शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुन्तला बगैँचामा किराको प्रकोप, पहेँला भएका सुन्तला झर्न थाले

शनिबार, २० मङ्सिर २०७७, १० : ३३
शनिबार, २० मङ्सिर २०७७

म्याग्दीका सुन्तला बगैँचामा फैलिएको औँसा किराको प्रकोपको निरीक्षणको लागि कृषि ज्ञान केन्द्र म्याग्दीले स्थलगत निरीक्षण शुरु गरेको छ । कार्यालयका कृषि प्राविधिकको टोलीलाई सुन्तलाको पकेट क्षेत्रमा परिचालन गरी औँसा किराको प्रकोपको अवस्थाबारे अध्ययन गर्न लागिएको हो । 

म्याग्दीका सुन्तला पकेट क्षेत्रमा औँसा किराको प्रकोपले पाक्ने समयमा बोटका पहेँला भएका सुन्तला झर्ने समस्या बढेको छ । 

जिल्लाको बेनी नगरपालिका, रघुगङ्गा, अन्नपूर्ण, मङ्गला, मालिका र धौलागिरि गाउँपालिकामा रहेका सुन्तला पकेट क्षेत्रमा यस वर्ष बिक्री हुने सुन्तला बगैँचामा औँसा किराको प्रकोप बढेपछि कृषकको बगैँचामै पुगेर रोकथामको लागि कृषकलाई सल्लाह दिने, वास्तविक अवस्थाको तथ्याङ्क लिने र अबस्था बुझ्न थालेको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए ।

उनले पहिलो चरणमा कृषकलाई झरेका फललाई व्यवस्थित व्यवस्थापन गर्न आग्रह गरिएको र कार्यालयको तर्फबाट आवश्यक पर्ने प्लाष्टिक झोला निःशुल्क उपलब्ध गराइएको बताए ।  झरेका फलबाट थप अन्य बोटमा समेत औँसाका किरा फैलने भएकाले कार्यालयले झरेका फललाई व्यवस्थापन गर्न अनुरोध गरेको छ । जमिनको सतहबाट एक फुट गहिरो खाँडल खनेर प्लाष्टिकको झोलामा राखेर माटोले पुर्नुपर्ने कृषि विज्ञको भनाइ छ ।  

कार्यालयले स्थलगतरुपमा कृषकका बगैँचामा पुगेर प्रकोपको अध्ययन र निरीक्षण गरेको र फल टिपिसकेपछि रोकथामका लागि आवश्यक कदम चाल्ने योजना बनाएको जनाइएको छ । तत्काललाई औँसा लागेर झरेका फललाई व्यवस्थापन गर्ने र आगामी वैशाख, जेठ, असारमा वयस्क झिङ्गा व्यवस्थापनका लागि प्रोटिन बेटमा आधारित क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम सञ्चालन गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । 

सुन्तलाको व्यावसायीकरणमा सघाउन जोन परियोजना कार्यान्वयनमा ल्याइएको भए पनि रोग र सङ्क्रमण व्यवस्थापनमा परियोजनाले ध्यान नदिएको कृषकको गुनासो छ । जिल्लाको छवटै स्थानीय तहको ७०६ हेक्टर जमिनमा सुन्तला खेती विस्तार भएको छ । गत वर्ष दुई हजार ४१२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । 

गत वर्षसमेत सुन्तलामा लागेको औँसाको प्रकोप यस वर्ष थप बढेको छ । पाक्न लागेका सुन्तला झर्न थालेपछि यस वर्ष जिल्लामा ३० देखि ४० प्रतिशतसम्म सुन्तला उत्पादनमा गिरावट आउने अनुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप