बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा बैठकमा ओली र प्रचण्डबीच भनाभन, ओलीको बचाउमा विष्णु पौडेल !

मङ्गलबार, १६ मङ्सिर २०७७, १७ : २०
मङ्गलबार, १६ मङ्सिर २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अधयक्ष प्रचण्डबीच मंगलबार पनि भनाभन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा ओली र प्रचण्डबीच भनाभन भएको हो । 

प्रचण्डले ओलीमाथि प्रश्नको वर्षा गर्दै प्रतिवेदन ल्याएपछि नेकपाभित्रको विवाद नयाँ चरणमा प्रवेश गरेको थियो भने ओलीले पनि प्रचण्डको काउन्टरमा प्रतिवेदन ल्याएपछि पार्टीभित्रको विवाद र नेतृत्वतहमा इगो कुन हदसम्म रहेछ भन्ने सार्वजनिक भएको थियो । दुई अध्यक्ष पार्टीको वैचारिक लाइन, नीति र एजेण्डामा भन्दा पनि व्यक्तिगत र राजनीतिक खिचातानीमा रुमल्लिरहेको उनीहरुले ल्याएको प्रस्तावबाट झल्किएको कतिपयले टिप्प्णी गर्दै आएका छन् । 

यही प्रतिवेदनका कारण र झाँगिएको विवादका बीच अब पार्टीको भविष्य के होला भन्ने अन्योलता कायमै रहेको बेला मंगलबार सचिवालय बैठक बसेको हो । साेही बैठकमा ओली र प्रचण्डबीच फेरि भनाभन भएको हो । एक सचिवालय सदस्यका अनुसार आजको बैठकमा प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान ओलीले राखेका थिए भने आफ्नो मन्तव्यका क्रममा पनि प्रचण्डमाथि शब्दबाणले घोचपेच गरेका थिए । 

यस्तै उनले प्रचण्डको प्रस्तावका कारण थप समस्या भएको भन्दै बाहिरबाटै सहमति खोजिनुपर्ने भन्दै बैठक छल्ने कुरा गरेका थिए । ओलीले बैठकबाहिरबाट समस्याको समाधान गर्ने बताएपछि प्रचण्डले प्रतिवाद गरेका थिए । बैठक कसैले पछि छल्न नमिल्ने र बैठकबाट निस्किने निचोडलाई सबैले मान्नुपर्ने बताएपछि दुई अधयक्षबीच भनाभनको अवस्था सिर्जना भएको थियो । 

प्रचण्डले प्रतिवाद गर्दा महासचिव विष्णु पौडेलले मात्रै ओलीको पक्षमा धारणा राखेका थिए । 

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा ओली र प्रचण्डको दुबै प्रस्तावमाथि छलफल सुरु भएको औपचारिक तथा अनौपचारिक तहबाट छलफल गरेर समस्याको समाधान खोजिने बताए । उनका अनुसार बैठकमा प्रचण्ड र ओलीले आफ्नो धारणा राख्नुका साथै पार्टी विभाजन हुन नदिन सबैले प्रतिवद्धता जनाएका थिए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप