बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लैङ्गिक हिंसाविरुद्ध कविता

मङ्गलबार, १६ मङ्सिर २०७७, ०८ : ४०
मङ्गलबार, १६ मङ्सिर २०७७

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा सोमबार राजविराजमा लैङ्गिक हिंसाविरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको आयोजना र मैथिली महिला परिषद्को संयोजनमा भएको प्रतियोगितात्मक मैथिली कविता गोष्ठीमा राज राय प्रथम, पिङ्की झा द्वितीय र मीना साह तृतीय भएका छन्।

रायले ‘बलात्कार र न्याय’, झाले ‘सुरक्षित जीवनको अधिकार’ तथा साहले ‘मिथिलाको छोरी’ शीर्षकमा कविता वाचन गरे । कार्यक्रमका मूल समारोह समितिका संयोजक मनोहर पोखरेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायणलाल दास र मैथिली महिला परिषद्का अध्यक्ष शान्ति झाले प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा संयोजक पोखरेलले कोरोनालाई अपराध मान्ने समाजले बलात्कारमा मौन रहन र मिलापत्र गर्न नमिल्ने बताए। हिंसा नगर्ने र नसहने मात्र नभई हिंसा थाहा पाउने हरेकले खबरदारी गर्न आवश्यक रहेको उनको भनाइ थियो । लैङ्गिक हिंसा महिलाको मात्र समस्या नभई साझा समस्या हो भनेर बुझ्न, बुझाउन सके मात्र सभ्य समाजको निर्माण गर्न सहज हुने उनले बताए ।

कार्यक्रममा पोखरेल, करुणा झा, कार्यक्रम संयोजक प्रतिमा देव, गायिका कञ्चन झा, नारायण देवले समेत लैङ्गिक हिंसाविरुद्ध अप्रतियोगी कविता तथा गीत वाचन गरेका थिए । राष्ट्रिय गीत र गोसाउनी गीतबाट शुरु भएको कार्यक्रममा बन्दना मिश्रले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानसम्बन्धी कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा मिश्रले हिंसालाई सामान्यरूपमा लिने सोच, गरिबी, अशिक्षा, चेतनाको कमीका कारण हिंसा बढ्दै गएकाले कानूनलाई कठोर दण्डनीय बनाउन र सामाजिक सोच परिवर्तन गर्न जरुरी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप