म कोरोनामुक्त शल्य चिकित्सक
चिकित्सा शास्त्रको अध्ययन गर्दा हामीलाई अध्यापकले भन्नुहुन्थ्यो, ‘हामीले सधैँ बिरामीलाई हौसला प्रदान गर्दै स्वास्थ्य सुरक्षा बारेमा जानकारी दिनुपर्छ । त्यसपछि सुझावसहितको औषधि लेखेर खाने तरिका बुझाउन सक्यौँ भने बिरामी छिटो निको हुन्छ । मैले चिकित्सक भएपछि यही मान्यतामा सेवा गर्दै आएको १५ वर्ष पूरा भयो ।
अध्ययन गर्दा सिकेको ज्ञान र व्यवहारमा बिरामीको उपचार गर्दा स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने कारण शल्यचिकित्सक भएर पनि होला । हामी जहिले पनि शल्यक्रिया गर्दा थिएटरभित्र प्रवेश गर्दा हात सफा राख्ने, मास्क लगाउने र ओटी गाउन (शल्यक्रिया कक्षमा लगाउने कपडा) जस्तो कपडा लगाउने स्वास्थ्य मापदण्डअनुसार सयौँ बिरामीको शल्यक्रिया गरेर पुनर्जीवन दिएका थियौँ ।
समयको खेल एक्कासि फैलिएको कोभिड–१९ कोरोना महामारीले विश्व र हामीलाई पनि जोखिमको घेरामा पु¥यायो । महामारी सुरु भएको खबरपछि लकडाउन अघि वा पछि आफ्नो काम र सेवामा निरन्तर लागिरहेका थिएँ । आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ठ भएर लाग्नु मेरो दायित्व हो ।
विश्व स्वास्थ्य सङ्गठन र सरकारले बनाएको नियमअनुसार हामीले बिरामीको परीक्षण, शल्यक्रिया गरिरहेका थियौँ । शल्यक्रिया गर्दा बिरामी र उनको सेवामा खटिने आफन्त दुवैलाई राखेर परामर्श दिने गर्थें । कोरोना परीक्षण नेगेटिभ भएका बिरामीको हरेक हप्ता १० देखि १२ वटा शल्यक्रियामा सक्रिय थिएँ ।
बिरामीको उपचार र सेवा गर्ने प्रतिज्ञा गरेर चिकित्सक बनेको हुँ । मेरो काम नै यस्ता महामारीको बेला काम गर्ने हो भनी घरबाट अस्पताल जान लाग्दा घरमा ८७ वर्षको बुबा र ८५ वर्षकी आमालाई जानेबेला सधैँ म अस्पताल हिँडे है भनेर जान्थेँ ।
महामारी सुरु भएदेखि नै कतै मबाट घरमा कोरोना प्रवेश भयो भने बुबा आमा र ११ वर्षको छोरा र ४ वर्षे छोरीलाई प्रवेश नहोस् भन्ने कामना गर्दै जन्मभूमि काभ्रे नालास्थित उग्रचण्डी भगवती मातालाई प्रार्थना गरेँ ।
संयोग तिहारको झिलिमिली भएको बेला भाइपूजाको तयारी भयो । दिदीहरुसँग टीका लगाएँ । त्यसको भोलिपल्ट घरमा श्रीमतीलाई कोरोना भयो । उनी नेपालको निजी स्तरको प्रतिष्ठित बैङ्कमा काम गर्छिन् । उनलाई कोरोनाको लक्षण देखियो । ज्वरो आयो, तुरुन्त उनलाई क्वारेन्टिनमा घरमा अलगै राख्ने व्यवस्था गरे । त्यसपछि उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो । त्यसपछि मैले आफ्नो परिवार र मेरो पनि परीक्षण गर्दा मलाई पनि कोरोना पोजिटिभ देखियो । तर परिवारका बाआमा, छोरा र छोरीको भने नेगेटिभ आयो ।
‘म पनि कोरोना पोजेटिभ भएँ’ तर मलाई देखिएको पोजेटिभबाट अरू कसैलाई नसर्ने खालको थियो । म पनि घरमा आइसोलेसनमा बसेँ । घरमा हामी दुवैलाई कोरोना पोजेटिभ भएको खबरले वृद्ध बाआमा र छोरा र छोरी दुःखी हुनु स्वाभाविक नै थियो । घरमा खाना बनाउनेदेखि घरको काम सञ्चालनमा समस्या पर्यो । हामीलाई कोरोना देखिएपछि ६ जना दिदीहरुको हौसलापूर्ण सन्देश आयो । भिनाजुहरुले भरोसा जनाए । मेरो चिकित्सक सहकर्मी डा. रोमियो कंसाकार, डा. देवेन्द्र महर्जन, डा. मनिष राय र जिग्री मित्र अरुण स्थापितको सल्लाह र सुझाव दिन थाले सबैको सल्लाहबाट आत्मबल बलियो भयो । मलाई त खासमा मेरो र श्रीमतीको भन्दा पनि बाआमा र छोराछोरीको अलि बढी चिन्ता थियो । मबाट अरू कसैलाई नसर्ने भएकाले घरको सामान्य काममा सहभागी भएँ । र, भाइ प्रतीकको साथ सहयोग पनि पाएँ ।
कोरोना महामारी सुरु भए पनि अस्पतालका सहकर्मी, बिरामी र आफन्त र मित्रलाई सही तरिकारले मास्क लगाउने, भौतिक दूरी कामय गर्ने, समय समयमा हात धुने र सेनिटाइजरको प्रयोग गर्ने सल्लाह र सुझाव दिँदै आएको थिएँ ।
यसबीचमा आजसम्म म जस्तै चिकित्सा क्षेत्रमा काम गर्ने पाँच हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । वरिष्ठ पाँच चिकित्सकसहित १३ जना स्वास्थ्यकर्मीले ज्यान गुमाउनु परेको खबर पनि सुने र पढँे । त्यसबाहेकका स्वास्थ्यकर्मी उपचारपछि निको भएर काममा फर्केका अनुभव पढेपछि मलाई पनि १४ दिनको अनुभव हरेक दिन डायरीमा लेख्दै गएँ । बिरामीलाई औषधि लेख्न नपाए पनि यो १४ दिनको घर बसाइमा महामारीको वास्तविक अनुभव लेख्नुपर्छ भन्ने अनुभव गरेँ । लेख्न, पढ्ने काममा समय बिताएँ । कोरोनाले गर्दा सम्झना भएसम्म चिकित्सक पेसा सुरु गरेपछि जिन्दगीमा पहिलोपटक यति लामो समयसम्म घरमा बसेँ ।
१४ दिनको घर बसाइपछि पुनः परीक्षण गर्दा हामी दुवै कोरोना मुक्त भयौँ । भनिन्छ नि आफैले भोगेको कुरा सत्य हुन्छ । मैले अरूलाई भनेको थिएँ, कोरोना केही होइन भनेर हल्का रूपमा लिनु हुँदैन । आज मैले स्वयं भोगेँ । फेरि पनि भन्छु ‘कोरोना केही होइन भनेर नभनौँ अनि कोरोना लाग्ने वित्तिकै मरिन्छ भनेर हतोत्साही पनि हुनु पर्दैन ।’
कोरोना अस्पतालबाट मात्र सर्छ भन्ने होइन महामारी हो जहाँबाट पनि सर्नसक्छ । त्यसैले यस्तो अवस्थामा सबैभन्दा पहिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु पर्छ । कारणबस कोरोनाको लक्षण देखिएमा पहिलो काम आफू अलग भएर बस्ने, परिवारलाई जानकारी दिने र चिकित्सको सल्लाह लिने, स्वासप्रश्वास समस्या भए अस्पताल जाने काम गर्नुको विकल्पै छैन ।
कोरोना जसलाई पनि हुनसक्छ । कोरोना भयो भनेर घर परिवार, समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन जरुरी छ । तर समाज चेतनाको कमी छ ।
मेरा एकजना मित्र कोरोना पोजेटिभ भएपछि छिमेकीले गरेको अपमानको कथा सुनाउँदै थिए । जुन कुरा म यो आत्मअनुभवमा लेख्न सक्दिनँ । निकै पीडादायी कथा सुनाउने उनलाई मैले नआत्तिनु केही समस्या भए म छु भनेँ । अहिले उनी पनि कोरोना मुक्त भएको खबर सुनेर खुसी भएँ ।
विद्यालयदेखि सँगै पढेको मेरो साथीले फोन गरेर १४ दिनपछि ठीक हुन्छ । केही छैन । त्यसपछि भेटेर कफी खानुपर्छ भन्दा उनको श्रीमतीले मैले सुन्नेगरी कोरोना लागेको व्यक्तिसँग भेट्छ ? भन्दै गाली गरेको सुन्नुु प¥यो । मेरो कारण उनको घरमा झगडा नहोस् भनेर हामी नभेटौँ भन्न बाध्य भएँ ।
मेरो अनुभवले के भन्छ भने कोरोना पोजेटिभ भएकाहरुलाई घरमा अन्य सदस्यभन्दा बेग्लै बस्ने, झोलिलो खाना खाने, भिटामिन ‘सी र डी’ वा ज्वरो आएको छ भने चिकित्सको परामर्श अनुसार औषधि सेवन गर्नु सबैभन्दा उत्तम हो । आत्मबल बलियो बनाउने, सकारात्मक सोच राख्ने, आफूलाई मन पर्ने गीत, सङ्गीत सुन्ने, आराम गर्नु नै उत्तम उपचार हो । चिन्ताले नै रोग बढाउँछ भन्ने मान्यता छ । त्यसैले चिन्ता नलिने भनिन्छ तर नलिनेभन्दा भन्दै पनि केही चिन्ता त हुन्छ । यस्तो बेलामा साथीभाइ, परिवारका सबैभन्दा बढी प्यारो इष्टमित्र र दुःख सुखको साथीसँग कुराकानी गर्दा पनि कोरोना छिटो निको हुन सक्छ ।
म चिकित्सक भएर होला आफैमा आत्मबल थियो तर मेरी ६ वटा दिदीहरुको टेलिफोन कुराकानीले मलाई त निकै बल मिल्यो । मेरा सहकर्मी चिकित्सक मित्रहरुले हरेक दिने जानकारी लिने गरेका कारण आत्मबल भरिपूर्ण भयो । खानपानको तालिका बनाएर भिटामिन औषधि, तातोपानी सेवन गरेर मैले त कोरोना जितेँ ।
सबै कोरोना पोजेटिभ हुनुहुने बिरामीलाई अनुरोध छ । रोगसँग लड्न चिन्ता नलिनुस्, १४ दिनको आराम, औषधि सेवन पछि ठीक हुन्छ । श्वासप्रस्वास र ज्वरो कम नभए मात्र अस्पताल जानु नै पर्छ ।
घरबाहिर निस्कँदा मुखमा मास्क, खल्तीमा सेनिटाइजर, घरमा प्रवेश गरेपछि तुरुन्त हात धुने गर्नुपर्छ । बालबालिका, वृद्ध र दीर्घरोगीको साथमा सकेसम्म दूरी कामय गर्नु राम्रो हुन्छ ।
म जस्तै सङ्क्रमित भएर निको भएकाहरुले पनि मलाई अब कोरोना लाग्दैन भनेर जथाभावी हिँड्ने, स्वास्थ्य मापदण्डको पालना कमी नगर्नु होला । शरीर कमजोरी रहन्छ । त्यसैले सबै मापदण्डको पालना, घाममा बस्ने, खानपानमा तालिका बनाउनु पर्छ ।
वैश्विक महामारी भएका बेला घरमा स्वास्थ्य किट बनाएर राख्नु पर्छ । थर्मोमिटर, पल्स, केही समान्य औषधि र दीर्घरोगी भएको घरमा चाहिँ अक्सिजन राख्नु वेश हुनेछ । विशेष गरी ज्येष्ठ नागरिक, दीर्घरोगी र साना बालिबालिको हेरचाहमा निकै ध्यान दिनुपर्छ ।
१४ दिनपछि भएको परीक्षणमा नेगेटिभ आएपछि भोलिपल्टबाट आफ्नो कर्मभूमि अस्पताल र बिरामीको सेवामा फर्केको छु । अस्पतालका स्वास्थ्य सहकर्मी, मित्रमण्डली र उपचारमा आउने बिरामी र उनका आफन्तहरुलाई कोरोनाको बारेमा सचेत रहन आफ्ना अनुभव र स्वास्थ्य सचेतना कार्य गर्ने प्रण गर्छु ।
(शल्य चिकित्सक श्रेष्ठ भक्तपुर क्यान्सर अस्पालको अन्कोलोजी विभागका विभागीय प्रमुख हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसाय बन्द भएकै आधारमा ऋणी कालोसूचीमा नपर्ने, ‘वर्षौंपछि राष्ट्र बैंकद्वारा ऋणीमाथि न्याय’
-
यस्तो छ ‘फेरि रेशम फिलिली’को पहिलो गीत ‘ग्रीन कार्डैमा’
-
सपना अधूरै छाडेर अस्ताए चुङ्बा
-
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
-
गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे निःशुल्क भिसा निर्णयको विरोध
-
पोखरामा पाँचौँ टाइगर कप हुँदै, पुरस्कार राशि बढ्यो