मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोराना संक्रमणको आशंका छ : कति दिन क्वारेन्टिनमा बस्ने ?

बिहीबार, १८ मङ्सिर २०७७, ०० : ५६
बिहीबार, १८ मङ्सिर २०७७

कोरोना महाव्याधिको कहर रोकिएको छैन, यो दिनप्रतिदिन बढ्दो छ । यो स्थितिमा कोरोना संक्रमितको सम्पर्कमा आएका वा कोरोना संक्रमणको आशंका भएकाहरुलाई दिइने प्रमुख सल्लाह हो– क्वारेन्टिनमा बस्ने । क्वारेन्टिन अर्थात् अरु मानिसहरुसँगका सम्पर्कबाट अलगथलग भएर सुरक्षित बस्ने, ताकि आफूबाट अरुलाई संक्रमण नसरोस् वा संक्रमण सार्ने सम्भावना न्यून रहोस् ।

अहिलेसम्म क्वारेन्टिन बस्ने निर्धारित समयावाधि १४ दिन मानिएको छ ।

१४ दिनसम्म अरुबाट अलगथलग बस्नु आफैंमा कष्टकर र अत्यासलाग्दो हुने गर्छ । कतिपयले त बारम्बार प्रश्न पनि उठाउँदै आएका छन्– यतिको लामो दिनसम्म क्वारेन्टिन बस्नु जरुरी छ र ?

तिनीहरुले उठाएको प्रश्नलाई सहयोग पुग्ने गरी अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) (Centers for Disease Control and Prevention)  ले हिजो बुधबारदेखि क्वारेन्टिनको समयावधिलाई छोट्याउन सकिने जनाएको छ । विशेष गरी आसन्न क्रिसमस एवं नवर्षलाई ध्यानमा राख्दै उसले यो नयाँ मापदण्ड जारी गरेको हो सीडीसीले अहिलेको विषम परिस्थितिमा यात्रा नगर्न सुझाव दिँदै सीडीसीले अघि सारेको सो सुझावमा यात्रा गर्नैपर्ने व्यक्तिहरुले दुई तरिकाले आफ्नो क्वारेन्टिन समयावधिलाई कम गर्न सकिने जनाएको छ ।

अझै पनि १४ दिन वा लामो समयावधिको क्वारेन्टिलाई समर्थन गर्दै सीडीसीले जनाएअनुसार, कोरोना संक्रमणको सम्पर्कमा आएका वा आशंका भएका तर लक्षण नदेखिएका व्यक्तिले ७ दिनको समयावधिमा क्वारेन्टिनलाई टुंग्याउन सक्ने छ । तर त्यसका लागि कोरोनाको परीक्षण नतिजा नेगेटिभ आएको हुनुपर्नेछ । कोरोना परीक्षणको नतिजा नेगेटिभ नआएको अवस्थामा पनि उसले क्वारेन्टिन टुंग्याउन सक्नेछ । सीडीसीका अधिकारीहरुले जनाएअनुसार, त्यसका लागि पीसीआर वा र्यापिड टेस्ट पनि मान्य हुनेछ तर क्वारेन्टिनको अन्त्य गरिएको ४८ घण्टाभित्र सो परीक्षण गरिसकिएको हुनुपर्नेछ ।

‘हामीले सुरक्षित रुपमा क्वारेन्टिनको समयलाई घटाउन सक्छौं तर के कुरा स्वीकार्नुपर्छ भने त्यसरी चाँडो क्वारेन्टिन छोड्ने व्यक्ति संक्रमित भयो भने उसले अरुलाई संक्रमण सार्न सक्ने सानो सम्भावना चाहिँ बाँकी नै रहन्छ,’ कोभिड–१९ रेस्पोन्सका लागि सीडीसीका प्रमुख मेडिकल अफिसर डा. जोन ब्रुक्स भन्छन् ।

त्यसो त सीडीसीले यात्रामा जानुपर्ने अमेरिकीले एकदेखि तीन दिनपूर्व संक्रमण छ कि छैन भनेर जाँच्नुपर्ने तथा घर फर्केपछि तीनदेखि पाँचदिनभित्र पुन परीक्षण गर्नुपर्ने पनि जनाएको छ । त्यसरी यात्राबाट घर फर्केकाहरुले पनि आफ्ना गैर जरुरी गतिविधिहरुलाई अन्त्य गर्नुपर्ने पनि सीडीसीले जनाएको छ ।

छोट्याइएको क्वारेन्टिनको समयावधि मानसहरुको लागि सहज हुन सक्ने, त्यसले आर्थिक असरलाई कम गर्न सक्ने र त्यसको स्वीकार्यतालाई बढाउन सक्ने अधिकारीहरुले जनाएको छ । स्मरणीय के छ भने अमेरिकी जनमत कोरोना संक्रमणको सवालमा विभाजित छन् । कतिसम्म भने आगामी जनवरी २० पछि सत्ताबाट बाहिरिँदै गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोनाभाइरसका सवालमा विज्ञानविरोधी विचार राख्ने गर्छन् र दुर्भाग्यवश अमेरिकामा उनका समर्थकहरुका संख्या पनि निक्कै विशाल मात्रामा छन् । लकडाउन, क्वारेन्टिन, मास्कको प्रयोग, भौतिक दूरी जस्ता कुराहरुमा विवादास्पद भनाइ र विचार राख्दै आएका अमेरिकी राष्ट्रपति ट्रम्प र उनका अन्ध समर्थकहरुका लागि पक्कै पनि सीडीसीको यो नयाँ मापदण्डले क्वारेन्टिनमा बस्नुपर्ने कुरामा केही सहमत गराउँला कि भनेर अपेक्षा गर्न सकिन्छ ।

विभिन्न अध्ययनहरुले के देखाएको छ भने कोरोना भाइरस संक्रमणको औसत इन्क्युवेसन पिरियड (भाइरस विकसित भएर सक्रिय हुने समयावधि) पाँच दिन हुने देखाएको छ । तर केही संक्रमितहरुमा कोरोनाभाइरसको सम्पर्कमा आएको वा संक्रमण भएको दुई हप्तासम्म पनि कुनै लक्षणहरु देखा नै नपर्न पनि सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप