बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षित सुत्केरी हुने दर बढ्दै

शुक्रबार, १९ मङ्सिर २०७७, ०७ : ५८
शुक्रबार, १९ मङ्सिर २०७७

ज्यान जोखिममा राखेर घरमै सुत्केरी हुने यहाँका महिला अहिले सुरक्षितरूपमा स्वास्थ्य संस्था आएर सुरक्षित सुत्केरी हुने दर बढेको छ । बढ्दो जनचेतनाका साथै गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि सुरक्षित सुत्केरी हुनेको दर बढेको हो । स्थानीय सरकारको पहलकदमीले घरमै सुत्केरी हुने क्रम रोकिएको स्वयंसेविका बताउँछन् । घरमै सुत्केरी हुँदा समस्या आउनेबित्तिकै धामी, झाँक्रीको सहारा लिने स्थानीयवासी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा जाने गरेको बारेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए ।

जाजरकोट जिल्लाका सबै पालिकाको सबै वडामा स्वास्थ्य संस्था स्थापना हुँदा धामी, झाँक्रीमाथिको निर्भरता ह्वात्तै घटेको हो । स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी भए यातायात खर्चका साथै न्यानो झोला, स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराउन थालेपछि झन् महत्व बढेको हो ।

नियमित गर्भजाँच गर्नेको सङ्ख्यासमेत बढेको छ । सुत्केरी हुँदा डोकोमा बोकेर सदरमुकामस्थित अस्पतालमा ल्याउनुपर्ने बाध्यतासमेत घटेको सर्वसाधारणले बताएका छन् । गाउँघरमै स्वास्थ्य संस्था हुँदा सेवा लिन सजिलो मात्र भएको छैन, आफ्नोपनका साथै खर्चसमेत कम भएको सर्वसाधारण बताउँछन् । गाउँका स्वास्थ्य संस्थामा उपचार सम्भव नभएर यातायातका साधनमार्फत सजिलै सदरमुकाम ल्याउने काम शुरु भएको छ ।

नलगाड, छेडागाड र शिवालय गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सेवा प्रवाह गरिरहेका छन् । अधिकांश गाउँमा कच्ची सडकको ट्र्याक खुलेसँगै स्वास्थ्य सेवा पाउन सहजता आएको नलगाड नगरपालिका–१२ का मोहन बस्नेतले जानकारी दिनुभयो । उनका अनुसार बालबालिकाले नियमित खोप औषधिसमेत पाएका छन् ।

यस्तो छ सुत्केरी दर

जाजरकोटमा आर्थिक वर्ष २०७६÷७७ मा ५६.१ प्रतिशत महिला सुरक्षितरूपमा सुत्केरी भएको तथ्याङ्क सार्वजनिक भएको छ । सबैभन्दा बढी बारेकोट ९९.३, कुशे ६६.३, जुनिचाँदे ३१, छेडागाड ५०.४, शिवालय ७.७, नलगाड ६६.७, भेरी ५०.१ प्रतिशत अङ्क ल्याएका छन् ।

स्वास्थ्य विभागले गरेको लक्ष्य नजिक बारेकोट गाउँपालिका पुगेको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क फोकल व्यक्ति टेकबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य विभागले चार हजार ६६  महिलाले सुरक्षित सुत्केरी स्वास्थ्य संस्थामा आएर हुने लक्ष्य राखे पनि दुई हजार २८१ महिलाले मात्र स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी भएको तथ्याङ्क सार्वजानिक भएको छ ।

बारेकोट गाउँपालिकामा ४२८ लक्ष्यमा ४२५, कुशे गाउँपालिकामा ४८३ लक्ष्यमा ३२०, जुनिचाँदे गाउँपलिकामा ५०४ लक्ष्यमा १५६, छेडागाड नगरपालिकामा ८२८ लक्ष्यमा ४५२, शिवालय गाउँपालिकामा ३६३ लक्ष्यमा २८, नलगाड गाउँपालिकामा ६०६ लक्ष्यमा ४०७, भेरी नगरपालिकामा ८५४ लक्ष्यमा ४९३ जना मात्र सुरक्षित सुत्केरी भएको तथ्याङ्कमा उल्लेख छ ।

आव २०७५/७६ मा ४६.९ प्रतिशत महिला सुरक्षित सुत्केरी भएका थिए । बारेकोट ८१.१, कुशे ५५.६, जुनिचाँदे २०.८, छेडागाड ४७.८, शिवालय ५.८, नलगाड ५४.८, भेरी ५१.२ प्रतिशतले सुरक्षित सुत्केरी सेवा लिएका थिए । अघिल्लो वर्षभन्दा ९.२ प्रतिशतले सुरक्षित सुत्केरीदर बढेको छ । शिवालय गाउँपलिका र छेडागाड नगरपालिका सुर्खेतको सिमानामा जोडिएका स्थानीय तह हुन् । सडक सञ्जालसँगसमेत जोडिएका छन् । जुनिचाँदे गाउँपालिका प्रशासकीय केन्द्र लुहदहसम्म मुस्किलले यातायातका साधन हिउँदयाममा चल्ने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप