बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस पहिचान हुनु निकै अघि नै यो अन्य देशमा भेटिइसकेको तथ्य फेला

बिहीबार, १८ मङ्सिर २०७७, १५ : २४
बिहीबार, १८ मङ्सिर २०७७

यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले आफ्नो एक अनुसन्धानमा चीनमा कोरोना भाइरसको पहिलो संक्रमितको पहिचान गर्नु केही हप्ता अघि नै अमेरिकामा डिसेम्बर २०१९ को मध्यतिर नै भेटिएको हुनसक्ने अनुमान गरेको छ । यो नयाँ अनुसन्धानले कोरोनाभाइरस पहिचान हुनु अघि नै संसारभरी फैलिसकेको थियो भन्ने तथ्यलाई बल प्रदान गरेको छ ।

कोभिड–१९ को संक्रमण ‘अमेरिकामा सन् २०१९ को डिसेम्बरमा नै रहेको हुनसक्छ’, करिब एक महिना अघि जब अमेरिकामा पहिलो संक्रमित पुष्टि भएको थियो । सिडिसीका वैज्ञानिकले देशभरी ९ राज्यमा गरिएको ७,३८९ रक्तदाताको नमूना परीक्षण गर्दा १०६ जनामा संक्रमित भेटिएपछि यसो भनेका हुन् । यो अनुसन्धान क्लिनिकल इन्फेक्सियस डिजिजको एक जर्नलमा सोमबार प्रकाशित भएको हो । 

सबैभन्दा पहिले अमेरिकामाः

अनुसन्धानका अनुसार सिडिसीका अनुसन्धाताले  क्यालिफोर्निया, ओरेगन र वासिङ्टन स्टेटमा डिसेम्बर १३ देखि १६ सम्म संकलन गरिएको ३९ रक्त नमूनामा नोभेल कोरोनाभाइरसको एन्टीबडी भेटिएको थियो । यस्तै, म्यासाच्युसेट्स, मिचिगन र विस्कन्सिन, कनेक्टिकटमा डिसेम्बर ३० र जनवरी १७ मा संकलन गरिएको ६७ स्याम्पलमा एन्टीबडी भेटिएको थियो ।

यो पछिल्लो रिपोर्ट सार्वजनिक हुनुअघि अमेरिकामा यस वर्षको जनवरी १९ मा पहिलो संक्रमितको पहिचान भएको बताइएको थियो । सिडिसीका अनुसार घरेलु परीक्षण सुरु गरेको दुई दिनपछि पहिलो संक्रमित भेटिएको बताइएको थियो । 

यद्यपि, केही रिपोर्टले बताइएका अनुसार अमेरिकामा भाइरसको प्रवेश पहिचान हुनुअघि नै भइसकेको थियो । तर समुदायस्तरमा फेब्रुअरी महिनाको अन्त्यतिर मात्रै फैलिएको अनुसन्धाताले बताएका छन् । 

अमेरिकी राज्य न्यूजर्सीका मेयर माइकल मेल्हामले गत अप्रिलमा आफ्नो कोभिड–१९ एन्टिबडी परीक्षण गर्दा पोजेटिभ आएको र गत वर्षको नोभेम्बर महिनामा नै आफू भाइरसद्वारा ग्रसित भएको हुनसक्ने आशंका उनले व्यक्त गरेका थिए । 

‘कोरोनाभाइरसको संक्रमण हुँदा पनि मानिसहरुले यसलाई सामान्य रुघाखोकी हो कि भनेर खासै वास्ता नगर्ने हुन् कि भन्ने मलाई डर छ,’ मेयरले आफ्नो वक्तव्यमा भनेका थिए ।

अमेरिकामा मात्रै होइन, थुप्रै अनुसन्धाताले कोरोनाभाइरस अनुमान गरेभन्दा निकै अघि नै चीन बाहिर फैलिसकेको प्रमाण पेश गरिरहेका छन् । 

स्पेनमा युनिभर्सिटी अफ बार्सिलोनाका अनुसन्धानकर्ताले सन् २०१९ मार्च १२ तारिखमा फोहोर पानीमा  भाइरसको जिनोम भेटेका थिए । युनिभर्सिटीले सो कुरा जुन महिनामा एक वक्तव्यमार्फत् जानकारी दिएको थियो । 

अनुसन्धानको नतिजाका अनुसार कोभिड–१९ को संक्रमण थाहा पाउनु अघि नै फलिसकेको रिपोर्टमा बताइएको छ । 

यस्तै गत वर्षको डिसेम्बरमा फ्रान्समा कोभिड–१९ द्वारा संक्रमित एक व्यक्ति भेटिएका थिए । यहाँ त्यसको एक महिनापछि मात्रै पहिलो आधिकारिक संक्रमित फेला परेका थिए । 

पेरिस नजिकैको एभिसेन्ने एण्ड जिन भर्डिएर हस्पिटलका डाक्टरलाई उद्धृत गर्दै बीबीसीले दिएको जानकारी अनुसार उक्त बिरामी डिसेम्बर १४ देखि २२ को बीचमा संक्रमित भएका हुनसक्छन् किनभने कोरोनाभाइरसको लक्षण देखिन पाँचदेखि १४ दिनको समय लाग्छ । 

यस्तै, इटालीमा केही दिन अघि मिलानस्थित नेशनल क्यान्सर इन्स्टिच्युटले गरेको एक अनुसन्धान अनुसार सन् २०१९ को सेप्टेम्बरदेखि सन् २०२० को मार्चमा फोक्सोको क्यान्सर स्क्रिनिङ ट्रायलमा सहभागी भएका ९५९ स्वस्थ स्वयंसेवकमध्ये ११.६ प्रतिशतमा फेब्रुअरी अघि नै कोभिड–१९ एन्टिबडी विकसित भइसकेको पत्ता लागेको छ । फेब्रुअरीमा पहिलो पटक कोरोनाको पहिलो आधिकारिक केस दर्ता गरिएको थियो । 

यता विश्व स्वास्थ्य संगठनले फ्रान्स, स्पेन, इटालीको प्रत्येक खोजलाई निकै गम्भीर भएर अनुसन्धान गरिने बताएको छ  । – सिन्ह्वा


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप