बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मापसे गरेर छोरा लड्दा बुहारीलाई बोक्सीको आरोप लगाउँदै कुटपीट

शुक्रबार, १९ मङ्सिर २०७७, ०८ : ०७
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान गाउँ—गाउँमा चलिरहेको बेला दाङ देउखुरीको गढवा गाउँपालिकामा बोक्सीको आरोप लगाएको कसुरमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित महिलाले इलाका प्रहरी कार्यालय गढवामा जाहेरी दिएपछि ती पुरुष पक्राउ परेका हुन् ।

गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर बस्ने पीडितका सहोदर जेठाजु तिलकराम चौधरीले आफ्नै भाई बुहारीलाई बोक्सीको आरोप लगाएको भन्दै पीडितले प्रहरी कार्यालयमा उजुरी दिएपछि जेठाजु तिलकरामलाई प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाले गाउँपालिकामा उजुरी गर्न आएको र अभियानमा हिँडेको टोली र न्यायिक समितिले हामीले मिलाउन नमिल्ने मुद्दा भनेपछि पीडितले प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

यही मंसिर १५ गते दिउँसो करिब २ बजे पीडितका श्रीमान् काममा गएको बेला एक्लो पारेर पिडक चौधरीले आफ्नै बुहारीलाई बोक्सीको आरोप लगाई कुटपिट गर्न थालेको बेला एक स्थानीयले छुट्टाएपछि पीडित भागेर गाउँपालिका आएको बताइएको छ ।

पिडकले बिगत ४ वर्ष अगाडीदेखि नै आफूलाई बोक्सी भन्ने गरेको र आफ्नै जेठाजु भएकोले आजसम्म सहेर बसेको पीडित महिलाले बताइन् । ‘मेरै जेठाजुले मलाई बोक्सीको आरोप लगाएर कुटपिट गर्न थाल्नुभो, आजै काट्छु मार्छु भनेर धम्की दिनुभयो, अनि म ज्यान जोगाउन गाउँपालिका आएँ,’पिडित महिलाले गुनासो गर्दै भनिन् ।

जेठाजुको छोरा मापसे गरेर कल्भर्टबाट लडेर घाइते भएको र उनलाई अस्पतालमा औषधी गर्नुको बदला गुरुवा कहाँ झारफूक गराइरहेको र आफुललाई बोक्सी लागिस् भनेर आरोप लगाएको पीडित महिलाले बताइन् । 

पीडित महिलाले जाहेरी दर्ता गरिसकेको र पक्राउ परेका पिडकलाई दाङ—देउखुरी जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिएका छन् ।

बोक्सीको आरोप लगाउने व्यक्तिलाई मूलूकी अपराध संहिता तथा फौजदारी कसुर सजाय–२०७४ मा ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी ब्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप