बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

किमले लगाए कोरोनाविरुद्धको चिनियाँ खोप

मङ्गलबार, १६ मङ्सिर २०७७, १३ : १०
मङ्गलबार, १६ मङ्सिर २०७७

उत्तर कोरियाका नेता किम जोङ उन र उनको परिवारलाई चीनले प्रयोगात्मक खोप दिएको दुई अज्ञात जापानी गुप्तचर स्रोतको हवाला दिँदै एक अमेरिकी विज्ञले दाबी गरेका छन् ।

वासिङटनमा रहेको सेन्टर अफ द नेसनल इन्ट्रेस्ट थिंक ट्यांकमा उत्तर कोरिया विज्ञ रहेका ह्यारी काजियानिसले किमसहित शीर्ष उत्तर कोरियाली अधिकारीहरुलाई खोप दिइएको बताएका हुन् । किमलाई कुन कम्पनीले निर्माण गरेको खोप प्रदान गरिएको भन्ने चाहिँ खुलाइएको छैन ।

‘किम जोङ उन, उनको परिवार र शीर्ष अधिकारीहरुलाई पछिल्लो २–३ हप्ताको अन्तरालमा खोप दिइएको छ । ती खोपहरुलाई चिनियाँ सरकारले प्रदान गरेको हो,’ काजियानिसले अनलाइन आउटलेट १९फोट्रीफाइभमा एक लेख प्रकाशित गरेका छन् । अमेरिकी मेडिकल वैज्ञानिक पीटर जे होटेजलाई उद्धृत गर्दै उनले सिनोभाग बायोटेक, कानसाइनोबाइो र सिनोफार्म ग्रुपले कोरोनाभाइरसविरुद्धको खोप निर्माण गरिरहेको उल्लेख गरेका छन् ।

सिनोफार्मले आफूले उत्पादन गरेको सम्भावित खोप चीनमा १० लाख मानिसलाई दिएको दाबी गरे पनि सार्वजनिकरुपमा कुनै पनि कम्पनीले तेस्रो चरणको परीक्षण सुरु गरेको जानकारी दिएको छैन ।

उत्तर कोरियाले हालसम्म कोरोनाभाइरस संक्रमण पुष्टि नगरे पनि दक्षिण कोरियाली गुप्तचर संस्थाले चीन र उत्तर कोरियाका जनताबीच सम्बन्ध रहेका कारण त्यसको सम्भावनालाई नकार्न नसक्ने बताएको छ । उत्तर कोरियाले जनवरीको अन्त्यमा आफ्नो सीमाहरु सील गरेको थियो ।

गत महिना माइक्रोसफ्टले उत्तर कोरियाली ह्याकरहरुले खोप निर्माणको नेटवर्कमा प्रवेश गर्न खोजेको आरोप लगाएको थियो । माइक्रोसफ्टले कुन कम्पनी भनेर नखुलाए पनि यसमा बेलायती औषधी निर्माता कम्पनी अस्ट्राजेनेका पनि समावेश रहेको रोयटर्सले बताएको छ । गत हप्तामात्र दक्षिण कोरियाले पनि खोप निर्माण कम्पनीमा उत्तर कोरियाका ह्याकरहरुको आक्रमणलाई विफल बनाएको बताइएको थियो ।

रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप