शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा मीटू अभियानको दिशा र दशा निश्चित गर्ने मुद्दा

बुधबार, १७ मङ्सिर २०७७, १४ : २५
बुधबार, १७ मङ्सिर २०७७

चीनको अदालतमा बुधबार एउटा यस्तो मुद्दाको सुनुवाई भइरहेको छ । यो मुद्दा यसकारण चर्चामा छ, किनभने यसले देशको मीटू आन्दोलनको भविष्य निश्चित गर्नसक्छ ।

झोउ शियोक्सआन उर्फ शायनजी एक चर्चित टिभी उद्घोषकविरुद्ध अदालत पुगेकी छिन् । ती टिभी उद्घोषकले आफूलाई सन् २०१४ मा उनको यौन शोषण गरेको उनले दाबी गरेकी छिन् ।

तर टिभी उद्घोषकले भने यी सबै आरोप अस्विकार गर्दै आएका छन् र उनले पनि शायनजी र उनका समर्थकविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका छन् ।

जानकारका अनुसार चीनमा कुनै मुद्दा यो चरणसम्म पुगेको यो पहिलो मामिला हो ।

मुद्दाको सुनुवाई सार्वजनिक हुने छैन । सुनुवाईअघि शायनजीले बीबीसीसँगको कुराकानीमा जे सुकै भएपनि यसका लागि पछुतो नलाग्ने उनले बताएकी छिन् ।

उनले भनिन्, ‘यदि मैले जितेँ भने यसले धेरै महिलालाई अगाडि आएर आफ्नो कहानी भन्ने मौका प्रदान गर्नेछ । यदि मैले हारेँ भने पनि मैले न्याय नपाउञ्जेल अपिल गरिरहनेछु ।’

सन् २०१८ मा हलिउड निर्माता हार्वी वाइन्स्टाइनविरुद्ध थुप्रै मुद्दा सार्वजनिक भए तब शायनजीले आफ्ना साथीलाई साथ दिँदै आफ्नो अनुभव पनि विच्याटमा लेख्नेबारे सोचिन् ।

त्यतिबेला २५ वर्षकी शायनजीले आफ्नो सन् २०१४ को अनुभव ३ हजार शब्दको एक लेखमा वर्णन गरेकी थिइन् । उनका अनुसार उनी चिनियाँ मिडिया च्यानल सिसिटिभीमा इन्टर्नशिप गर्दाताका चर्चित कार्यक्रम प्रस्तोता झु जुनले उनको यौन शोषण गरे ।

शियांजीका अनुसार उनले पुलिसमा पनि मुद्दा दर्ता गरेकी थिइन् तर झु एक चर्चित टिभी होस्ट भएको र समाजमा उनको निकै मान सम्मान भएकोले प्रहरीले उनलाई आफ्नो आरोप फिर्ता लिन भनेका थिए ।

शायनजीको लेख चीनको इन्टरनेटमा छिट्टै भाइरल भयो जब उनकी एक एनजीओमा कार्यरत साथी शू चाओले आफ्नो विबो अकाउन्टमा यो सेयर गरिदिइन् ।

त्यतिबेला अमेरिका र यूरोपमा मीटू आन्दोलनका कारण चिनियाँ मिडियामा पनि यौन शोषणमाथि चर्चा सुरु भइसकेको थियो र चीनमा पनि यससम्बन्धि केही ऊजुरी पनि परिसकेको थियो ।

गत वर्ष जनवरीमा बेइजिङ युनिभर्सिटीका प्राध्यापकलाई पूर्व विद्यार्थीले यौन शोषणको आरोप लगाएपछि जागिरबाट निकालिएको थियो ।

केही महिनापछि एक चर्चित च्यारिटी संस्थाका संस्थापकले पनि आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो ।

उनीमाथि सन् २०१५ मा एक फन्डरेजिङ कार्यक्रमका बेला एक स्वयंसेवकको बलात्कार गरेको आरोप लागेको थियो ।

चिनियाँ मिडियाले शायनजीको ऊजुरीमा रुची देखायो किनभने जुन व्यक्तिमाथि उनले आरोप लगाएकी छिन्, उनी निकै लोकप्रिय छन् ।

थुप्रै महिला र पुरुषले आफूलाई शायनजीको कुराको विश्वास नै नलागेको बताइरहेका छन् ।

यसको केही हप्तापछि शायनजी र शू चाओमाथि  कार्यक्रम प्रस्तोता झुले मानहानीको मुद्दा दर्ता गरेका छन् । यसपछि यो मुद्दा थप चर्चाको विषय बनेको छ ।

शायनजीले त्यसपछि देखि नै आफूलाई यौन शोषणका हज्जारौं पीडित महिला–पुरुषले सोसल मिडियामार्फत् सम्पर्क गरेको बताएकी छिन् ।

शायनजीले बीबीसीलाई भनिन्, ‘मलाई यसले धेरै क्षती पुर्यायो । एकपटक त उनीहरुले मलाई कुनै मानसिक रोग भएको बताए । आफू पूर्ण रुपमा ठिक छु भनेर मैले प्रमाणित नै गर्नुपर्यो ।’

‘प्रमाण जम्मा गर्ने प्रक्रियामा मैले आफ्नो अनुभव बारम्बार बाँच्नु पर्यो । हरेक पटक यातना र अपमान महसुस हुन्थ्यो ।’

शू चाओ हाल बेलायतमा पढिरहेकी छिन् । उनले बीबीसीसँगको कुराकानीमा यदि अदालतले झुको पक्षमा निर्णय सुनाए आफू र आफ्नी साथीमाथि मानहानीको मुद्दा चल्ने बताइन् ।

उनले भनिन्, ‘तर म यी आरोपसँग लड्न तयार भइरहेकी छु, टाढैबाट पनि किन लड्न नपरोस् ।’ – बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप