कोभिड-१९ का कारण महिलाविरुद्धको लैंगिक हिंसा बढ्योः राष्ट्रसंघ
एजेन्सी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण विश्वमा महिलाविरुद्धको लैङ्गिक हिंसा वृद्धि भएको संयुक्त राष्ट्रसंघका अधिकारीले सोमबार बताएका छन् । कोभिड–१९ का कारण विश्वका सबै स्थानमा महिला तथा बालबालिकाविरुद्धको हिंसामा वृद्धि भएको राष्ट्रसंघीय लागुऔषध तथा अपराधबारे अनुसन्धान गर्ने राष्ट्रसंघीय कार्यालय (यूनओडिसी) को अध्ययनले देखाएको छ, संस्थाका कार्यकारी निर्देशक घाडा वालाईले बताए ।
संस्थाको प्रत्यक्ष भिडियो सम्मेलनमार्फत् महिला र बालबालिकाविरुद्धको प्रतिवद्धता नामक एक कार्यक्रममा उनले भने, “महामारीका कारण आपराधिक मुद्दाविरुद्धका गतिविधि अवरुद्ध बनेको र पीडितलाई हुने सहयोगमा कमी भएको कारण महिला तथा बालबालिकाविरुद्धको लैंगिक हिंसाका घटना बढेको पाइएको छ ।”
महामारी पहिले पनि महिला तथा बालिकाविरुद्ध विभिन्न खालका हिंसा हुनुपरेको स्मरण गर्दै उनले महामारीपछि यसमा ६० प्रतिशतभन्दा बढीले वृद्धि भएको यूनओडिसीका बालाईले भने । कोभिड–१९ महामारीका समय लकडाउन र अन्य उपायहरूका कारण लैंगिक हिंसामा प्रचुर मात्रामा प्रभाव परेको यूएनओडीसीले जनाएको छ ।
राष्ट्रसंघीय महिला कार्यकारी निर्देशक फुम्जिले एमलाम्बोएनगुकाले सङ्क्रमणमा परी जीवन जोगाउन सफल अधिकांश (करिब ८० प्रतिशत) महिलाले यौनहिंसाको शिकार बन्नुपरेको बताइन् । सामाजिक तथा आर्थिक अवस्थाका कारण पनि उनीहरूले ती अपराधको सामना गर्नुपरेको तर महामारीको समयमा उनीहरूमा सामाजिक तथा आर्थिक असर अझ जटिल बनेको एमलाम्बोएनगुकाले बताइन् ।
कोभिड–१९ का कारण थप ७० लाख महिला तथा किशोरीहरूमा जटिल खालको गरिबीतर्फ धकेलेको र महिला तथा बालबालिका बेचबिखन मौलाएको उनको दावी थियो । अप्रिलमा संयुक्त राष्ट्रसंघका महासचिब एन्टिनियो गुटेर्रेसले विश्वव्यापी घरेलु हिंसा ‘रोक्न’ महिलाको सुरक्षालाई प्राथमिकता दिन आग्रहसमेत गर्नुपरेको थियो ।
अहिलेसम्म झण्डै १५० राष्ट्रले महासचिव गुटेर्रेसको आग्रहलाई सम्मान गर्दै सङ्क्रमित महिला तथा बालबालिकालाई प्राथमिकतामा राखेको बताइएको छ । यसलाई यूएनओडीसी, राष्ट्रसंघीय महिला एकाइ र अन्य सहयोगीले पनि पालना गरेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति
-
रास्वपालक्षित कानुनमन्त्रीको टिप्पणी– सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो
-
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता
-
इसेवा वालेटमा समस्या, भएको के हो ?