बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डतिर झम्टदै ओलीले भने- ‘प्रस्तावमा छलफल हुँदैन, मैले जवाफ दिइसकेको छु’

मङ्गलबार, १६ मङ्सिर २०७७, १९ : ५१
मङ्गलबार, १६ मङ्सिर २०७७

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुनः बैठक बाहिरैबाट सहमति खोज्न आग्रह गरेपछि मंगलबारकोे सचिवालय बैठकमा नेताहरुबीच भनाभन भएको छ । कार्तिक २८ मा कार्यकारी अध्यक्ष प्रचण्ड र मंसिर १३ मा ओलीले पेश गरेका प्रतिवेदनमाथि औपचारिक छलफल गर्न बसेको बैठकमा ओलीले छलफल बैैठककै औचित्य नभएको भन्दै यदि छलफल गर्नै परे अलि दिनपछि गर्ने बताएका थिए । यसरी ओलीले पुनः बैठक छल्न खोजेपछि धेरैजसो नेताहरुले प्रतिवाद गरेका थिए ।

महासचिव विष्णु पौडेललाई दुवै अध्यक्षले केक खुवाएपछि अध्यक्ष प्रचण्डले बैठक प्रारम्भ हुन्छ भन्नासाथ अध्यक्ष केपी ओलीले प्रचण्डतिर हेर्दै आजको ‘एजेण्डा के हो ?’ भनेर सोधेका थिए । ओलीले एजेण्डा सोधेपछि ‘दुवै दस्तावेजमाथिको छलफल आजका कार्यसूची हुन्’ भनेपछि ओलीले ‘पहिला म बोल्छु’ भन्दै आफ्ना कुरा राख्न सुरु गरेका थिए । 

एक सचिवालय सदस्यका अनुसार ओलीले प्रचण्डको प्रस्तावलाई लाञ्छनापत्र फिर्ता भएमात्रै छलफल गर्न आफु तयार हुने बताएका थिए । ‘लाञ्छना पत्र फिर्ता हुनुपर्छ, म त्यो लाञ्छना पत्र मान्दै मान्दिन र त्यसमा छलफल पनि हुन सक्दैन । बहुमत, अल्पमत र कमिटी पनि मान्दिन । तपाइहरुले पार्टी फुटाइसक्नुभएको छ, अब के को पार्टी एकता ?’ ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘यो के को प्रस्ताव हो ? तपाइँहरुले लगाएका आरोपहरुको मैले जवाफ दिइसकेको छु । अब त्यसमा फेरि छलफल किन गर्ने यो हुनै सक्दैन ।’ 

प्रस्तावमाथिको छलफलका लागि बोलाइएको बैठकमा ओलीले यस्तो बताएपछि नेताहरु एकछिन अन्यौलमा परेका थिए । बैठकमा करिव ४५ मिनेट आफ्नो प्रवचन दिएका ओलीले आफुमाथि निराधार रुपमा गालीगलोज लगाएर ल्याएको आरोपपत्रमा अब छलफल जरुरी नभएको पटक पटक दोहोर्याएका थिए । ‘गालीगलोज गरेर ल्याएको आरोपपत्रको मैले जवाफ दिइसके’ आवेग र उत्तेजनासहित ओलीको जवाफ थियो । 

ओलीले यस्तो बताएपछि अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तावहरु पेश भएपछि छलफल गरेर निर्णयमा पुग्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए ।  स्रोतका अनुसार त्यसक्रममा नेताहरुबीच चर्को स्वरमा भनाभन नै भएको थियो । सुरुमै बैठक नराख्ने र छलफल नै नगर्ने ओलीको आसय व्यक्त भएपछि बैठकको माहोल केही फरक बनेको एक सचिवालय सदस्यले बताए । 

उनले भने, ‘दुवै अध्यक्षका आआफ्ना पुरानै अडान दोहोरिए । बैठकमा छलफल गरौं भन्ने बहुमत नेताहरुको भनाइ रह्यो । सहमति नहुने बैठक राख्नुको औचिय के हुन्छ र भन्ने प्रधानमन्त्री ओलीको भनाइ आयो ।’ ओलीले अडान नछोडेपछि पुनः प्रचण्ड बोलेका थिए । ‘कमरेड उत्तेजित नहुनुस् प्रस्तावमाथि छलफल सुरु भइसक्यो’, प्रचण्डले यति भन्दा नभन्दै ओली पुनः प्रचण्डतिर झम्टदै ‘कसरी हुन्छ छलफल सुरु ?’ भनेर प्रश्न गरेका थिए । 

त्यसपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले एकै स्वरमा ‘प्रस्ताव कमिटीमा पेश भएर छलफलमा गइसक्यो त्यसैले तपाईले यस्तो कुरा गर्न सुहाउँदैन’, भन्दै ओलीमाथि दवाव बढाएका थिए ।

‘पार्टीको निर्णयअनुसार प्रस्तावहरु छलफलमा गइसके, अब छलफल गर्दिन भन्न मिल्दैन र पार्टीभन्दा माथि कोही हुँदैन’, नेता नेपालको भनाई थियो । त्यस्तै उपाध्यक्ष वामदेव गौतमले ‘प्रस्ताव छलफलमा गइसक्यो अब छलफल गर्दिन भनेर हुन्छ ?’ भन्दै ओलीलाई प्रश्न गरेका थिए ।  ‘अब जे हुन्छ पार्टी कमिटी र प्रणालीमा गएर निर्णय हुन्छ’, गौतमले बैठकमा भनेका थिए । 

छलफल गर्ने कुरामा बोल्दिन: पौडेल 

केक खाएर बसेका महासचिव विष्णु पौडेल भने मंगलबारको बैठकमा अत्यन्त कममात्रै बोलेका थिए । उनले प्रस्तावमाथि छलफल गर्ने या नगर्ने भन्नेमा आफु केही नबोल्ने बताएका थिए । ‘यो छलफल गर्ने कुरामा म चाहीँ केही बोल्दिन’, पौडेलले ओलीलाई साथ दिँदै भनेका थिए । 

ओलीतिर बादल, ईश्वर छलफलकै पक्षमा

नेताहरुबीच भनाभन भएपछि अन्तिमतिर बोलेका सचिवालय सदस्य रामबहादुर थापा बादलले छलफल त भइसक्यो । जवाफ पनि आइसक्यो भन्दै अब छलफल गरिरहनुको अर्थ नहुने बताएका थिए । ‘तर प्रचण्ड कमरेडले यस्तो प्रस्ताव ल्याउनुु हुँदैनथियो’ बादल पनि ओलीतिरै ढल्केर बोलेका थिए । अर्का सचिवालय सदस्य ईश्वर पोखरेलले भने छलफल गर्न हुँदैन भनेर भन्नुको केही अर्थ छैन भनेका थिए । 

प्रचण्डले दिए धन्यवाद 

छलफल गर्ने या नगर्ने भन्नेमै नेताहरुबीच करिब दुई घण्टा भनाभन भएको थियो । जम्मा तीन घण्टा बसेको बैठकमा दुईघण्टा प्रतिवेदनमा छलफल गर्ने कि नगर्ने भन्नेमै नेताहरुले बिताएका थिए । त्यसपछि प्रचण्ड पुनः बोल्न थालेका थिए । पुनः बोलेका प्रचण्डले सबैलाई धन्यवाद दिदै पुनः छलफल अघि बढाउन आग्रह गरेका थिए ।

‘ओली कमरेड तपाइले नै फायर खोलेको हो । बैठक माग्दा तपाइले तोकआदेश लाएपछि मात्रै हामीले त्यसको प्रतिउत्तर लेखेको हो’, पार्टीमा विवाद बढ्नुको कारण खोतल्दै प्रचण्डले ओलीमा हद दर्जाको व्यक्तिवाद मौलाएको भन्दै करेक्सन गर्न सुझाव दिएका थिए । ‘हाम्रो शत्रुतापूर्ण अन्तरविरोध होइन । तपाइलेनै पुराना कुुरा कोट्याएर विवाद चर्काउन खोज्नुभयो । यसरी हुँदैन । हामी पार्टी एकता टुटन दिँदैननौ’, प्रचण्ड शालिन ढंगमा प्रस्तुत भएका थिए । 

अन्तिममा पनि ओलीले मिटिङ नराखौं भन्दै लम्ब्याउन खोजेपछि प्रचण्डले प्रस्तावमाथि छलफल गर्नैपर्ने धारणा दोहोर्याएका थिए । ‘बैठक राख्नुपर्छ । छलफल गर्नुपर्छ । पुराना कुरा हामीले के कोट्याएको होइन तपाइले कोट्याएको हो । त्यतिमात्रै होइन तपाइले पुराना हरेक निर्णय पनि उल्लङ्घन गर्नुभएको छ । आफुखुसी गरेपछि हामीले प्रतिउत्तर दिएका मात्रै हौ ।

त्यसैले प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन । तपाइको प्रस्ताव अहंकार र सर्वसत्तावादी सोचबाट आएको छ र यो कम्युनिस्ट चरित्र भन्न पनि लायक छैन’, प्रचण्डले जवाफ दिँदै भनेका थिए, ‘बरु अनौपचारिक छलफल गर्न पनि सकिन्छ तर औपचारिक छलफल रोकिदैन ।’ प्रचण्डले यति भनेपछि ओलीले पुुनः यस्ता बैठकको के काम भन्दै उठेर हिँडेका थिए । 

नेताहरुले बरु अनौपचारिक र औपचारिक दुुवै किसिमका छलफलका माध्यमबाट पार्टी विवादको निकास खोज्न सकिने बताएपछि बैठकले औपचारिक,अनौपचारिक छलफल, सम्वाद र अन्तरक्रिया गर्दै पार्टी एकताका लागि निकास खोज्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले दुवै अध्यक्षले पेश गरेका प्रस्तावमा छलफल सुरु भएको भन्दै यसबीचमा नेताहरुबीच अनौपचारिक छलफल पनि जारी रहने प्रतिकृया दिए । ‘छलफल, अन्तरक्रिया र सम्वादका प्रक्रियाहरु पनि अगाडि बढाइनेछ । साथै औपचारिक छलफल पनि अघि बढनेछ’, प्रवक्ता श्रेष्ठले बालुवाटारको मुल सडकमै उभिएर बैठकको निर्णय सुनाएका थिए । 

बैठक बुधबार पुन १ बजे बस्नेछ । प्रस्ताव र पार्टीको संकट समाधान र निकासका बारेमा गम्भिर छलफल बाँकी नै रहेको प्रवक्ता श्रेष्ठको भनाई छ ।  गत बैशाख र भदौमा पनि ओलीले बैठक राख्न र छलफल नै नगर्ने बताएका थिए । जसका कारण नेकपाभित्रको विवाद थप चुलिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप