मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

मातातीर्थमा हत्या गरेर मकवानपुरमा घरजम, ७ वर्षपछि घरमा पुग्यो प्रहरी !

हत्याको कारण विवाहेत्तर सम्बन्ध
मङ्गलबार, १६ मङ्सिर २०७७, १७ : ४५
मङ्गलबार, १६ मङ्सिर २०७७

काठमाडौं । काठमाडौंको मातातीर्थका सानोकाजी तामाङको हत्या भयो । साविक मातातीर्थ गाविस–६ बस्ने ६० वर्षीय सानोकाजीलाई आफ्नै श्रीमती र वडा नम्बर–९ घर भएका विशाल तामाङले मिलेर हत्या गरेका थिए । 
हत्याको कारण थियो–‘विवाहेत्तर सम्बन्ध ।’ सानोकाजीकी श्रीमती पूर्णलक्ष्मी तामाङ र विशाल तामाङको बीचमा विवाहेत्तर सम्बन्ध थियो । ०७० पुस २१ मा सानोकाजीले एउटा अपत्यारिलो दृश्य देखे । सो दृश्य उनका लागि काल बन्यो । 

पूर्णलक्ष्मी र विशाल घरमा आपत्तिजनक अवस्थामा भेटिए । त्यसपछि, उनीहरुबीच बाद–विवाद हुनु स्वभाविक थियो । तर, त्यही विवादको बीचमा पूर्णलक्ष्मी र विशाल मिलेर सानोकाजीको हत्या गरे । अनि, उनको शव नजिकैको जंगलमा लगेर व्यवस्थापन गरे । 

हत्या अनुसन्धानमा खटिएको तालिम प्राप्त कुकुरले संकेत गरेपछि प्रहरीले उनलाई पक्राउ गर्यो  । तर, जिल्ला अदालतको आदेशले उनी छुटेका थिए । अदालतबाट छुटेपछि उनले मातातीर्थ छाडे । मकवानपुरको मकवानपुरगढी गाउँपालिका स्थित वासपानीमा घरजम गरेर बसे । 

अपराधबाट छुट पाउन मातातीर्थको जग्गा बेचेर २८ वर्षीय विशालले त्यहाँ ६ लाख तिरेर घर–जग्गा किने । ‘त्यहीँ विवाह गरे’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्ट भन्छन्, ‘तर, मातातीर्थ फर्केनन् ।’ 
घरमा पुग्यो प्रहरी
मकवानपुरमा घरजम गरेर बसेको ७ वर्ष भैसकेको थियो । उनलाई लाग्यो, ‘अब मेरो अपराध छिप्यो ।’ तर, त्यस्तो भएन । महानगरीय प्रहरी परिसरका अनुसन्धान अधिकृतहरुले पुराना फाइल पल्टाउँदै जाँदा विशालको नाम ‘फरार’ सूचीमा भेटियो । 

उच्च अदालतले ०७४ जेठमा उनलाई १८ वर्ष ३ महिना १७ दिन कैद हुने फैसला गरेको थियो । त्यसपछि, प्रहरी उनको घरमा पुगेको हो । 
घरमा पत्नी र दुई वर्षको छोरा थिए । प्रहरीले सुराक पायो, ‘विशाल हेटौंडा महानगरपालिका स्थित फुल्केचौरमा काममा गएका छन् ।’ 

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले मकवानपुर प्रहरीसँगको समन्वयमा उनलाई पक्रेर काठमाडौं ल्यायो । विशाललाई अदालतको आदेशले सुन्धारास्थित केन्द्रिय कारागारमा थुनामा पठाएको डिएसपी प्रमेश विष्टले बताए । 

छोटो समय थुनामा बसेका विशाल र पूर्णलक्ष्मीलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएपछि सरकारी वकिल कार्यालय काठमाडौंले सो फैसला विरुद्ध पुनरावदेन गरेको थियो । घाँटी थिचेको र टाउकोमा चोट देखिएको पोष्टमार्टम रिपोर्ट थियो ।

थप प्रमाणका आधारमा उच्च अदालत पाटनले सानोकाजी तामाङको हत्यामा उनीहरु संलग्न रहेको ठहर गरेको छ । बिवाहेत्तर सम्बन्धका कारण विवाद हुँदा बाँसले टाउकोमा हिर्काएर उनको हत्या गरिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । हत्यामा संलग्न पूर्णलक्ष्मी अझै फरार छिन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंले तिहारपछि ३९ जना भन्दा बढी फरार अभियुक्तलाई पक्राउ गरेर जेल चलान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप