मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा भारतीय आईसीआईसीआई बैंकको प्रतिनिधि कार्यालय संचालनमा

बिहीबार, १८ मङ्सिर २०७७, १७ : ५१
बिहीबार, १८ मङ्सिर २०७७

काठमाडौं । भारतीय आईसीआईसीआई बैंक लिमिटेडले नेपालमा आफ्नो प्रतिनिधि कार्यालय संचालनमा ल्याएको छ । बिहीबार बैंकले काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजिनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो । आईसीआईसीआई बैंक नेपालमा प्रतिनिधि कार्यालय स्थापना गर्ने भारतको पहिलो निजी क्षेत्रको बैंक हो ।

प्रतिनिधि कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र आईसीआईसीआई बैंकका प्रबन्ध सञ्चालक तथा सिईओ सन्दीप बक्सीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट गरेका थिए । 

प्रतिनिधि कार्यालयमार्फत बैंकले नेपालका बैंकहरुसँग नजिकमा रहेर काम गर्ने तथा दुई देशबीच लगानी, व्यापार, भुक्तानी र ट्रेजरी व्यापारमा सहजीकरण गर्नेछ । नेपालमा शाखा प्रतिनिधि कार्यालयको स्थापनासँगै बैंकका अन्तर्राष्ट्रिय शाखा प्रतिनिधि कार्यालयहरु विभिन्न १५ देशमा पुगेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका अन्तर्राष्ट्रिय बैंकिङ्ग ग्रुपका प्रमुख श्रीराम एच आयरले नेपाल र भारतबीच महत्वपूर्ण व्यापार तथा लगानीको सम्बन्ध रहेको र नेपाली बैंकहरुसँगको बलियो सहकार्यसहितको प्रतिनिधि कार्यालय स्थापनाले दुई देशबीच आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने बताए । 

कार्यक्रममा बोल्दै बैंकका इन्टरनेशनल फाइनान्सियल इन्ष्टिच्यूसन प्रमुख रन्जु सिग्टियाले प्रतिनिधि कार्यालयको स्थापना बैंकको यस क्षेत्रप्रति गरिएको पूर्व प्रतिवद्धताको पुनपुष्टिकरण भएको र बैंकले नेपाल भारतबीचको दीर्घकालिन आर्थिक गतिविधिहरुमाथि विश्वास रहेको बताए । 

साथै उनले दुई देशबीच व्यापार गर्ने ग्राहकहरुबीच गहिरो सम्बन्ध बनाउन नेपालका बैंकिङ्ग साझेदारहरुसँग बैंकले काम गर्ने बताए । 

बैंकले रञ्जन कुमार थापालाई नेपालको प्रतिनिधि कार्यालयको प्रमुख नियुक्त गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप