बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजालाई गुमराहमा राखेर के गर्दैछन् ‘राजावादी’ ?

यसरी बन्यो राजावादीको जुलुस निकाल्ने योजना
बिहीबार, १८ मङ्सिर २०७७, १३ : ०९
बिहीबार, १८ मङ्सिर २०७७

काठमाडौं । आफूलाई ‘राजावादी’ भन्न रुचाउने एउटा समूहले देशका विभिन्न भागमा अहिले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोधमा जुलुस एवं प्रदर्शन गर्दै आएको छ । धनगढी, नेपालगंज, बुटवल, पोखरा, हेटौंडा, जनकपुर, विराटनगर, काठमाडौं लगायतका सहरमा उनीहरुले मोटरसाइकल -यालीसहितका प्रदर्शन गरेका छन् ।

मंसिर २० गते उनीहरुले काठमाडौंमा जुलुस निकाल्ने तयारीसमेत गरेका छन् । कोरोना महामारीका कारण स्थानीय प्रशासनले भिडभाडयु    क्त कार्यक्रम नगर्न निषेधाज्ञा जारी गरे पनि ‘लोकतान्त्रिक अधिकार’ का नाममा उनीहरुले विरोध प्रदर्शन गर्न पाउनुपर्ने जिकिरसहित जुलुसको तयारी थालेका हुन् ।

स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहको इच्छाविपरीत दरबारका तत्कालीन सहयोगी, राजतन्त्रका समयमा राजपरिवारका सदस्यको वरिपरि रहेर कुनै न कुनै रुपमा फाइदा लिएका व्यक्ति तथा समूहले अहिले ‘राजावादी’का नाममा गणतन्त्र र संघीयताविरोधी अभियान सुरु गरेका हुन् ।

कसको डिजाइनमा आन्दोलन ?
झण्डै दुई तिहाइ बहुमत नजिक रहेको सरकारले देश र जनताका समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको मौकालाई राजावादीहरुले सदुपयोग गर्न खोजेका हुन् । जनतामा सरकारप्रति असन्तुष्टि बढिरहेको र दलहरु आन्तरिक द्वन्द्वमा फसेको समयलाई यो व्यवस्थाप्रति नै प्रहार गर्ने उपयुक्त अवसरका रुपमा राजावादीहरुले मौका छोपेको जानकारहरु बताउँछन् ।

निर्मल निवास निकट स्रोतका अनुसार अधिवक्ता बालकृष्ण न्यौपाने र पूर्वराजाका निजी सचिव सागर तिमल्सिना टाढाका नातेदार हुन् । न्यौपाने सुरुदेखि नै राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा उभिँदै आएका व्यक्ति हुन् भने तिमल्सिना सक्रिय राजतन्त्रको समयमा दरबारका हर्ताकर्तामा गनिन्थे । अहिले पनि पूर्वराजा ज्ञानेन्द्रसँग तिमल्सिनाको सम्बन्ध निकट रहँदै आएको छ ।

स्रोतका अनुसार पूर्वराजासँगको निकटतालाई बुझेर नै न्यौपानेले आफ्ना टाढाका नातेदार तिमल्सिनालाई एउटा प्रस्ताव राखे– राजावादीहरुलाई संगठित गर्ने । 
विगतमा दरबारसँग निकट रहेका काम गरेकाहरुलाई एउटै थलोमा संगठित गर्ने दिशामा न्यौपानेले पूर्वराजाका निजी सचिव तिमल्सिनाको सहयोग लिए । तिमल्सिनाले आफ्नो सम्पर्कमा रहेजतिलाई न्यौपानेसँग निकट तुल्याइदिए ।

मधेसमा आँखा
नेपाली राजनीतिक इतिहासमा भएका जुनसूकै परिवर्तनकारी आन्दोलनमा मधेसको भूमिका अहम् रहँदै आएको छ । राजावादी आन्दोलनमा समेत मधेसतर्फ सुक्ष्म नजर लगाउन थालिएको छ । 
प्रारम्भिक चरणमा राजावादीहरुको अभियानमा डा. मनोज मुक्तिले साथ दिएका छन् । उनी कुनै समय जनतान्त्रिक तराई मुक्ति मोर्चामा आवद्ध रहेर तराई मधेसमा सशस्त्र गतिविधि गर्दै आएका थिए ।

सरकारले सशस्त्र संघर्षरत पक्षलाई वार्तामा बोलाएपछि उनी एक सम्झौताअन्तर्गत हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आएका थिए । यद्यपि कुनै पनि दलले उनलाई सामेल गर्न चाहेन । छुट्टै दल खोलेर संगठित हुने आँट नभएपछि उनले राजावादी अभियानमा आफूलाई सामेल गरे । अहिले उनी राजसंस्थाका पक्षमा आफ्नो सामाजिक सञ्जालमार्फत खुलेर विचार राख्दै आएका छन् भने पूर्वराजपरिवारका सदस्यहरुको जन्मदिनमा सामाजिक सञ्जालमार्फत शुभकामना पनि दिने गर्दछन् ।

क–कसको समर्थन ?
राजावादीहरुकै अभियानमा संलग्न एक स्रोतका अनुसार राजाको सक्रिय शासनमा सूचना तथा संचार राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका श्रीस शमशेर राणा पनि अहिले राजावादीको अभियानमा सामेल छन् । यस अतिरिक्त निक्ष शमशेर राणा, उनका सहयोगी बसन्तविक्रम पाण्डे (शिव सेना नेपालका अध्यक्ष) प्रकाश राणा, पारस शाहको निकट मानिएका अनिल बस्नेत लगायतले ‘राजा आउ देश बचाउ’ अभियान सञ्चालन गरेका हुन् ।
उनीहरुले देशका विभिन्न भागमा मोटरसाइकल ¥याली गर्ने, पर्चा–पम्प्लेट छर्ने र आफूले गरेका गतिविधिका तस्वीर निर्मल निवास पठाउने गरेका छन् । उनीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई यस्ता गतिविधि ‘स्वतस्फूर्त’ भएको दावी गर्ने गरेको स्रोत बताउँछ ।

‘स्वतस्फूर्त’ गतिविधि भनिएकै कारण पूर्वराजाले यसमा कुनै प्रकारको आपत्ति नजनाएको स्रोतको दावी छ । अन्यथा, पूर्वराजाले आफ्ना सहयोगीलाई आफ्नो समर्थनमा ¥याली, जुलुस नगर्न धेरै अघिदेखि सुझाव दिँदै आएका छन् ।
पूर्वराजालाई समेत गुमराहमा राखेर अभियान चलाइरहेकाहरुले भने पूर्वराजाप्रति सद्भाव राख्ने व्यापारी–व्यवसायीहरुसँग अभियानका लागि आर्थिक सहयोग माग्ने गरेको र यसरी सहयोग माग्दा पूर्वराजाले नै निर्देशन दिएकोसमेत भन्ने गरेको स्रोत बताउँछ ।

मंसिर २० गते राजधानीमा जुलुस गर्ने भनेर सागर तिमल्सिना, बालकृष्ण न्यौपाने सहित ताप्लेजुङ पुर्ख्यौली घर भएका कानुन व्यवसायी सुरेन्द्र भण्डारी लगायतले अहिले विभिन्न बहानामा युवाहरुलाई संगठित गर्न थालेको स्रोतको भनाइ छ ।

कानुन व्यवसायी भण्डारीले आफूलाई पूर्वप्रधानन्यायाधीशद्वय सुशीला कार्की र कल्याण श्रेष्ठसँग निकट सम्बन्ध रहेको भनेर चिनाउने गरेका छन् । यो अभियानमा कार्की र श्रेष्ठको समेत समर्थन रहेको भनेर उनले युवाहरुलाई अनेक प्रलोभन देखाउने गरेको बताइन्छ ।

यसैगरी ‘एनी टाइम फोर्स’ (एटिएफ) नामक दस्ता गठन गरेका धादिङका सन्तोष सिलवाल पनि राजावादीको जुलुसमा मोटरसाइकलसहितका युवा भित्र्याउन सक्रिय भूमिका निर्वाह गर्दै आएको बताइन्छ । परम्परागत ‘दरवारिया’सँग निकट सम्बन्ध नरहे पनि उनले नवयुवालाई यो अभियानमा सामेल गराउने र यसका लागि स्थानीय व्यापारी, उद्योगीसँग आर्थिक सहयोग लिएर खर्च गर्ने गरेको स्रोतको दाबी छ ।

जुलुसमा युवाको सहभागिता जुटाउन आफूले सक्रिय भूमिका निर्वाह गर्दै आएको तर निर्मल निवासमा तिनै जुलुसको फोटो÷भिडियो देखाएर अर्को अवसरवादी समूहले फाइदा लिइरहेको भन्दै एटिएफका संयोजक सिलवालले उनीहरुको भण्डाफोर गर्न थालेको स्रोत बताउँछ ।    

कमल थापा पनि मौकामा चौका हान्दै
राप्रपा अध्यक्ष कमल थापाले पनि राजावादीको जुलुमा युवा शक्तिको आकर्षण बढेको मौकामा आफ्नो राजनीतिक रोटी सेक्ने प्रयास थालेका छन् । अभियानमा लागेका व्यक्तिहरुलाई उनले आफ्नो तर्फबाट पार्टीगत समर्थन रहने भन्दै हौस्याउने गरेको बताइन्छ । भोलिका दिनमा आन्दोलनलाई संगठित नेतृत्वको खाँचो पर्ने र त्यस्तो अवस्थामा आफू तयार रहने भन्दै उनले युवाहरुलाई हौस्याउने गरेको स्रोत बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप