शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म कोरोनामुक्त शल्य चिकित्सक

बिहीबार, १८ मङ्सिर २०७७, १२ : ४८
बिहीबार, १८ मङ्सिर २०७७

चिकित्सा शास्त्रको अध्ययन गर्दा हामीलाई अध्यापकले  भन्नुहुन्थ्यो, ‘हामीले सधैँ बिरामीलाई हौसला प्रदान गर्दै स्वास्थ्य सुरक्षा बारेमा जानकारी दिनुपर्छ । त्यसपछि सुझावसहितको औषधि लेखेर खाने तरिका बुझाउन सक्यौँ भने बिरामी छिटो निको हुन्छ । मैले चिकित्सक भएपछि यही मान्यतामा सेवा गर्दै आएको १५ वर्ष पूरा भयो ।

अध्ययन गर्दा सिकेको ज्ञान र व्यवहारमा बिरामीको उपचार गर्दा स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने कारण शल्यचिकित्सक भएर पनि होला । हामी जहिले पनि शल्यक्रिया गर्दा थिएटरभित्र प्रवेश गर्दा हात सफा राख्ने, मास्क लगाउने र ओटी गाउन (शल्यक्रिया कक्षमा लगाउने कपडा) जस्तो कपडा लगाउने स्वास्थ्य मापदण्डअनुसार सयौँ बिरामीको शल्यक्रिया गरेर पुनर्जीवन दिएका थियौँ । 
समयको खेल एक्कासि फैलिएको कोभिड–१९ कोरोना महामारीले विश्व र हामीलाई पनि जोखिमको घेरामा पु¥यायो । महामारी सुरु भएको खबरपछि लकडाउन अघि वा पछि  आफ्नो काम र सेवामा निरन्तर लागिरहेका थिएँ । आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ठ भएर लाग्नु मेरो दायित्व हो ।

विश्व स्वास्थ्य सङ्गठन र सरकारले बनाएको नियमअनुसार हामीले बिरामीको परीक्षण, शल्यक्रिया गरिरहेका थियौँ । शल्यक्रिया गर्दा बिरामी र उनको सेवामा खटिने आफन्त दुवैलाई राखेर परामर्श दिने गर्थें । कोरोना परीक्षण नेगेटिभ भएका बिरामीको हरेक हप्ता १० देखि १२ वटा शल्यक्रियामा सक्रिय थिएँ । 

बिरामीको उपचार र सेवा गर्ने प्रतिज्ञा गरेर चिकित्सक बनेको हुँ । मेरो काम नै यस्ता महामारीको बेला काम गर्ने हो भनी घरबाट अस्पताल जान लाग्दा घरमा ८७ वर्षको बुबा र ८५ वर्षकी आमालाई जानेबेला सधैँ म अस्पताल हिँडे है भनेर जान्थेँ । 

महामारी सुरु भएदेखि नै कतै मबाट घरमा कोरोना प्रवेश भयो भने बुबा आमा र ११ वर्षको छोरा र ४ वर्षे छोरीलाई प्रवेश नहोस् भन्ने कामना गर्दै जन्मभूमि काभ्रे नालास्थित उग्रचण्डी भगवती मातालाई प्रार्थना गरेँ । 
संयोग तिहारको झिलिमिली भएको बेला भाइपूजाको तयारी भयो । दिदीहरुसँग टीका लगाएँ । त्यसको भोलिपल्ट घरमा श्रीमतीलाई कोरोना भयो । उनी नेपालको निजी स्तरको प्रतिष्ठित बैङ्कमा काम गर्छिन् । उनलाई कोरोनाको लक्षण देखियो । ज्वरो आयो, तुरुन्त उनलाई क्वारेन्टिनमा घरमा अलगै राख्ने व्यवस्था गरे । त्यसपछि उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो । त्यसपछि मैले आफ्नो परिवार र मेरो पनि परीक्षण गर्दा मलाई पनि कोरोना पोजिटिभ देखियो । तर परिवारका बाआमा, छोरा र छोरीको भने नेगेटिभ आयो ।   

भनिन्छ नि आफैले भोगेको कुरा सत्य हुन्छ । मैले अरूलाई भनेको थिएँ, कोरोना केही होइन भनेर हल्का रूपमा लिनु हुँदैन । आज मैले स्वयं भोगेँ । फेरि पनि भन्छु ‘कोरोना केही होइन भनेर नभनौँ अनि कोरोना लाग्ने वित्तिकै मरिन्छ भनेर हतोत्साही पनि हुनु पर्दैन ।’

‘म पनि कोरोना पोजेटिभ भएँ’ तर मलाई देखिएको पोजेटिभबाट अरू कसैलाई नसर्ने खालको थियो । म पनि घरमा आइसोलेसनमा बसेँ । घरमा हामी दुवैलाई कोरोना पोजेटिभ भएको खबरले वृद्ध बाआमा र छोरा र छोरी दुःखी हुनु स्वाभाविक नै थियो । घरमा खाना बनाउनेदेखि घरको काम सञ्चालनमा समस्या पर्यो । हामीलाई कोरोना देखिएपछि ६ जना दिदीहरुको हौसलापूर्ण सन्देश आयो । भिनाजुहरुले भरोसा जनाए । मेरो चिकित्सक सहकर्मी डा. रोमियो कंसाकार, डा. देवेन्द्र महर्जन, डा. मनिष राय र जिग्री मित्र अरुण स्थापितको सल्लाह र सुझाव दिन थाले सबैको सल्लाहबाट आत्मबल बलियो भयो । मलाई त खासमा मेरो र श्रीमतीको भन्दा पनि बाआमा र छोराछोरीको अलि बढी चिन्ता थियो । मबाट अरू कसैलाई नसर्ने भएकाले घरको सामान्य काममा सहभागी भएँ । र, भाइ प्रतीकको साथ सहयोग पनि  पाएँ ।  

कोरोना महामारी सुरु भए पनि अस्पतालका सहकर्मी, बिरामी र आफन्त र मित्रलाई सही तरिकारले मास्क लगाउने, भौतिक दूरी कामय गर्ने, समय समयमा हात धुने र सेनिटाइजरको प्रयोग गर्ने सल्लाह र सुझाव दिँदै आएको थिएँ ।
यसबीचमा आजसम्म म जस्तै चिकित्सा क्षेत्रमा काम गर्ने पाँच हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । वरिष्ठ पाँच चिकित्सकसहित १३ जना स्वास्थ्यकर्मीले ज्यान गुमाउनु परेको खबर पनि सुने र पढँे । त्यसबाहेकका स्वास्थ्यकर्मी उपचारपछि निको भएर काममा फर्केका अनुभव पढेपछि मलाई पनि १४ दिनको अनुभव हरेक दिन डायरीमा लेख्दै गएँ । बिरामीलाई औषधि लेख्न नपाए पनि यो १४ दिनको घर बसाइमा महामारीको वास्तविक अनुभव लेख्नुपर्छ भन्ने अनुभव गरेँ । लेख्न, पढ्ने काममा समय बिताएँ । कोरोनाले गर्दा सम्झना भएसम्म चिकित्सक पेसा सुरु गरेपछि जिन्दगीमा पहिलोपटक यति लामो समयसम्म घरमा बसेँ । 

१४ दिनको घर बसाइपछि पुनः परीक्षण गर्दा हामी दुवै कोरोना मुक्त भयौँ । भनिन्छ नि आफैले भोगेको कुरा सत्य हुन्छ । मैले अरूलाई भनेको थिएँ, कोरोना केही होइन भनेर हल्का रूपमा लिनु हुँदैन । आज मैले स्वयं भोगेँ । फेरि पनि भन्छु ‘कोरोना केही होइन भनेर नभनौँ अनि कोरोना लाग्ने वित्तिकै मरिन्छ भनेर हतोत्साही पनि हुनु पर्दैन ।’ 

कोरोना अस्पतालबाट मात्र सर्छ भन्ने होइन महामारी हो जहाँबाट पनि सर्नसक्छ । त्यसैले यस्तो अवस्थामा सबैभन्दा पहिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु पर्छ । कारणबस कोरोनाको लक्षण देखिएमा पहिलो काम आफू अलग भएर बस्ने, परिवारलाई जानकारी दिने र चिकित्सको सल्लाह लिने, स्वासप्रश्वास समस्या भए अस्पताल जाने काम गर्नुको विकल्पै छैन ।  

कोरोना जसलाई पनि हुनसक्छ । कोरोना भयो भनेर घर परिवार, समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन जरुरी छ । तर समाज चेतनाको कमी छ । 
मेरा एकजना मित्र कोरोना पोजेटिभ भएपछि छिमेकीले गरेको अपमानको कथा सुनाउँदै थिए । जुन कुरा म यो आत्मअनुभवमा लेख्न सक्दिनँ । निकै पीडादायी कथा सुनाउने उनलाई मैले नआत्तिनु केही समस्या भए म छु भनेँ । अहिले उनी पनि कोरोना मुक्त भएको खबर सुनेर खुसी भएँ । 

विद्यालयदेखि सँगै पढेको मेरो साथीले फोन गरेर १४ दिनपछि ठीक हुन्छ । केही छैन । त्यसपछि भेटेर कफी खानुपर्छ भन्दा उनको श्रीमतीले मैले सुन्नेगरी कोरोना लागेको व्यक्तिसँग भेट्छ ? भन्दै गाली गरेको सुन्नुु प¥यो । मेरो कारण उनको घरमा झगडा नहोस् भनेर हामी नभेटौँ भन्न बाध्य भएँ ।   

मेरो अनुभवले के भन्छ भने कोरोना पोजेटिभ भएकाहरुलाई घरमा अन्य सदस्यभन्दा बेग्लै बस्ने, झोलिलो खाना खाने, भिटामिन ‘सी र डी’ वा ज्वरो आएको छ भने चिकित्सको परामर्श अनुसार औषधि सेवन गर्नु सबैभन्दा उत्तम हो । आत्मबल बलियो बनाउने, सकारात्मक सोच राख्ने, आफूलाई मन पर्ने गीत, सङ्गीत सुन्ने, आराम गर्नु नै उत्तम उपचार हो । चिन्ताले नै रोग बढाउँछ भन्ने मान्यता छ । त्यसैले चिन्ता नलिने भनिन्छ तर नलिनेभन्दा भन्दै पनि केही चिन्ता त हुन्छ । यस्तो बेलामा साथीभाइ, परिवारका सबैभन्दा बढी प्यारो इष्टमित्र र दुःख सुखको साथीसँग कुराकानी गर्दा पनि कोरोना छिटो निको हुन सक्छ । 

म चिकित्सक भएर होला आफैमा आत्मबल थियो तर मेरी ६ वटा दिदीहरुको टेलिफोन कुराकानीले मलाई त निकै बल मिल्यो । मेरा सहकर्मी चिकित्सक मित्रहरुले हरेक दिने जानकारी लिने गरेका कारण आत्मबल भरिपूर्ण भयो । खानपानको तालिका बनाएर भिटामिन औषधि, तातोपानी सेवन गरेर मैले त कोरोना जितेँ । 

सबै कोरोना पोजेटिभ हुनुहुने बिरामीलाई अनुरोध छ । रोगसँग लड्न चिन्ता नलिनुस्, १४ दिनको आराम, औषधि सेवन पछि ठीक हुन्छ । श्वासप्रस्वास र ज्वरो कम नभए मात्र अस्पताल जानु नै पर्छ ।  
घरबाहिर निस्कँदा मुखमा मास्क, खल्तीमा सेनिटाइजर, घरमा प्रवेश गरेपछि तुरुन्त हात धुने गर्नुपर्छ । बालबालिका, वृद्ध र दीर्घरोगीको साथमा सकेसम्म दूरी कामय गर्नु राम्रो हुन्छ । 

म जस्तै सङ्क्रमित भएर निको भएकाहरुले पनि मलाई अब कोरोना लाग्दैन भनेर जथाभावी हिँड्ने, स्वास्थ्य मापदण्डको पालना कमी नगर्नु होला । शरीर कमजोरी रहन्छ । त्यसैले सबै मापदण्डको पालना, घाममा बस्ने, खानपानमा तालिका बनाउनु पर्छ । 

वैश्विक महामारी भएका बेला घरमा स्वास्थ्य किट बनाएर राख्नु पर्छ । थर्मोमिटर, पल्स, केही समान्य औषधि र दीर्घरोगी भएको घरमा चाहिँ अक्सिजन राख्नु वेश हुनेछ । विशेष गरी ज्येष्ठ नागरिक, दीर्घरोगी र साना बालिबालिको हेरचाहमा निकै ध्यान दिनुपर्छ । 

१४ दिनपछि भएको परीक्षणमा नेगेटिभ आएपछि  भोलिपल्टबाट आफ्नो कर्मभूमि अस्पताल र बिरामीको सेवामा फर्केको छु । अस्पतालका स्वास्थ्य सहकर्मी, मित्रमण्डली र उपचारमा आउने बिरामी र उनका आफन्तहरुलाई कोरोनाको बारेमा सचेत रहन आफ्ना अनुभव र स्वास्थ्य सचेतना कार्य गर्ने प्रण गर्छु । 

(शल्य चिकित्सक श्रेष्ठ भक्तपुर क्यान्सर अस्पालको अन्कोलोजी विभागका विभागीय प्रमुख हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप