ad
केन्द्रीय संस्करण
सम्झनामा स्वरसम्राट

ज्ञानुको सम्झनामा नारायण गोपाल : जुन गीत छोए पनि ‘सुन’ हुन्थ्यो

person explore access_timeमंसिर १९, २०७७ chat_bubble_outline0

काठमाडौँ । नारायण गोपाललाई नेपाली सङ्गीतिक क्षेत्रमा स्वर सम्राटको रूपमा चिन्ने गरिन्छ । उनी विशिष्ट प्रतिभाका धनी थिए । उनी एक सफल र ख्याति प्राप्त आधुनिक गायक पनि थिए । उनी नेपाली भाषाका पहिलो पुस्ताका गायक हुन्, जसले गायनलाई पेसाको रूपमा अँगालेका थिए ।

काठमाडौँ किलागलमा वि.सं. १९९६ असोज १८ जन्मिएका थिए । उनको पूरा नाम नारायण गोपाल गुरुवाचार्य हो । १ सय ३६ वटा नेपाली गीत गाएका उनका सबै गीत श्रोताको मनमस्तिष्क बस्न सफल छन् । उनका गीत चलचित्र तथा नाटकहरूमा समेत प्रयोग गरिएका छन् ।

वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ वैवाहिक जीवनमा बाँधिएका उनका गीत श्रद्धाञ्जलि भाग १ देखि ४, स्वर्णिम सन्ध्या भाग १ र २, प्रियसीका यादहरू, प्रेमको माला, मान्छेको माया, मलाई नसोध, लालीगुराँस भएछु, अल्झे छ क्यारे पछ्यौरी लगायत करिब २ दर्जन सार्वजनिक भएका छन् ।

रेडियो नेपालबाट सर्वोत्तम सङ्गीतकार, सर्वोत्तम गायक पुरस्कार समेत पाएका उनले रत्न रेकर्ड पुरस्कार, गोरखा दक्षिण बाहु (चौथो), इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार लगायत थुप्रै प्रसिद्ध पुरस्कार समेत पाएका थिए ।

खाना बनाउने, चेस खेल्ने, चङ्गा उडाउने, फुटबल म्याच लगायतका सौखिन उनी एक समय सांस्कृतिक संस्थानका महाप्रबन्धक र सञ्चार मन्त्रालयमा सल्लाहकार समेत भएका थिए ।

रोमान्टिक,  प्रेम, वियोग र विरहका गीत गाउने उनका बिर्सेर फेरि मलाई नहेर, चिनारी हाम्रो धेरै पुरानो, तिम्रो जस्तो मुटु मेरो पनि, लौ सुन म भन्छु मेरो रामकहानी, यो सम्झने मन छलगायत थुप्रै गीत अहिले पनि उत्तिकै सुनिनेमा पर्छन् ।

वि.सं २०४७ साल मङ्सिर १९ गते निधन भएका उनले पहिलो पुस्ताका थुप्रै गायक, गायिका, सङ्गीतकारसँग काम छन् । तीमध्ये गायिका ज्ञानु राणा पनि एक हुन् । सङ्गत लामो भएपछि उनीसँग ‘सिरीमा सिरी..’, ‘चोखो माया यहाँ खोलाको पानी जस्तो’ गरेर तीन हिट गीतमा गायन सहकार्य गरेकी गायिका राणाले उनको सम्झना यसरी गरिन् ।

रेडियोमा भेटेँ

विसं २०२६ बाट मेरो गायन यात्रा सुरु भएको हो । त्योभन्दा अगाडि नै मैले नारायण गोपाल दाइलाई चिन्दथेँ । मेरो बुबा धर्मराज थापा रेडियो नेपालमा जागिरे हुनुहुन्थ्यो । त्यसैले उहाँसँग म कहिलेकाहीँ रेडियो नेपाल जान्थेँ । सोही क्रममा अर्थात् २०२४ सालदेखि उहाँसँग चिनजान भएको थियो । सो समय भेट हुँदा हाम्रो सामान्य बोलचाल बाहेक अन्य केही कुराकानी हँुदैन थियो ।

त्यतिबेला रेडियोमा तारादेवी, पुष्प नेपाली र उहाँको गीतहरू धेरै बज्ने गर्दथ्यो । मैले भने उहाँसँग गीत गाउने अवसर पाएको थिइनँ ।

सबै गीत हिट

विस. २०३७ तिर होला । म, मिरा राणालगायत केही नयाँ गायक गायिका रेडियो नेपालमा गाउन थालिसकेका थियौँ । मेरा केही गीत रेडियोमा हिट भएका थिए । त्यतिबेला मैले लोकगीत मात्र गाएकी थिएँ ।

गीतसङ्गीतकै सिलसिलामा रेडियोमा भएको समय एक दिन उहाँले मलाई भेटेर भन्नुभयो ‘ज्ञानु मलाई लोकगीत धेरै मनपर्छ । अहिलेसम्म गाएको पनि छैन । तिमीसँग गाउनु पर्यो बुबा (धर्मराज थापा)सँग एउटा गीत हाम्रो लागि रिक्वेस्ट गर ।’

त्यो समय मेरो बुबा रेडियो नेपालमा लोकगीतको प्रबन्धक हुनुहुन्थ्यो । रेडियोमा लोकगीतहरू बज्नमा उहाँको एकदमै ठुलो हात हुन्थ्यो । उहाँले भने बमोजिम बुबासँग एक गीत मागेँ । त्यो गीत उहाँलाई सुनाएँ । गीत सुनेपछि उहाँ धेरै प्रभावित हुनुभयो । धेरै राम्रो गीत रहेछ । तिमी र म गाउने भन्नुभयो ।

त्यतिबेला रेडियोमा गीत रेकर्ड गर्ने निकै कठिन हुन्थ्यो । किनभने अहिले जस्तो ट्रयाकमा गाउने व्यवस्था थिएन । बाजासहित सीधै लाइभ रेकर्डिङ गर्नुपथ्यो । काहीँ बिग्रियो भने फेरि पूरै गाउनुपथ्र्यो ।

उहाँसँग गीत गाउन पाउँदा म एकदमै धेरै खुसी थिए । उहाँ धेरै प्रख्यात भइसकेको कारणले केही डर पनि थियो । तर पनि मैले उहाँसँग पहिलो गीत रेकर्ड गराए । त्यो गीत थियो ‘सिरीमा सिरी, बतासै चल्यो सुनमेरो निरमाया’ । गीत सार्वजनिक हुने बित्तिकै हिट भयो । म पनि उहाँसँगै चर्चित भए ।

‘सिरीमा सिरी...’ हिट भएको एक सातापछि फेरि राममान त्रिसिद दाइले म र उहाँकै लागि ‘चोखो माया यहाँ खोलाको पानी जस्तो’ गीत लेख्नुभएको रहेछ । शिवशङ्कर दाइले त्यसमा सङ्गीत दिनुभयो । हामीले गीत गायौँ । यो गीत पनि हिट भयो । त्यसपछि पनि नारायण गोपालदाइसँग गोपाल योञ्जनको सङ्गीतमा अर्काे एक गीतसमेत गाएकी थिएँ ।

उहाँसँग मैले तीनवटा गीत गाएँ । तीनवटै हिट भएका थिए ।

सरल हृदयका व्यक्ति

साथीको रूपमा नारायण दाइ एकदमै राम्रो हुनुहुन्थ्यो । उहाँका अगाडि हामी गीत सङ्गीतमा नयाँ थियौँ । तैपनि उहाँ पुरानो भएको घमण्ड कहिल्यै देखाउनु भएन । नयाँका लागि प्रोत्साहन गर्ने, सल्लाह सुझाव दिने, माया गर्ने खालको उहाँको बानी थियो ।

गाउने प्रतिभा भएका मानिस उहाँ सजिलै चिन्न सक्नुहुन्थ्यो । गायनमा रुचि भएकालाई नजानेको कुरा, आवश्यक कुरा सिकाउनुहुन्थ्यो । शीतल, रसिलो मन र सरल हृदयको व्यक्ति हुनुहुन्थ्यो ।

केही मानिसले उहाँ घमण्डी थिए पनि भनेको मैले सुनेको थिएँ । त्यो गलत कुरो हो । मैले उहाँमा कहिल्यै घमन्ड देखिन । आफू पनि अनुशासनमा बस्नुहुन्थ्यो उहाँ । अरूलाई पनि अनुशासन सिकाउनु हुन्थ्यो । सबैलाई माया गर्ने खालको हुनुहुन्थ्यो । उहाँले अरूलाई हेपेर बोलेको कहिल्यै थाहा भएन ।

गड गिफ्ट स्वर

गायकको रूपमा पनि उहाँ जस्तो गायक अहिलेसम्म मैले भेटेको, देखेको छैन । उहाँको आवाज भगवानकै उपहार थियो । उहाँको जस्तो स्वर अहिलेसम्म कसको होला र ?

उहाँले जुन गीत छोए पनि ‘सुन’ हुन्थ्यो अर्थात हिट, श्रोताको प्रिय हुन्थे । उहाँको आवाज मीठो, गहकिलो थियो । उहाँको जस्तो स्वर भएको मानिस फेरि पाउन असम्भव छ ।

किनभने एक युगमा एक जना मात्र त्यस्तो मानिस भेटिन्छन् । जसरी भारतमा लता र मोहमत रफी जस्तो गायक अहिलेसम्म अर्काे भेटिएको छैन । त्यस्तै नेपालमा पनि उहाँको जस्तो स्वर भएको मानिस अहिलेसम्म भेटिएको छैन र भोलि पनि सायद भेटिँदैन होला ।

उहाँको स्वर जुनै गायक गायिकासँग पनि सुहाउँथ्यो । उहाँ सहज, सरल, सबैको मनमा भिज्ने र सबैलाई मनपर्ने गरेर गीत गाउने क्षमता राख्न सक्नुहुन्थ्यो । जस्तो प्रकारको गीत पनि उहाँले पूरै मिठासका साथ गाउन सक्नुहुन्थ्यो । उहाँको गायन प्रतिभा अद्भुत थियो ।

सिम्पल सङ्गीतकार

सङ्गीतकारको रूपमा पनि उहाँमा विशिष्ट प्रतिभा थियो । उहाँको सङ्गीत स्वर जस्तै मिठासपूर्ण छन् । उहाँको सङ्गीतमा पनि विशिष्टता पाइन्थ्यो । कसैले सोच्न नसक्ने सङ्गीत गर्न सक्नुहुन्थ्यो । उहाँको सङ्गीत रहेको र रत्नसमशेर थापाको शब्दमा रहेको एउटा गीत केही अगाडि मैले गाउने अवसर पाएँ । एकजना नयाँ गायक भाइसँग गाएको उक्त गीत रत्नसमशेर थापा बित्नुभन्दा केही दिन अगाडि मात्र रेकर्ड भएको थियो ।

उहाँको सङ्गीतमा लोक, आधुनिक लगायत सबैको उत्कृष्ट सम्मिश्रण भेटित्यो । सङ्गीतमार्फत उहाँले मानिसको दिलसम्म छुन सक्ने क्षमता राख्नुहुन्थ्यो । सबैका लागि सजिलै सङ्गीत गर्दिने एउटा सिम्पल सङ्गीतकार पनि हो उहाँ ।

स्वर्णिम युगको अन्त्य

नारायण गोपाल दाइको निधनले नेपाली गीतसङ्गीतको क्षेत्रमा अपूरणीर्य क्षति पुगेको छ । उहाँ जस्तो गीतसङ्गीत र स्वरमा विशिष्ट प्रतिभा भएको व्यक्ति सायदै देशले पाउला ।

जुन समय उहाँ नेपाली सङ्गीतमा हुनुहुन्थ्यो त्यो समय नेपाली गीतसङ्गीतको स्वर्णिम युग जस्तो लागेको छ । अहिले त्यस्तो महशुस गर्न सकिन्न । उहाँको निधनपछि  रिक्त रहेको उहाँको अभाव अहिलेसम्म कसैले पनि पूर्ति गर्न सकेका छैनन् । मलाई लाग्छ । कसैले पनि सक्दैनन् होला ।

उहाँमा लत पनि केही थिएन । कहिलेकाहीँ मनोरञ्जनका भन्दै मदिरा पिउनु हुन्थ्यो । मदिरा सेवनको कारणले नै उहाँको निधन भयो । उहाँमा सुगर रोग थियो । योबाहेक नराम्रो लत भएको, कतै फसेको, बिग्रिएका मैले थाहा पाइनँ । साङ्गीतिक कार्यक्रममा जहाँ जानु हुन्थ्यो । सबैको प्रिय बन्न सक्नुहुन्थ्यो ।

सङ्गीतका ध्रुव  तारा

उहाँको निधनले नेपाली सङ्गीतको एउटा तारा नै गुमेको रूपमा मैले हेरेको छु । उहाँ नेपाली साङ्गीतिको एउटा चम्किलो नक्षेत्र हुनुहुन्थ्यो । त्यो नक्षेत्र नभएपछि सङ्गीतिक क्षेत्रमा शून्यता हुनु स्वभाविक हो ।

नेपाली साङ्गीतिक आकाशको ध्रुव ताराका रूपमा पनि उहाँलाई तुलना गरिएको छ । अहिले त्यो तारा नभएर पनि होला सायद । साङ्गीतिक क्षेत्र जसरी चम्कनुपर्ने र यसले उज्यालो छर्नुपर्ने थियो । त्यो हुन सकेको छैन ।

नेपाली साङ्गीतिक क्षेत्रमा पछिल्लो समय कुनै पनि त्यस्तो प्रतिभा देखिएको छैन जसमा उहाँको जस्तो प्रतिभा देख्न सकियोस् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.