शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सरकारको दिनगन्ती सुरु भयो : प्रकाशमान सिंह

बुधबार, १७ मङ्सिर २०७७, १७ : २६
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरेर सरकारले आफ्नो दिनगन्ती सुरु गरेको बताएका छन् । बुधबार गृहजिल्ला तनहुँमा पौडेल पक्राउ परेपछि सिंहले नेकपाको सरकारको असली चरित्र उदाँगो भएको बताए ।

उनले पञ्चायत र राजाको प्रत्यक्ष शासनकाल विर्साउने गरि प्रमुख प्रतिपक्षी दलको वरिष्ठ नेतामाथि नै धरपकड सुरु गरेर  नेकपाको सरकारले आफ्नो दिनगन्ती शुरु गरेकोे बताए । उनले पौडेलसहितका नेता, कार्यकर्तामाथिको धरपकड र गिरफ्तारीको घटनाको निन्दा गरेका छन् ।
 
'कार्यक्रमलाई प्रभावित गर्न सत्ताको आडमा कार्यक्रमस्थलमा निषेधाज्ञा जारी गर्ने कार्य भएको छ । नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि धरपकड गर्ने, स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, नागरिक हकविरुद्ध बाटो अवरोध गर्नेजस्ता निन्दनीय कार्य भएका छन् । यो सत्ताको चरम दुरुपयोग हो,' सिंहले भने ।

यसले नेकपा सरकारको असली चरित्र उदांगिएको उनको भनाइ छ । सिंहले तत्काल पौडेललाई ससम्मान रिहाई गर्न माग समेत गरे । नेता सिंहले पौडेललाई रिहा नगरिए काँग्रेसले सशक्त प्रतिवाद गर्ने चेतावनी दिँदै घटनाको छानबिन गर्नसमेत माग गरे ।

यस्तै नेता शेखर कोइरालाले पौडेललाई नियन्त्रणमा लिएर प्रशासनले कानुनको धज्जी उडाएको बताए । उनले ट्विटर लेखेका छन्, 'व्यास नगरपालिकाले निर्माण गरेको पूल उदघाटन गर्न गृह जिल्ला तनहुँ पुग्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर प्रशासनले कानुनी राज्यको धज्जी उडाएको छ। यस घटनाको घोर भर्त्सना गर्दै नेता पौडेललाई तत्काल ससम्मान रिहाइको माग गर्दछु।'


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप