बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शक्ति प्रदर्शनसहित काँग्रेस नेता पौडेलद्वारा पुल उद्घाटन

बिहीबार, १८ मङ्सिर २०७७, १४ : २८
बिहीबार, १८ मङ्सिर २०७७

काठकाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार रोकिएको तनहुँको बुल्दीखोला पुल आज (विहीबार) उद्घाटन गरेका छन्। तनहुँ व्यास नगरपालिका १,१० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । 

बुधबार नेकपाका कार्यकर्ताले अवरोध गरेसँगै रोकिएको पुल उद्घाटनको कार्यक्रम आज पौडेलले नै रिबन काटेर पुल उद्घाटन गरेका हुन्।  काँग्रेसले पौडेलसहित केन्द्रीय तहका नेताहरु उतारेर बिहीबार उद्घाटन गरेको हो।  काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी,  गोविन्द भट्टराई, प्रदीप पौडेललगायत पनि पुल उद्घाटनमा पुगेका थिए ।

यस्तै पुल उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलगायत सांसदहरुको पनि सहभागी थिए । पुल उद्घाटन अघि जिल्ला पार्टी कार्यालय दमौलीबाट जुलुस निकालिएको थियो।  काँग्रेसले आज जिल्लाभरका नेता कार्यकर्तालाई पुल उद्घाटन क्षेत्रमा उतारेको थियो । 

घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारवाहीको दायरामा ल्याउनुपर्ने पौडेलले बताए । पौडेलले भने, 'आज तनहुँमा कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि अवरोध गर्नबाट प्रशासन पछि हटेको प्रष्ट छ ।' लोकतान्त्रिक मुल्य र मान्यता विपरीत नेपाली जनता, नेपाली कांग्रेसमाथिको घोर अपमान र अत्याचारप्रति खेद गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृति विरुद्द हाम्रो आन्दोलन जारी रहने पौडेलले बताए

वरिष्ठ नेता पौडेल र नेकपा संघीय सांसद किसान श्रेष्ठ बीचको टकरावले पुल उद्घाटनका विषयमा विवाद भएको थियो ।  पूर्वाधार विकास कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो । 

उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपा निकट युवा सङ्घले सोही पुलमा आजै बिहान विरोधसभा आयोजना गरेको थियो । दुवै पक्षबीच झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । 

निषेधाज्ञा उल्लंघन गरेको भन्दै आज दिउँसो पक्राउ गरिएका नेता पौडेललाई साझ रिहा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप