शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब विश्वभरका धार्मिक पर्यटक पशुपति प्रवेश गराइनेछः पर्यटनमन्त्री भट्टराई

बुधबार, १७ मङ्सिर २०७७, १४ : २९
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले विश्वभरका धार्मिक पर्यटकलाई पशुपति क्षेत्र भित्र्याइने बताएका छन् । बुधबार पशुपति क्षेत्र विकास कोष र एभरेष्ट बैंकको संयुक्त आयोजनामा वातावरणमैत्री शवदाह गृह हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् । यसका लागि पर्यटन आकर्षण गर्ने गरी विकास निर्माण तथा पूर्वाधारका कामहरु अघि बढाइसकिएको मन्त्री भट्टराईको भनाई छ ।

‘अब विश्वभरका धार्मिक पर्यटकहरु पशुपति क्षेत्रमा प्रवेश गराइनेछ । त्यसका लागि आवश्यक पूर्वाधार तथा विकास निर्माणका कामहरु अघि बढाइसकिएको छ ।’ मन्त्री भट्टराईले भने, ‘यसबाट भाग्ने र लुक्ने अब कसैलाई छुट छैन ।’ सो अवसरमा मन्त्री भट्टराईले पशुपति क्षेत्र विकासको प्रस्तावित गुरुयोजनालाई अन्तिम रुप दिन मन्त्रालयले प्राविधिक समिति समेत गठन गरिसकेको जानकारी दिए । समितिले स्थानीयवासी लगायत सरोकार निकायसँग छलफल गरी तीन महिनाभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्ने छ ।

केभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहिरहेको अवस्थामा धार्मिक स्थलहरु खोल्ने विषयमा बोल्दै मन्त्री भट्टराईले मन्त्रिपरिषद्को निर्णयले धार्मिकस्थल खोल्न दिने निर्णय गरिसकेको अवस्थामा आवश्यक स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक, सांस्कृतिक सम्पदालाई खोल्नुपर्ने बताए । 

यता पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले पशुपति क्षेत्रमा शवदाह गर्नेको संख्या बढ्न थालेकाले विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा शवदाह गृह बढाउन लागिएको बताए । बैंकले रु ७५ लाखको लागतमा थप एक शवदाहगृह निर्माण गरी बुधबार कोषलाई हस्तान्तरण गरेको छ ।

वातावरणमैत्री उक्त शवदाहगृहमा १०० देखि १५० केजी दाउरामा शव जलाउन सकिने बताइएको छ । हाल भष्मेश्वर र आर्यघाटमा शव जलाउँदा कम्तीमा ४०० केजी दाउरा लाग्ने गरेकोमा यसले ठूलो परिमाणमा दाउरा, समय र वातावरणकै बचत गराउने कोषको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप