बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुश, क्लिंटन र ओबामाले प्रत्यक्ष कार्यक्रममा कोरोना भ्याक्सिन लगाउने, बाइडेन र कमला पनि तयार

शुक्रबार, १९ मङ्सिर २०७७, १३ : २७
शुक्रबार, १९ मङ्सिर २०७७

बेलायतमा कोरोना भ्याक्सिनलाई मञ्जुरी दिइसकिएको छ । अमेरिकामा चाँडै नै यसले फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) को अप्रुभल पाउन सक्छ । अमेरिकाका तीन पूर्व राष्ट्रपतिले आफूहरु टिभीमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा भ्याक्सिन लगाउन तयार भएको बताएका छन् । भ्याक्सिनको विषयमा मानिसहरुको आशंकालाई टाढा राख्नका लागि यसले मद्दत गर्नेछ ।

 अर्कोतर्फ राष्ट्रपति पदका लागि निर्वाचित जो बाइडेन र उप–राष्ट्रपति कमला ह्यारिसले पनि भ्याक्सिनले अप्रुभल पाउने बित्तिकै आफूले यो लगाउने बताएका छन् । यो विषयमा अहिलेसम्म राष्ट्रपति डोनल्ड ट्रम्प भने मौन छन् ।

बाइडेन र ह्यारिस भ्याक्सिनेशन नेशनका लागि तयारः

‘द गार्जियन’ को एक रिपोर्ट अनुसार उप–राष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले त्यो अफवाहको खण्डन गरेकी छिन् जसमा उनलाई कोरोनाको भ्याक्सिन लगाउन केही समस्या भएको बताइएको थियो । ह्यारिसले भनिन्, ‘भ्याक्सिनले मञ्जुरी पाउने बित्तिकै म यो लगाउनेछु । यसमा भिन्न मत हुनुहुँदैन । हामीलाई एफडीएको अनुमति मात्रै चाहिएको हो ।’

संयुक्त अन्तर्वार्ताः

बिहिबार जो बाइडेन र ह्यारिसले सीएनएनको जेक टेपर शोमा केही महत्वपूर्ण प्रश्नको जवाफ दिए । बाइडेनले आफू भ्याक्सिनको विषयमा पूर्ण रुपमा सन्तुष्ट भएको बताएका छन् । बाइडेनले भने, ‘म भ्याक्सिन गाउन पूर्ण रुपमा तयार छु । म यो भ्याक्सिन सबैको अगाडि लगाउन चाहन्छु । यसका लागि कसैको मनमा कुनै पनि प्रकारको दुविधा हुनुहुँदैन । म अमेरिकी जनतालाई विश्वास दिलाउन चाहन्छु कि हाम्रो भ्याक्सिन सबैभन्दा सुरक्षित छ । यसका लागि डर वा आशंका नपाल्नुहोस् ।’

तीन पूर्व राष्ट्रपति भ्याक्सिनका लागि तयारः

अमेरिकाका तीन पूर्व राष्ट्रपति बिल क्लिंटन, जर्ज बुश जुनियर र बराक ओबामाले आफूहरु टिभीमा प्रत्यक्ष प्रशारण भइरहेको कार्यक्रमका बेला भ्याक्सिन लगाउने बताएका छन् । तीनै जनाले आफूहरु एफडीएको अनुमतिको प्रतिक्षा गरिरहेको बताएका छन् । तीनै जनाले यो कुरा सीएनएनको त्यहि कार्यक्रममा भने जसमा बाइडेन र ह्यारिसको पनि उपस्थिती थियो ।

एक प्रश्नको जवाफमा बाइडेनले भने, ‘अमेरिकाको हरेक राज्यले भ्याक्सिन सबैभन्दा पहिला उसैले पाओस् भन्ने चाहना राखेका छन् तर म आफैं यो भ्याक्सिन लगाउन प्रतिक्षा गरिरहेको छु । मैले आफ्ना पूर्व राष्ट्रपतिबाट यहि सिकेको छु कि जिम्मेवारी निभाउन कहिले पनि पछि हट्नु हुँदैन ।’

अहिलेसम्म अनुमति दिइएको छैनः

क्लिंटन, बुश, ओबामा, बाइडेन र ह्यारिस भ्याक्सिन लगाउन तयार भएपनि एफडीएले अहिलेसम्म कुनै भ्याक्सिनको मञ्जुरी दिएको छैन । अर्थात्, यसका लागि यी नेताहरुले प्रतिक्षा गर्नुपर्नेछ । बेलायतमा खोप अभियान सुरु भइसकेको छ । अमेरिकामा केही मानिसहरुले बेलायतको भ्याक्सिन अप्रुभललाई हतारको संज्ञा दिएका छन् । यद्यपि, यसै वा अर्को हप्ता अमेरिकामा फाइजरको भ्याक्सिनले अनुमति पाउने अनुमान गरिएको छ ।

यस्तो गर्नुको कारण के हो ?

वास्तवमा गत महिना सर्वेक्षण एजेन्सी ग्यालपले एक पोल गरेको थियो । यसमा अमेरिकी जनतासँग भ्याक्सिनको विषयमा प्रश्न सोधिएको थियो । सर्वेक्षणमा भाग लिएका करिब ४० प्रतिशतले आफूलाई भ्याक्सिनको विषयमा केही डर आशंका लागेको बताएका थिए । उनीहरुलाई भ्याक्सिनको साइड इफेक्ट र गम्भीर रियाक्सन हुने हो कि भन्ने आशंका छ । बाइडेन र ह्यारिस यो डरलाई सबैको सहयोगले टाढा राख्ने कोसिस गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप