ad
केन्द्रीय संस्करण
अन्तरवार्ता

राजनीतिमा सांस्कृतिककर्मीको प्रयोग स्वार्थका लागि मात्र भयो

सत्तामा हुँदा हाम्रो कुरा सुनिँदैन, सत्तामा नहुँदा हामीले सहयोग गर्नुपर्छ : तीर्थ थापा

person explore access_timeमंसिर १७, २०७७ chat_bubble_outline0

 

काठमाडौँ । पुराना फिल्म निर्देशक हुन् तीर्थ थापा । ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जुली’ लगायत फिल्म निर्देशन गरेका उनी फिल्म क्षेत्रमा कलाकार, निर्माता, निर्देशकका रूपमा चिनिदै आएका छन् । नाट्य क्षेत्रबाट कलाकारिता गर्दै फिल्म क्षेत्रमा होमिएका उनले विसं २०५१ देखि २०५४ सम्म सडक नाटक लिएर चेतना फैलाउन देशका थुप्रै  जिल्ला पुगेका छन् । नाटकमा अभिनयदेखि निर्देशनसम्मको जिम्मेवारी निर्वाह गर्दै आएका वरिष्ठ चलचित्रकर्मी थापा पछिल्लो समय नेपाली काँग्रेस निकट कलाकर्मीको शुभेच्छु संस्था नेपाल सांस्कृति सङ्घको केन्द्रीय अध्यक्ष पनि हुन् ।

२०६२ सालमा स्थापना भएको सांस्कृतिक सङ्घको जग बसाल्ने काम भने २०५३, ०५४ सालतिर गिरिजाप्रसाद कोइरालाले गरेका थिए । तर संस्थाका रूपमा पूर्णता भने २०६२ मा पाएको हो । २०६३ सालमा भने नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले शुभेच्छुक संस्थाको रूपमा मान्यता दिएको थियो ।

उनी अहिले यो संस्थालाई पार्टीको भ्रातृसंस्थाको मान्यता दिलाउने अभिनयमा लागेका छन् । साथै थापा संस्कृतिक सङ्घमा आबद्ध मात्र होइन पूरै देशका कलाकर्मीको अवस्था सुधारका लागि केही न केही अभिनयानमा पनि । यता माउ पार्टी काँग्रेसको आसन्न १४ औं महाधिवेशनबाट संस्कृतिक सङ्घ पनि अछुतो छैन ।

काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सांस्कृतिक सङ्घले खेल्ने भूमिका, सङ्घलाई भ्रातृसंस्थाको मान्यता दिलाउने पहल र समग्र सांस्कृतिककर्मीको उन्नतिका लागि अब खेल्ने भूमिकाका विषयमा थापासँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

नेपालको सांस्कृतिक क्षेत्रको वर्तमान अवस्था कस्तो छ ?

– नेपालको सांस्कृतिक क्षेत्र अपरिपक्व छ । हामी कही पनि बोल्नु हुँदैन । सांस्कृतिककर्मी सबैका हुन्छौँ । म लोप हुँदा पनि वा मलाई समस्या पर्दा पनि बोल्नु हुँदैन भन्ने फिलिङ्स छ । बोल्दा राजनीतिक प्रभाव पर्छ कि भनेर डराउनुपर्ने हुन्छ । त्यसैले आफ्ना हक अधिकार संरक्षण गर्ने र सम्मानका कुरा सांस्कृतिककर्मीले गर्न सकिराखेको अवस्था छैन ।

अर्को कुरो राजनीतिज्ञले पनि सांस्कृतिकर्मीलाई प्रयोग मात्र गुर्नुभयो । चुनाव प्रचारप्रसारका लागि कविता, गीत गाउन, नच्न लगाएर मान्छे जम्मा गाराउने बाहेक केही काम छैन भन्ने बुझाइ उनीहरुमा देखियो । यता राज्यले पनि त्यही ढङ्गले हे-यो । सकेजति प्रयोग गर्ने हो यसको दुरगामी प्रभाव छैन भन्ने फिलिङ्स रह्यो ।

राजनीतिज्ञ र राज्यको उपेक्षा त छँदैछ । सांस्कृतिक क्षेत्रको वर्तमान अवस्था र समस्या के के छन् त ?

–सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व कही पनि छैन । पार्टी र राज्यभित्र यसको प्रतिनिधित्व नहुँदा समस्याका कुरा उठ्नै पाउँदैन । बोलिदिने मान्छे र बोल्ने ठाउँ भएन । बोल्ने ठाउँमा कुनैै पनि प्रकारको सहभागिता रहेन । त्यसैले नेपालको सांस्कृति क्षेत्र शून्य विन्दुमा रहेको मैले देखेको छु ।

लामो समयदेखि लोकतन्त्रमा आस्था राख्ने सांस्कृतिककर्मीको तपाईंले नेतृत्व गरिराख्नु भएको छ । सांस्कृति क्षेत्रको समास्याको सम्बोधनका लागि केकस्तो पहल कदमी भइरहेका छन् ?

–यसका लागि पार्टीभित्र (नेपाली काँग्रेस) छिर्यौं । त्यो गलत थियो भन्ने कुरा आयो । तर लोकतान्त्रिक पार्टीमा सांस्कृतिककर्मीको सम्मान हुन्छ, सुरक्षा हुन्छ, यसको पहिचान पनि हुन्छ । यसका सबै कुरा समाधान हुनसक्छ भन्ने विश्वासका साथ डेमोक्रेटिक विद्यार्थी भएकाले यतातिर आएँ ।

त्यसपछि सांस्कृतिक क्षेत्रलाई कहीँ न कहीँ आरक्षण दिनुपर्छ है भनेर पार्टीभित्र ज्ञापनत्र लिएर गरौँ । यसको प्रतिनिधित्वका लागि कही न कही ठाउँ चाहियो भनेर माग पनि प्रस्तुत गरौँ । पार्टीका निकायमा हाम्रो प्रतिनिधित्व खोजेका हौँ । पार्टीको जिल्ला कार्यसमितिमा सांस्कृतिक सङ्घको सभापतिलाई सदस्य बनाउन सकिँदैन ? त्यहाँको संस्कृतिबारे उसले बोल्छ नि ? यसले पार्टीलाई सहयोग गर्छ भनेर सहभागिता गराउँदा समस्या देखिन्थ्यो । अनि त्यसको सम्बोधन हुन्थ्यो । संविधानले दिएको अधिकार पनि पार्टीहरुले सांस्कृतिककर्मीलाई दिएका छैन ।

राजनीतिक दलको महाधिवेशन र आमचुनावमा प्रयोग हुनुभयो । त्यसपछि तपाईंहरुको उपस्थिति जबरजस्त हुन नसकेकाले दलहरुबाट उपेक्षा भएको हो कि ?

–हो । हाम्रो पनि कमजोरी छ । हामी पनि कमजोर छौँ । किन कमजोेर छौँ भने हामी पार्टीका दास भइदियौँ । म फलानो नेताको पछाडि गएँ भने मैले ठाउँ पाउँछु । यसले मलाई रुचाइदिन्छ । यसले भोलि जिल्लामा प्रतिनिधि बनाइदेला भन्ने दास प्रवृत्ति हामीमा पनि देखियो । एउटा व्यक्तिले केही पनि हँुदो रहनेछ । समूह दास भइदिएपछि केही गर्न नसकिँदो रहेछ ।

हिजो पनि कलाकारहरु दरबारको दास थिए । अहिले पनि अधिकांश कलाकार राजा नै चाहिन्छ भनेर हिँडिरहेका छन् । त्यो प्रवृत्तिबाट त्यो संस्कृति र संस्कारबाट हुर्किएको कलाकार संस्थाहरु आज पनि त्यही प्रवृत्तिमै छन् । त्यसैले हामीले हाम्रा हक अधिकार खोज्न डराउँछौँ ।

यो प्रवृत्तिको जिम्मेवार तपाईं कति ?

–हो । हामीले पनि बोलेनौँ । हामीले नेतालाई मात्र गाली गरेर भएन । हामीले ठाउँ दिएन भनेर सुख पाइँदैन । ठाउँ दिने वातावरण बनाउनुपर्यो । सांस्कृति सङ्घ स्थापन भएको १४ वर्षमा स्पेस त दिन्छ नि । काँग्रेसको एउटा कार्यक्रममा जाँदा सांस्कृतिक सङ्घको अध्यक्ष ठाउँ दिने कुराको विकास भएको छ ।

तर हामीले हाम्रो कुरा राख्न सधैँ डरायौँ । सधैँ दास प्रवृत्तिबाट हुर्कियौँ । नेपाली काँग्रेसको सरकार हुँदा धेरैबाट सञ्चारमन्त्री होस् संस्कृति मन्त्री होस् चाहे प्रधानमन्त्री होस् । धेरै पटक केही साथीहरु गएर ज्ञापनपत्र दियौँ । कम्तीमा हाम्रो संस्थाबाट सिफारिस गरिएको वा सोधेर नियुक्त गर्नुहोस् भनौँ । तर उहाँहरुले खल्तीबाट राखिदिनुभयो । तीर्थ थापाले काँग्रेसमा १४ वर्ष बिताउँदा पनि यसले भनेको कसले पत्याउँदो रहेनछ भन्ने अवस्था बन्यो । सत्तामा हुँदा हाम्रो कुरा सुनिँदैन सत्तामा नहुँदा पार्टीलाई सहयोग गर्न आइदिनुपर्यो भन्छन् । छोडेर कही जान सकिँदैन । आफ्नो कर्म गरिराखेका छौँ ।

पार्टीबाट केही पाएनौँ भन्ने तपाईंको गुनासो छ । आफूले पार्टीलाई केही दिएको प्रत्याभूति गराउन सक्नु भएको छ के ?

–हामीले त्यो गराउन नसकेरै नपाएको हो कि ? मैले सबै दिए भन्ने कुरा पनि होइन । हामीसँग मास बटुल्ने अपेक्षा गरियो । त्यसको व्यवस्था हामीले गर्यौँ । गीत गाएर हुन्छ कि, हसाएर हुन्छ कि मान्छे बटुल्ने काम गरियो । लोकतन्त्र, नेपाली काँग्रेससँग सम्बन्धी थुप्रै गीत हामीले बनाएका छौँ । त्यो प्रचार प्रसारमा महत्त्वपूर्ण कुरा हो ।

यतिबेला काँग्रेस १४औँ महाधिवेशनको सँघारमा छ । तर माउ पार्टीमा समयमा अधिवेशन गर्न नसकेका भ्रातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमा सहभागी नगराउने सहमति भएको भनिएको छ । सांस्कृतिक सङ्घले समयमा अधिवेशन गर्न सकेको छैन । यसलाई कसरी हेर्नु भएको छ ?

–लोकतान्त्रिक पद्धति भएको पार्टी नेपाली काँग्रेसमा भोट हाल्न नपाउने व्यवस्था अन्याय हो । काँग्रेसको पार्टी विधानमा दूरदर्शी कुरा राख्न नसक्ने नेताले गरेको अन्याय हो यो । भ्रातृ तथा शुभेच्छु संस्थाका प्रतिनिधिले जाने ठाउँ पार्टीको केन्द्रीय समिति होइन । किन बन्देज गरियो ? प्रतिस्पर्धामा किन डराएको ? नेताहरुको डरका कारणले बन्देज लगाइएको हो । अर्को कुरा अधिवेशन नगरेरका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिले पार्टी महाधिवेशनमा मताधिकार नपाउने भन्ने कुरा आयो । त्यो दुखद् कुरा हो । नेपाली काँग्रेसको केन्द्रीय समितिको म्याद चार वर्षका लागि थियो । गत फागनुमै म्याद सकियो । फेरि थपियो । त्यो कमिटीले गरेको निर्णय कति जायज हो । कत्तिको न्याय सङ्गत छ । उहाँहरुले म्याद सकिएको समितिबाट गरेको निर्णय मान्नुपर्ने ? यो अन्याय भइरहेको छ, गलत कुरा हो ।

कसैको स्वार्थका लागि यस्तो गर्नु राम्रो होइन । जबसम्म पार्टीका नेताहरुमा यस्तो स्वार्थ रहन्छ तबसम्म काँग्रेस बलियो हुँदैन । गत माघमा सांस्कृतिक सङ्घको म्याद सकिएको थियो । ६ महिना म्याद थप्ने विधानमै व्यवस्था छ ।

पाँच जनाको कमिटीलाई विस्तार गर्न नसक्दा म्याद थप्नु परेको थियो । कमिटी बनाउन हरेक क्षण नेताका पछि दौडिनुपर्यो । हामी बनाउछौँ भन्दाभन्दै कमिटी बनाउनै दिइएन । पार्टीको गुटगत समस्याले नसकेपछि म्याद थप्नुपर्यो । त्यसपछि कोरोनाका कारणले अधिवेशन गर्न सकिएन ।

अनि काँग्रेसको १४औँ महाधिवेशन सफल पार्ने कुरा हाम्रो पहिलो प्राथमिकता भनेर वैशाखसम्म म्याद थप गरिएको छ । समावेशी र सहभागिता मूलक संविधानअनुसार पार्टीका विधान बन्ने हामीलाई बन्देज गर्ने ? लोकतान्त्रिकबाटमा यो न्यायसङ्गत कुरा भएन ।

काँग्रेसका १४औँ महाधिवेशनलाई सांस्कृति सङ्घले कसरी हेरेको छ ? उसको उपस्थिति कस्तो रहन्छ ?

–यसलाई सफल पार्नुपर्छ । यो महाधिवेशनमा सांस्कृति सङ्घका साथीहरु प्रत्येक जिल्लाबाट एक एकजना प्रतिनिधि ल्याउने प्रयास छ, हामी ल्याउँछौँ पनि । डेढ सय जना नेपाली काँग्रेसको प्रतिनिधि सांस्कृतिकर्मी नै आउँछन् ।

यत्रो सङ्घमा प्रतिनिधि ल्याउन सम्भव होला र ?

७७ जिल्लाका हाम्रो सङ्गठन छ । ७७ जिल्लाका सङ्गठित साथीहरु क्रियाशील सदस्य छन् । उनीहरु पार्टीको हरेक निकायमा चुनाव लड्न पाइहाल्छन् । त्यसका लागि अप्ठ्यारो छैन ।

चुनवाबाट जितेर आउन सबैलाई छुट छ । आरक्षणका रूपमा ल्याउन खोज्नुभएको हो कि भन्न खोजेको ?

आरक्षणका रूपमा भने सम्भव छैन तर हामीले त्यो माग गरेका छौँ । नेपाल सांस्कृतिक सङ्घको मुख्य माग भ्रातृ संस्था बनाई पाऊँ भन्ने छ । त्यसपछि ७७ जिल्ला र एक सय ६५ वटा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको विधानै सांस्कृतिक क्षेत्रको आरक्षणमा एकएक सिट चाहिन्छ भनेर पार्टीमा १० वटा निवेदन दिएका छौँ । त्यो माग कहाँ पुग्यो थाहा छैन ।

सांस्कृतिकर्मीहरुले कुनै पार्टीप्रति शुभेच्छा प्रकट गर्ने कुरा ठीकै होला । भ्रातृ संस्थामै जोडिएर राजनीति गर्न खोज्दा राम्रो देखिएला त ?

स्वाभिमान देखाए मात्र हुँदैन रहेछ । सम्बन्धित ठाउँमा नपुग्दासम्म समस्या समाधान गराउन नसकिने रैछ । आरोप अहिले पनि खेपिरहेका छौँ । पार्टीको हस्तेपक्ष अहिले पनि छ । पाँच सदस्यी समितिमा पाँच नेताको प्रतिनिधित्व छ ।

स्वायत्त संस्थामाथि यस्तो हस्तक्षेप किन भएको जस्तो लाग्छ ?

काँग्रेस बलियो हुनुपर्ने भन्ने हाम्रो भावनालाई पार्टीका नेताले बन्देज गर्नुभयो । जसरी महाधिवेशन प्रतिनिधि हुन पाउँदैनौ भनिएको छ ।

तपाईंले पार्टीका नेताले बन्देज गरे भन्नुभयो । पार्टीको विधानले तपाईंलाई स्वतन्त्र छोडिदिएको छ । त्यसमा टेकेर आफ्ना गतिविधि गर्न गक्नुहुन्थ्यो नि ?

–यसलाई रोक्न फरक ढङ्गले लागेका छौँ । सभापतिको भेला गरौँ । पार्टीका विभिन्न क्रियाकलापमा सहभागी भयौँ । पार्टीको सन्देश लिएर अब सात प्रदेशमा हिँड्दै छौँ । हाम्रो गतिविधि कम भएका छनन् । तर पार्टीभित्र दास मानसिकतालाई रोक्न सकिएन ।

 यस्तो आज मात्र हो कि हिजो पनि थियो ?

–यो सांस्कृतिक सङ्घको स्थापना गर्ने गिरिजाप्रसाद कोइरालाले मुलुकलाई के दिनुभयो  । के लानुभयो म त्यतातिर जान चाहन्न । गिरिजाप्रसाद कोइरालासँग जसरी काम गर्न सजिलो थियो । त्यसपछि हामीले त्यो पाएनौँ । नेतासँग गएर आफ्ना कुरा राख्नै पाएनौँ । सभापतिकहाँ भयो दुई मिनेटमा आफ्ना कुरा सक्नु भन्नुहुन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.