मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मेयरलाई कारवाहीको माग गर्दै महोत्तरीमा नेकपाद्वारा प्रदर्शन

बिहीबार, १८ मङ्सिर २०७७, २० : ५४
बिहीबार, १८ मङ्सिर २०७७

नेकपा महोत्तरीले विधिको शासन लागु गर्न भन्दै जलेश्वरमा विरोध प्रदर्शन गरेका छन् । बिहीबार महोत्तरीको मटिहानी नगरपालिकाका नगर प्रमुख हरि मण्डलले करिब एक महिना अघि नेकपा र काँग्रेसका कार्यकर्ताहरुलाई मरनासन हुने गरी कुटपीट गरेको घटना महोत्तरी प्रहरी कार्यालयमा उजुरी दर्ता भएपनि कारवाही प्रक्रिया अघि नबढाएको भन्दै नेकपा महोत्तरीले जुलुस प्रदर्शन गरेको हो ।

मटिहानी नगरपालिकामा भएको घटनामा संलग्न रहेकाहरुलाई स्थानीय प्रहरी–प्रशासनले न्यायपूर्ण ढंगले कारवाही प्रक्रिया अघि नबढाएको भन्दै सदरमुकाम जलेश्वरमा वृहत विरोध जुलुस प्रर्दशन गरिएको छ । जलेश्वरको विभिन्न चोकबाट निकालिएको जुलुस प्रदर्शन जिरो माईल, शिक्षा कार्यालय र राविम क्याम्पसबाट छुट्टाछुट्टै रुपमा शुरु भएको थियो । सो जुलुस महेन्द्र चोकमा पुगेर एकीकृत भई जलेश्वर नगरको विभिन्न भागको परिक्रमा गर्दै मटिहानी बसस्टैण्ड चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

हजारौँको संख्यामा रहेका नेकपा महोत्तरीका नेता कार्यकर्ताहरुले विधिको शासन लागु गर, कानुनी राज्य कायम गर, भ्रष्टाचार अन्त्य गर, सुशासन कायम गर लगायतका नाराबाजी समेत गरेका थिए ।

गत कार्तिक १० गते विजया दशमीको राति दुर्गा पूजाको मूर्ति सेलाउने क्रममा जिल्लाको मटिहानी नगरपालिकामा दुई पक्षीय विवाद भएको थियो । मटिहानी नगरपालिकाको वडा नम्बर ८ मा विजयादशमीको राति नेकपाका स्थानीय नेता विजय चौधरी र काँग्रेसका स्थानीय नेताहरु बसिरहेको बखत एक्कासीरुपमा मटिहानी नगर प्रमुख हरि मण्डलको अगुवाइमा आएको एक समुहले छुरा प्रहार गर्दै निर्घात कुटपीट गरेको आरोप नेकपा महोत्तरीका ईन्चार्ज राजु खड्काको छ ।

जसपाका नेतासमेत रहेका नगर प्रमुख मण्डलमाथि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दर्ता भएको थाहा पाएपछि निरन्तररुपमा जसपाले नेकपा विरुद्ध नाराजुलुस प्रदर्शन गरेका थिए । जसपाले मङसिर ३ गते जलेश्वरमा नगरप्रमुखलगायतका माथि लगाइएको मुद्दा फिर्ता लिन माग गर्दै आएको छ ।

नेकपाले कारवाही प्रक्रिया अघि बढाउन माग गर्दै आज पहिलो पटक प्रदर्शनमा उत्रेको हो । यस प्रदर्शनको क्रममा नेकपाका प्रदेश सभासद भरत साह, रामसरोज यादव, रामदयाल मण्डल, रामआधार कापर, विजय चौधरी, जिल्ला ईन्चार्ज राजु खडका र विजय साह लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप