मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मान्छेले नूनको प्रयोग कहिलेदेखि गर्न थाल्यो ?

मङ्गलबार, १६ मङ्सिर २०७७, २१ : ५८
मङ्गलबार, १६ मङ्सिर २०७७

आजभोलि संसारभरि नै खानेकुरालाई स्वादिलो बनाउनको लागि नूनको प्रयोग गर्ने गरिन्छ । मानिसको खानामा नून एउटा अभिन्न अंग बनिसकेको छ । नूनको स्वाद चाखिसकेको कसैले पनि नूनबिनाको खाना रुचाउन सक्दैन ।

तर नूनको बारेमा थाहा नपाएका प्राचीन कालका मानिसहरु चाहिँ के गर्थे होलान् त ? उत्तर सहज छ– उनीहरु नूनबिना नै खानेकुरा खाने गर्थे ।

वास्तवमा, अमेरिका तथा संसारका कतिपय ठाउँका मानिसहरुलाई यूरोपियनहरुले खानेकुरामा नूनको प्रयोग गर्न सिकाएका थिए । अझै पनि मध्य अफ्रिकाका कतिपय स्थानहरुमा नूनलाई विलासिताको वस्तु मानिन्छ । त्यहाँ नूनलाई धनी मानिसहरुले मात्रै उपयोग गर्न सक्छन् ।

हाम्रो शरीरमा नून अति आवश्यक छ । तर दूध खाने तथा मासुलाई काँचै वा पोलेर खाने समुदायको लागि थप नूनको आवश्यकतै पर्दैन । उनीहरुले शरीर विकासको लागि आवश्यक पर्ने मात्राको नून, त्यही दूध र मासुबाट नै पाइरहेका हुन्छन् । तर शाकाहारी तथा मासुलाई उसिनेर खानेहरुका लागि भने थप नूनको आवश्यकता पर्दछ ।

मानिसले घुमन्ते जीवन त्यागेपछि नूनको प्रयोग गर्न थालेको पाइन्छ । विशेष गरेर खेतीपातीको युगमा प्रवेश गरेपछि मानव जीवनमा नून अभिन्न अंग बन्न पुगेको देखिन्छ ।

त्यसो त मानव जीवनमा नूनको महत्व खानालाई स्वादिलो बनाउने वा शरीरलाई आवश्यक पर्ने तत्वको अर्थमा मात्र सीमित छैन । यसको आफ्नै सांकेतिक महत्व पनि रहेको पाइन्छ । प्राचीन कालमा देउतालाई बली दिँइदा बलीको साथै नून पनि दिने गरिन्छ । त्यसबेला नूनको आफ्नै विशेष धार्मिक महत्व रहेको पाइन्छ ।

खानेकुरालाई लामो समयसम्मका लागि सुरक्षित गर्नको लागि पनि मानिसहरुले नूनको प्रयोग गर्ने गरेको पाइन्छ । नूनको यही गुणले गर्दा यसलाई लामो समयसम्म सुरक्षित रहने वस्तुको प्रतीकको रुपमा पनि लिने गरेको पाइन्छ । एक समयमा यूरोपतिर कुनै पनि सम्झौता वा लिखत गर्नुपर्दा नून हालेको खानेकुरा खाएर तथा खुवाएर गर्ने गरिन्थ्यो । यसो गर्दा त्यो सम्झौता वा लिखत पक्का र दिगो कालसम्मको लागि भएको मानिन्थ्यो । हाम्रै नेपाली समाजमा पनि कसैकोमा नून हालेको खाना खाएपछि उसको भलाइ मात्रै गर्नुपर्छ भन्ने मान्यता कायमनै रहेको छ । भनाइ नै छ– नूनको सोझो गर्नू ।

नूनको महत्व मानिसले बुझ्दै गएपछि यसको व्यापारिक महत्व पनि स्थापित हुँदै गयो । रोचक त के छ भने, इटालीको एउटा प्राचीन सडकको नाम नै नूनको बाटो (Via Salaria) रहेको छ । यसको नाम यस्तो हुनुको कारण चाहिँ प्राचीन कालमा त्यही बाटो भएर नून ल्याउने गरिनाले हो ।

हामीले कतै काम गरेवापत लिने मासिक तलबलाई अंग्रेजी भाषामा Salary भनिन्छ । यो शब्द पनि नूनबाट नै आएको हो । प्राचीन रोमनकालमा सैनिक वा अफिसरहरुलाई तलबको साटोमा नून नै दिने गरिन्थ्यो । यसबाट पनि त्यसबेला नूनको कति व्यापक महत्व थियो भन्ने अनुमान गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप