बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सम्झनामा देवानन्दः जसले बलिउडलाई नेपालको सुन्दरता बुझाए

बिहीबार, १८ मङ्सिर २०७७, १५ : ०६
बिहीबार, १८ मङ्सिर २०७७

एजेन्सी । बलिउडका सुपरस्टार तथा दिग्गज अभिनेता देव आनन्दले ३ डिसेम्बर २०११ मा लण्डनमा अन्तिम सास फेरेका थिए । तर उनको अभिनय र प्रतिभा आज पनि  मानिसहरुको मस्तिष्कमा ज्युँदो छ ।  राजा महेन्द्रसँग देवानन्दको मित्रता प्रगाढ थियो, उनी महेन्द्रको राज्याभिषेक तथा विवाहमा पनि विशिष्ट अतिथिका रुपमा नेपाल निम्त्याइएका थिए ।

यहाँको सुन्दरताबाट मोहित भएपछि उनले आफ्ना तीनवटा चर्चित फिल्मको सुटिङ नेपालमा गरे । सन् १९७० मा प्रदर्शनमा आएको उनको फिल्म ‘जोनी मेरा नाम’ को चर्चित ‘पल भर के लिए’ बोलको गीत गोदावरीमा सुुटिङ गरिएको थियो, यस गीतमा हेमा मालिनीले नृत्य गरेकी छिन् ।

त्यसपछि देवानन्दले काठमाडौंको संस्कृतिलाई केन्द्रमा राखेर १९७१ मा ‘हरे कृष्ण हरे राम’ रिलिज गरे, यो फिल्मको अधिकांश सुटिङ काठमाडौंमै भएको थियो । ‘यदि, म महेन्द्रसँग नजिक थिइँन भने हरे रामा हरे कृष्ण बन्ने थिएन । यो फिल्म निर्माणमा नेपालको राजपरिवारले निकै ठूलो सहयोग गरेको थियो’ चलचित्रका निर्मातासमेत रहेका देवानन्दले भनेका थिए ।

यो फिल्म सन् १९७१ मा काठमाडौंमा विद्यमान हिप्पी संस्कृति र त्यसका विकृतिमा आधारित छ । यसपछि फिल्मको सफलतापछि उनले ‘ईस्क ईस्क ईस्क’ पनि नेपालमै छायाँकन गरे । यसपछि नेपालमा बलिउड फिल्मको सुटिङ बढ्यो । खुदा गवाह, महान्, घरवाली– बहारवाली, बेकावूलगायत धेरै बलिउड फिल्महरु त्यसयता नेपालमा सुुटिङ गरिएका छन् । 

वरिष्ठ अभिनेता तथा निर्देशक कृष्ण मल्ल भन्छन्, ‘राजा महेन्द्रसँगको उहाँको मित्रता विशेष भएकाले नेपालप्रति उहाँले देखाउने सम्मान सधैं उच्च रह्यो । खासमा नेपाललाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सहयोगी साबित होस् भने हेतुुले राजा महेन्द्रले नै  आवश्यक सहयोग र सुविधा उपलब्ध गराउन हामी तयार छौं भनेर फिल्म सुटिङ गर्ने प्रस्ताव देवानन्दसँग राख्नुुभएको रहेछ । प्रथम चलचित्र महोत्सवमा सम्मान गर्नका लागि निम्तो गर्न भारत गएका बेला उहाँले यी कुराहरु हामीसँग राख्नुुभएको थियो ।’ 

मल्ल थप्छन्, ‘हुन त त्यसअघि नै बलिउड कलाकारहरु नेपाल आउने गर्नुुभएको थियो । तर बलिउडमा नेपालको सुन्दरतालाई चिनाउने श्रेय देवानन्दलाई नै जान्छ किनकी जोनी मेरा नाम र हरेक कृष्णा हरे राम सफल भएपछि धेरै बलिउड कलाकारहरुले नेपालमा सुटिङ गर्न थाले ।’

सपनामा जिउने अभिनेता 

यी अभिनेतालाई आफ्नो सपनामा जिउने अभिनेता भनिन्थ्यों ।  आफ्नो अद्भूत अभिनय र कामप्रतिको निष्ठाका कारण उनी आज पनि नयाँ कलाकारहरुका लागि प्रेरणा बनेका छन् । उनले केवल अभिनयमात्रै होइन, फिल्म निर्माण र निर्देशनमा पनि आफ्नो पहिचान बनाए ।  देवानन्दको जन्म २६ डिसेम्बर १९२३ मा पञ्जाबको गुरदासपुरमा जिल्लामा भएको थियो ।

उनी बाल्यकालदेखि नै अभिनयका सौखिन रहे । उनका पिता वकिल थिए र लाहौरको सरकारी स्कुलमा देवाननदले आफ्नो पढाई पूरा गरे । उनले १९४६ मा प्यारेलाल सन्तोषीको ‘हक एक हैं’ फिल्ममार्फत अभिनय यात्रा थाले । दुुई वर्षपछि उनलाई ‘लतिफ की जिद्दी’ मा लिड रोल मिल्यो र यस फिल्मका गीतहरु पनि हिट भए । 

३० रुपैयाँ लिएर मुम्बई यात्रा
फिल्मी कयिरको सुरुवातमा देव आनन्दले धेरै कठिनाईको सामना गर्नुुपरेको थियो । पहिलोपटक मुम्बई आउँदा उनको गोजीमा तीस रुपैयाँ मात्रै थियो । बस्नका लागि कनुै कोठा नभएकाले उनले धेरै रात रेलवे स्टेशनमा बिताए । उनलाई दुुई छाक खानको जोहो गर्नमै धेरै सकस थियो । लामो प्रयासपछि उनले मिलिट्री सेन्सर अफिसमा चिठ्ठी पढ्ने काम पाए । उनले सैनिकहरुबाट प्राप्त चिट्ठी उनीहरुका परिवारलाई पढेर सुनाउनुपर्ने थियो । 

देव आनन्दले आफ्नो फिल्मी करियरमा १ सयभन्दा धेरै फिल्म खेलेका छन् । उनका अति हिट फिल्महरुको सूचीमा गाइड, हरे कृष्णा हरे राम, देश–परदेश, ज्वेल थिफ र जोनी मेरा नाम आदि पर्छन् । २००१ मा भारतका राष्ट्रपतिले उनलाई पद्भ भूषणबाट सम्मानित गरे । १९५० मै उनले अफसर फिल्ममार्फत फिल्म निर्माणमा पाइला चालेका थिए, यस फिल्मको निर्देशनको जिम्मेवारी उनले आफ्ना भाई चेतन आनन्दलाई सुम्पिए । 

कोट लगाउन प्रतिबन्ध 
उनी एक कलाकार मात्रै नभएर स्टार नै थिए । यस्ता स्टार जसलाई देखेपछि युवतीहरु भुुतुक्कै हुन्थें । उनको स्टारडमको जादू छोटो समयमात्रै चलेको थियो । तर, निकै प्रभावकारी थियो । गर्दन झुुकाउने उनको गज्जबको अन्दाज, तथा कालो सर्ट–पेन्टले कतिपय युवतीहरुलाई बेहोश नै बनायो पनि भनिन्छ ।

देबानन्दकै कारण त्यस जमानामा सेतो सर्टमा कालो कोट लगाउने स्टाइल निकै चलेको थियो । युवतीहरु यस्तो स्टाइलबाट अति मोहित भएपछि भारतका कतिपय स्थानमा सार्वजनिक स्थलमा कालो कोट लगाउन प्रतिबन्ध नै लगाउनुुपर्यो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप