मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय वाणिज्य बैंकले चौरजहारी नगरपालिकाका जनतालाई सहुलियतपूर्ण कर्जा दिने

बुधबार, १७ मङ्सिर २०७७, १६ : ५८
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र रुकुमको चौरजहारी नगरपालिका रुकुम बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार काठमाडौंमा सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनका लागि उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त कृषकहरुको ५–५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्ने छ ।  

नगरपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समूहलाई अधिकतम १० लाख रुपैंयासम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । 

समारोहमा सांसद जर्नादन शर्माले देश स्रोत साधनमा धनि हुँदाहुदै पर्याप्त परिचालन नभएकाले गरिबीमा बस्नु परेको हुँदा यो कर्जाले स्रोत साधनको परिचालनमा महत्वपूर्ण योगदान गर्ने बताए । उनले विदेशीका धेरै विकासका मोडल देखेको तर नेपालको माटो सुहाउँदो आर्थिक मोडलको रुपमा सहुलियतपूर्ण कर्जा बन्न सक्ने बताए । 

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बङ्गलादेशबाट सुरु भएको सामुहिक जमानीको आधारमा लगानी गरिने लघुबित्त कर्जा मोडल जस्तै सहुलियतपूर्ण कर्जा नेपालको लागि नयाँ आर्थिक मोडल बनाउनुपर्ने बताए ।

उनले देशको उत्पादन बृद्धि तथा गरिबी न्यूनिकरणको लागि सहुलियतपूर्ण कर्जालाई नमूनाको रुपमा लैजान सके देशलाई छिट्टै समृद्धिसँग जोड्न सकिने बताए । उनले राष्ट्रिय वाणिज्य बैंकले विभिन्न शिर्षकमा १६६० जनालाई एक अर्ब २८ करोड रुपैंया भन्दा बढी विना धितो सहुलियतपूर्ण कर्जा लगानी गरिसकेको बताए । राष्ट्रिय वाणिज्य बैंकले मात्रै बैंकिङ्ग क्षेत्रमा भएको सहुलियतपूर्ण कूल कर्जा लगानीको ५० प्रतिशत भन्दा बढी कर्जा लगानी गरिसकेको उहाँले बताए । नगर प्रमुख विशाल शर्माले नगरवासीको गरिबी न्यूनिकरण गरी जीवनस्तर उकास्न यो सहकार्य फलदायी हुने बताए ।
 
उक्त कार्यक्रममा राष्ट्रिय सभाका सांसद ठगेन्द्र पुरी, कर्णाली प्रदेश सरकारका सल्लाहकार अर्थविद् डा. सुरेन्द्र उप्रेती, जिल्ला समन्वयन समिति, रुकुम (पश्चिम)का संयोजक राजकुमार शर्मा, बैंकका उपकार्यकारी अधिकृतद्धय सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, कम्पनी सचिव भोलानाथ पौडेल, अन्य कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । 
                      


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप