत हो ।

के होला बजार मूल्य ? 
समग्रमा नियामक निकायको कदमहरु बजारप्रति सकारात्मक छैनन् । केही कदमहरु बढ्दो सेयर बजारको प्रभावलाई नियन्त्रण गर्ने दृष्टिकोषबाटै आएका छन् । बोर्डको विज्ञप्ती र राष्ट्र बैंकको सेयर कर्जासम्बन्धी व्यवस्थाले त्यो दिशालाई निर्देशित गरेको छ । 

अर्थ मन्त्रालयको निर्देशक, नेपाल राष्ट्र बैंकको अन्य नीतिहरु भने सामान्य प्रक्रिया अँतर्गत आएका विषय हुन् । यी विषय पूरानो नभएका कारणले पनि यसले धेरै प्रभाव पानसक्ने स्थिति नभएको विश्लेषकहरुको भनाई छ । पुनर्बीमा कम्पनीको चर्चा भने मूल्य प्रभावित पार्ने ढंगले आएको हुनसक्ने उनीहरुको मत छ । 

यी कारणले बजारको वृद्धिमा अवरोध गर्ने देखिए पनि अहिले पनि तरलताको अवस्था, बैंकिङ ब्याजदर लगायतका मुख्य सूचकहरु परिवर्तन नभएकोले यसले ठूलो प्रभाव नपार्ने तर्क गर्ने विश्लेषण समेत गरिन्छ ।  
तर, सेयर बजारका जानकार दिलिप मुनकर्मी बजारको घटबढ स्वभाविक भएको भन्दै लगानीकतालाई बजार बढ्दा वा घट्दा आत्तिनुपर्ने अवस्था नरहेको तर्क गर्छन् । लगानीकर्तालाई कुनैपनि मूल्यमा गरिने लगानी ‘ओभरभ्यालुड’ नहुने उनको तर्क छ । बजारको घटबढ अनुसार आफ्नो खरिद र बिक्रीको रणनीति भने महत्वपूर्ण हुने भन्दै बढ्दो बजारमा नाफालाई बुक गर्न घट्दो बजारमा औसत लागत विधि अपनाएर बजारमा आफ्नो लागत घटाउन उनको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप