भारतलाई चिढ्याउने हदसम्म गएर चीनले नेपाललाई काखी च्याप्छ भनेर सोच्नु गलत हुनेछ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमै रहेका बेला मित्रराष्ट्र भारतबाट गुप्तचर निकाय ‘र’का प्रमुख समन्थकुमार गोयल, सेनाप्रमुख मनोज मुकुन्द नर्भाणे र विदेश सचिव हर्षवर्द्धन शृंगला भ्रमणमा आए । भारतीय विदेश–सचिव शृंगला नेपालबाट बिदा भएको ४८ घण्टा नबित्दै चिनियाँ रक्षामन्त्री वेई फेङ्हे पनि नेपाल आइपुगे । आन्तरिक राजनीतिक विवादबाट गुज्रिरहेको नेपालमा छिमेकीहरुको प्राथमिकता के विषयमा केन्द्रीत छ ? यसै विषयमा आममानिसमाझ अजय शर्माका नामले सुपरिचित राजनीतिक विश्लेषक तथा अस्ट्रेलियाका लागि पूर्व राजदूत योगेन्द्र ढकालसँग रातोपाटीका अन्वेषण अधिकारीले गरेको कुराकानीको सम्पादित अंश ।
नेपालमा पछिल्लो समय लगातार भइरहेको मित्रराष्ट्रका विशिष्ट अतिथिहरुको भ्रमणले आशा र आशंका दुवै पैदा गरेको देखिन्छ । एकातर्फ सरकारले भ्रमणलाई ठूलो उपलब्धिका रुपमा प्रचार गरिरहेको छ, अर्कातर्फ संयमित र सतर्क रहनुपर्ने तर्क बौद्धिकवर्गले गरिरहेका छन् । तपाईंको बुझाइ के छ ?
विदेशी पाहुनाहरु र विशेषगरी मित्र देशका अतिथिहरु औपचारिक भेटघाटका लागि आउनु कुटनीतिको स्वभाविक प्रक्रिया हो । यो सामान्य प्रक्रियामै पनि प्रश्न खडा हुनुपर्ने केही आधार भने बनेका छन् । जस्तो, कालापानी विवादपछि लामो समयसम्म नेपालसँग वार्ता गर्ने रुचि नदेखाएको भारतले अहिले एकाएक किन सक्रियता देखाइरहेको छ ? नेपालसँग सम्बन्ध सुधार्ने सामान्य प्रक्रियाअन्तर्गत नै भ्रमण भएको छ वा आन्तरिक रुपमा सरकारलाई कुनै दबाब दिने काम भइरहेको छ ? यो सवाल यतिबेला टड्कारो रुपमा खडा भएको छ । फेरि, यही नै समय चीनबाट रक्षामन्त्री स्तरको भ्रमण भएको छ । यो सबै त्यस्तो समयमा भएको छ, जतिबेला सत्तारुढ पार्टीमा सत्ता संघर्ष तिव्र छ । त्यसैले, देशको राजनीतिक उथलपुथल वा राजनीतिक अस्थिरताको अवस्थामा विदेशीको भ्रमणलाई गम्भीर रुपमा हेरिनु अस्वभाविक होइन ।
इतिहासलाई नियाल्ने हो भने नेपालको राजनीतिक वृत्तमा उतारचढाव आएको बेला विदेशीहरु, विशेषगरी दक्षिणी छिमेकी भारतले सहयोगका नाममा नेपालमा हस्तक्षेप गर्ने गरेको छ । यसक्रममा उसले विभिन्न नेताहरुलाई प्रलोभन वा दबाबमा पारेर विभिन्न प्रतिबद्धताहरु गराउने गरेको इतिहास पनि छ ।
शक्तिशाली सरकार भएको अहिलेको अवस्थामा इतिहासको पुनरावृत्ति संभव छ र ?
अहिले सरकारको नेतृत्व गरिरहनु भएका केपी शर्मा ओली उहाँको पार्टीको सचिवालयमा अल्पमतमा हुनुहुन्छ । त्यसैले, केपी ओली र भारतीयबीच साँठगाँठ भएर यो भ्रमण आदान–प्रदान त भइरहेको छैन भनेर कतिपय बुद्धिजीविहरु र थुप्रै नेपाली जनताहरु यसप्रति सशंकित छन् । विगतमा नेपालमा पञ्चायतविरोधी आन्दोलन चलेका बेला भारतले एकातर्फ आन्दोलनकारीलाई सहयोग गरिरहेको थियो, अर्कोतर्फ तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह र राजा वीरेन्द्रसँग पनि सम्बन्ध सुधारका गोप्य प्रस्तावहरु आफ्ना दूतमार्फत पठाइरहेका थिए ।सम्बन्ध सुधारका ती गोप्य प्रस्ताव र शर्तहरुमा राजा वीरेन्द्र राजी भएको भए, आन्दोलनलाई सहयोग–समर्थन नगर्ने भारतको योजना थियो । तर जब, राजा वीरेन्द्रले भारतका प्रस्ताव मानेनन्, तब पञ्चायत ढल्यो । यसैलाई मध्यनजर गर्दा अहिले कतै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय शासकबीच साँठगाँठ त भइरहेको छैन ? भन्ने प्रश्न उठ्नु अस्वभाविक हैन । साँठगाँठ छैन भने वर्तमान प्रधानमन्त्रीले नक्सा, नागरिकता, नेपालको हितका विषयमा लिएको अडान र भारतीय शासकहरुको नेपालप्रतिको उपनिवेशवादी नीतिको अन्तरविरोधलाई वर्तमान सरकारले कसरी हल गर्नसक्छ ? उसको योजना के छ ? त्यसबारे नेपाली जनताले थाहा पाउनुपर्छ ।
अहिले कतै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय शासकबीच साँठगाँठ त भइरहेको छैन ? भन्ने प्रश्न उठ्नु अस्वभाविक हैन । साँठगाँठ छैन भने वर्तमान प्रधानमन्त्रीले नक्सा, नागरिकता, नेपालको हितका विषयमा लिएको अडान र भारतीय शासकहरुको नेपालप्रतिको उपनिवेशवादी नीतिको अन्तरविरोधलाई वर्तमान सरकारले कसरी हल गर्नसक्छ ? उसको योजना के छ ? त्यसबारे नेपाली जनताले थाहा पाउनुपर्छ ।
अर्को कुरा, यस क्षेत्रमा क्षेत्रीय र वैश्विक टकराव कुन अवस्थामा पुग्दैछ भन्नेतर्फ पनि हामीले ध्यान दिनुपर्छ । चीनको उदयलाई मत्थर गर्न र उसलाई घेरामा हाल्नका लागि यस क्षेत्रमा इन्डो–प्यासेफिक रणनीति (आईपिएस) मार्फत अमेरिकाले आक्रामक उपस्थिति जनाउँदैछ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत यस क्षेत्रका विभिन्न मुलुकहरुमा छिर्ने कोसिस उसले गरिरहेको छ । यद्यपि, अहिलेसम्म चाहे जसरी अमेरिका यसमा सफल हुन सकेको छैन । एमसीसी अझै पारित हुन सकेको छैन । सामान्य रुपले हेर्दा, आईपिएसलाई समर्थन गर्दै चीनलाई घेरा हाल्ने अमेरिकी नीतिमा भारतले पनि साथ दिएजस्तो देखिन्छ । यद्यपि, भारत अझै आईपिएसको सदस्य भइसकेको छैन । यता, नेपालका प्रधानमन्त्री केपी ओली आफैं एमसिसी पारित गर्नुपर्ने पक्षमा हुनुहुन्छ । त्यसैले, अमेरिका र भारतबीचको आपसी रणनीतिअन्तर्गत भारतीयहरु नेपाल आएर ओलीजीलाई सत्तामा टिकाउने खेलमा लागेका त होइनन् ? उहाँलाई पार्टीभित्रको दबाबबाट मुक्त गरेर सत्तामा टिकाउने र अमेरिकी–भारतीय प्रभाव नेपालमा बढाउने रणनीति त होइन ? सोच्नुपर्ने आधारहरु धेरै छन् ।
चिनियाँ रक्षामन्त्रीको भ्रमणबारे चाहिँ यहाँको मूल्यांकन के छ ?
यो उच्चस्तरको भ्रमण पनि भारतीय प्रतिनिधिहरुको भ्रमण लगत्तै भएको छ । आफूलाई घेरामा हाल्ने अमेरिकी नीति चीनले राम्रोसँग बुझेको छ । चिनियाँ बिआरआई परियोजनालाई प्रभाव पार्नेगरी एमसीसीलाई अमेरिकाले यस क्षेत्रमा ल्याइरहेको पनि उसलाई थाहा छ । यस्तो अवस्थामा चीनका गतिविधि नेपालको सरकार र सत्तारुढ पार्टीलाई अमेरिकी–भारतीय रणनीतिको प्रभावबाट रोक्ने दिशामा केन्द्रीत भएजस्तो मलाई लाग्छ । अमेरिका र भारतका गतिविधि नेपालमा कसरी अघि बढिरहेका छन् भन्ने वास्तविक बुझ्न पनि उसले यस भ्रमण गराएको हुनुपर्छ । अर्को कुरा, अमेरिका र भारतले गतिविधि अघि बढाइरहेका ठाउँमा आफ्नो उपस्थिति देखाउनु पनि उसका लागि महत्त्वपूर्ण हो ।
आफूलाई घेरामा हाल्ने अमेरिकी नीति चीनले राम्रोसँग बुझेको छ । चिनियाँ बिआरआई परियोजनालाई प्रभाव पार्नेगरी एमसीसीलाई अमेरिकाले यस क्षेत्रमा ल्याइरहेको पनि उसलाई थाहा छ । यस्तो अवस्थामा नेपालको सरकार र सत्तारुढ पार्टीलाई अमेरिकी–भारतीय रणनीतिको प्रभावबाट रोक्ने दिशामा चीनका गतिविधि केन्द्रीत भएजस्तो मलाई लाग्छ ।
भारतले नेपालमा अस्थिरता भइरहेको बेलामा दवाब दिन भ्रमण गर्ने गरेको इतिहास छ भन्नुभयो । सामान्यतः नेपालको आन्तरिक मामिलामा तटस्थ जस्तै रहँदै आएको चीन पनि अहिले आक्रामक रुपमा अघि आएको छ । पछिल्लो समय नेकपाको आन्तरिक विवाद बढ्नासाथ चिनियाँ राजदूतको सक्रियता पनि उच्च रहेको देखियो । यसलाई कसरी लिनु भएको छ ?
हामीले बुझ्नुपर्छ, अहिलेको चीन माओ त्से तुंगको समयको जस्तो समाजवादी चीन होइन, यो साम्राज्यवादी चीन हो । उसले देङ सियाओपिङको नेतृत्वमा दशकौंअघि समाजवादी रंग उतारेर पुँजीवादी रंग ग्रहण गरेको थियो । एक्काइसौं शताब्दीको प्रारम्भदेखि ऊ साम्राज्यवादमा आफूलाई सशक्त रुपमा विकास गरेर गइरहेको छ । र, २०१० यता पूर्णत साम्राज्यवादी मुलुकमा रुपान्तरण भइसकेको छ ।
कुनै पनि साम्राज्यवादी मुलुकको लक्ष्य विश्वभर आफ्नो प्रभाव विस्तार गर्ने हुन्छ । यहीअनुसार नै चीनले आफ्नो उपस्थिति विश्वभर फैलाउँदै लगेको हो । जस्तो, अफ्रिका, ल्याटिन अमेरिका वा नेपालमा उसको उपस्थिति बढेको छ । अहिलेसम्म उसको उपस्थित आर्थिक साम्राज्यवादमै केन्द्रीत छ । तर जब कुनै एउटा समाजवादी मुलुकले पुँजीवादी चरित्र ग्रहण गर्छ र साम्राज्यवादमा विकसित हुन्छ, त्यो अवस्थामा त्यो भोलि गएर राजनीतिक र सैन्य साम्राज्यवादसम्म पनि पुग्छ । अर्थात्, अर्थतन्त्र, संस्कृति, सैन्य क्षेत्र, राजनीति, सबै क्षेत्रमा उसले आफ्नो प्रभाव विस्तार गर्न खोज्छ ।
तर अहिले नै चीनलाई आक्रामक साम्राज्यवादी भन्ने शब्द प्रयोग गर्नु हतारो हुन्छ । अहिले विश्वमा आक्रामक साम्राज्यवाद भनेको अमेरिकी साम्राज्यवाद र उसका सहयोगी युरोपेली शक्तिहरु हुन् । नेपालमा अहिले चीन आक्रामक देखिनुको कारण चाहिँ पश्चिमा शक्तिहरुले उसलाई घेराबन्दी गरेर समाप्त गर्ने जुन कोसिस गरिरहेका छन्, त्यसलाई रोक्नु नै हो । पश्चिमाहरुको घेराबन्दीलाई रोकेर आफ्नो साम्राज्यवादी स्वार्थको रक्षा गर्ने राजनीतिक र सैन्य नीतिअन्तर्गत नै चीनको सक्रियता बढेको छ भन्ने मलाई लाग्छ ।
चीनले हाम्रो देशमा हस्तक्षेप गर्दैन, चीनसँग सम्बन्ध राम्रो सम्बन्ध राख्दा उसले भारतीय हस्तक्षेपबाट समेत मुक्त गराएर हाम्रो हित रक्षा गरिदिन्छ भन्ने पनि कतिपयलाई लागेको देखिन्छ । यो सोचाइ कत्तिको वस्तुनिष्ठ छ ?
सन् २०१५ मा लिपुलेकको बाटोमा नेपालसँग परामर्श नगरी भारतसित मिलेर चीनले सम्झौता गर्यो । यसलाई छाड्ने हो भने नेपालको सार्वभौमसत्तामा असर गर्ने कुनै काम चीनले गरेको छैन । भारतले नेपाललाई सयौं वर्षदेखि अर्ध औपनिवेशिक बनाउँदै आएको छ । सधैं उसले नेपालको ‘माइक्रोम्यानेजमेन्ट’ हातमा लिन चाहेको छ । त्यसैले कतिपयलाई लाग्छ, ‘भारतले विदेश र रक्षा नीति भूटानको जस्तो गरेर हातमा लिन चाहन्छ र हामी प्रो–चाइनिज भयौं भने यसबाट चीनले हामीलाई जोगाइदिन्छ र हामी बिल्कुल स्वतन्त्र मुलुक हुनसक्छौं ।’ धेरै राजनीतिक वृत्त र आम सर्वसाधारणलाई यस्तो लागेको हुनसक्छ । तर यस सवालमा मेरो विश्लेषण फरक छ । हामीले भारत–चीनको विवादलाई मात्रै हेरेर यसबारे धारणा बनाउनु हुँदैन, यी दुई एशियाली शक्तिलाई एकअर्काको खाँचो कत्तिको पर्छ भनेर पनि सोच्नुपर्छ ।
भारत–चीनबीचको विवादको कुरा गर्ने हो भने यहाँ दुई कुराले महत्वपूर्ण भूमिका खेलेको छ । पहिलो, तिब्बती शरणार्थीहरुलाई भारतमा आश्रय दिने, दलाई लामालाई आश्रय दिने, स्वतन्त्र तिब्बतको अभियान सञ्चालन गर्नेलगायतका वातावरण जसरी भारतबाट बन्यो, त्यो चिनियाँहरुलाई पाच्य हुने कुरा थिएन । आफ्नो सार्वभौमिकताविरुद्धको प्रहार चीनले सहन नसक्ने भएकाले दुई देशबीच स्वभाविक रुपमा द्वन्द्व बढेर गयो । दोस्रो, उनीहरुबीच विद्यमान सीमा विवाद हो । सीमा विवाद भारत र चीनबीचको मात्रै विषय नभएर वैश्विक समस्या पनि हो । सीमा जोडिएका धेरै छिमेकीबीच विश्वभर कुनै न कुनै विवाद रहिआएको छ । त्यसैले सीमा विवाद नै उनीहरुबीचको द्वन्द्वको कारण नबन्न सक्छ, त्यसलाई उनीहरुले हल गर्न सक्छन् भन्ने मलाई लाग्छ ।
अहिले भारत र चीन दुबै क्षेत्रीय शक्तिका रुपमा उदाएका छन् र भोलिका विश्वशक्ति उनीहरु नै हुन् । तर यो क्षेत्रमा दुई राष्ट्रको उदय एकसाथ भइरहे पनि क्षेत्रीय शक्ति त एउटै हुन्छ । वस्तुगत स्थितिले चीन त्यो शक्ति हो भन्ने बताइसकेको छ । तर, भारत पनि त्यस कुराको दाबेदार हो । उसले आफ्नो ठाउँ बनाउनका लागि अमेरिकाको सहयोग लिइरहेको छ । अमेरिकाका सवालमा यस क्षेत्रमा उसका पक्षमा हाल जो सहयोगीहरु छन्, उनीहरु भारतजस्तो बलिया र ठूला शक्ति होइनन्, त्यहाँबाट चीनलाई घेर्न संभव छैन । त्यसैले अमेरिकाको लक्ष्य भारतलाई साथमा लिने, भारत–चीनबीच विवाद गराइदिने, अनि भारतको सहयोगका लागि भन्दै अत्याधुनिक हतियारसहित यस क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाउने र चीनलाई घेरामा हाल्ने भन्ने नै हो । यसपछि घेरा हाल्ने काममा उसका अन्य सहयोगी (चीनका अन्य छिमेकी) पनि उपयोगमा आउनेछन् । अमेरिकाले भारतलाई इन्डो–प्यासेफिक नीतिको मुख्य खम्बाका रुपमा लिनुको कारण यही हो ।
चीनले आफूविरुद्धको अमेरिकी नेतृत्वको घेराबन्दी असफल पार्न भारतलाई अमेरिकी खेमामा जानबाट रोक्नुपर्ने आवश्यकता छ । उसले यो कुरा राम्रोसँग बुझेको छ र उसको प्रयास कुटनीतिक रुपमा केही तलमाथि भएपनि सहने, तर भारतलाई अमेरिकी खेमामा जान नदिने दिशामै केन्द्रीत छ ।
त्यसैले, चीनले आफूविरुद्धको अमेरिकी नेतृत्वको घेराबन्दी असफल पार्न भारतलाई अमेरिकी खेमामा जानबाट रोक्नुपर्ने आवश्यकता छ । उसले यो कुरा राम्रोसँग बुझेको छ र उसको प्रयास कुटनीतिक रुपमा केही तलमाथि भएपनि सहने, तर भारतलाई अमेरिकी खेमामा जान नदिने दिशामै केन्द्रीत छ ।
अर्को, वैश्विक सम्बन्धमा आर्थिक पक्षले पनि ठूलो अर्थ राख्छ । यतिबेला चीनमा पुँजी यति धेरै छ कि उसलाई कहाँ लगानी गर्ने भनेर समस्या छ । सुरक्षित लगानी उसको चाहना हो र भारत त्यसका लागि उर्वर भूमि हो । अहिले भारत विकासको बाटो अघि बढिरहेको, तर पर्याप्त पुँजी नभएको देश हो । भारतको त्यो पुँजीको आवश्यकता चीनले पूरा गर्न सक्छ । चीनले जुन सहुलियत दरमा पुँजी लगानी गर्छ, संसारमा अरु कसैले पनि गर्न सक्दैनन् । अर्को कुरा, चीन विश्वको सबैभन्दा ठूलो उत्पादक हो । उसको उत्पादन र सेवा विश्वस्तरको छ । त्यहाँ ठूलो मात्रामा वस्तु उत्पादन हुन्छ र त्यसको लागत अत्यन्तै सस्तो पर्न जान्छ । त्यही सामान अमेरिका वा भारतमा उत्पादन गर्ने हो भने महंगो पर्न जान्छ । त्यसैले जसरी भारतलाई पुँजी चाहिन्छ, त्यसरी नै चीनलाई पनि आफ्ना वस्तु बिक्री गर्न बजार चाहिन्छ । अर्को कुरा, सेवा र प्रविधि क्षेत्रमा पनि चीनले ठूलो प्रगति गरिसकेको छ । त्यो ‘एडभान्स टेक्नोलोजी’ जति धेरै सेयर गर्यो, उसको नाफा पनि त्यति नै धेरै हुन्छ । यी र यस्तै कारणले भोलिका दिनमा भारत रिसाउने हदसम्म गएर चीनले नेपाललाई काखी च्याप्छ भनेर सोच्नु वस्तुवादी हुन्छ जस्तो मलाई लाग्दैन । नेपाललाई धेरै च्याप्दा भारत रिसाउँछ र अमेरिकी खेमामा जानसक्छ भन्ने चीनलाई लाग्यो भने उसले सर्लक्कै नेपाललाई छाडिदिन्छ । यद्यपि, यस्तो अवस्था अहिले आइसकेको छैन ।
भोलिका दिनमा भारत रिसाउने हदसम्म गएर चीनले नेपाललाई काखी च्याप्छ भनेर सोच्नु वस्तुवादी हुन्छ जस्तो मलाई लाग्दैन । नेपाललाई धेरै च्याप्दा भारत रिसाउँछ र अमेरिकी खेमामा जानसक्छ भन्ने चीनलाई लाग्यो भने उसले सर्लक्कै नेपाललाई छाडिदिन्छ । यद्यपि, यस्तो अवस्था अहिले आइसकेको छैन ।
एउटा साम्राज्यवादी मुलुकको स्वार्थ नै विश्वको एक्लो महाशक्ति बन्ने, अर्थतन्त्र विस्तार गर्ने, सैन्य सामाग्री र वस्तु बेच्ने, पुँजी लगानी गरेर नाफा कमाउने, ब्याज उठाउनेलगायत हो । हाम्रा दुबै छिमेकी विकसित देश हुन् । त्यसैले हामीले आफ्नो राष्ट्रिय हित, जनताको स्वार्थ, पुँजीपति र राष्ट्रिय पुँजीवादको विकासलगायत पक्षलाई केन्द्रमा राखेर उनीहरुसँगको सम्बन्धलाई समदूरीका आधारमा निरन्तरता दिनु नै वस्तुनिष्ठ हुन्छ ।
इतिहासदेखि नै हामी भारतसँग हाम्रो सांस्कृतिक–सामाजिक निकटता रह्यो, कुटनीतिक सम्बन्ध पनि यसबाट टाढा रहन सकेन । तर, अहिलेको अवस्थामा चीन र अमेरिकाले पनि नेपाललाई उत्तिकै महत्व दिइरहेका छन् । यो अवस्थाबाट नेपालले जति लाभ उठाउनुपर्ने हो, त्यो उठाउन सकेको छ वा छैन ?
निश्चय नै हामी पहिलेदेखि नै एउटा रणनीतिक बिन्दुमा थियौं, अहिले आएर चीनको उदय र अमेरिकी आवश्यकताले हाम्रो महत्त्व अरु बढाइदिएको छ । विदेश नीति विज्ञान र कला पनि हो, त्यसैले यो अवस्थामा हाम्रो राजनीतिक र सैन्य नेतृत्व निकै कलात्मक रुपमा प्रस्तुत हुनुपर्छ भन्ने लाग्छ । तर अहिलेसम्मका उपलब्धि हेर्यौं भने निराशाजनक अवस्थामात्रै देखिन्छ । फाइदा लिने त कुरै छाड्नुस्, बरु हामी उल्टै चक्रब्यूहमा फस्दै गएका छौं । हामीले न अमेरिकालाई इजरायलले जसरी, न भूटानले भारतलाई जसरी, न उत्तर कोरियाले चीनलाई जसरी खुसी पार्न सक्यौं । जहाँसम्म अहिलेको सरकार छ, यसलाई प्रतिपक्षी नेपाली कांग्रेसले पनि चीननिकट सरकार भनिरहेको छ । तर, यही समय चीनसँगको नाका बन्द छ । मेरो बुझाइमा, यो कोरोनाले मात्रै सिर्जित अवस्था होइन । नेपाल सरकारले चीनविरोधी गतिविधिका लागि हाम्रो भूमि प्रयोग हुन नदिने प्रतिवद्धता गरेपनि त्यसमा चिनियाँ पक्ष विश्वस्त हुन नसक्दा यस्तो अवस्था निम्तिएको हो । यसलाई वर्तमान राजनीतिक नेतृत्वले गम्भिर रुपमा लिनुपर्छ भन्ने मलाई लाग्छ ।
विदेश नीति विज्ञान र कला पनि हो, त्यसैले यो अवस्थामा हाम्रो राजनीतिक र सैन्य नेतृत्व निकै कलात्मक रुपमा प्रस्तुत हुनुपर्छ भन्ने लाग्छ । तर अहिलेसम्मका उपलब्धि हेर्यौं भने निराशाजनक अवस्थामात्रै देखिन्छ । फाइदा लिने त कुरै छाड्नुस्, बरु हामी उल्टै चक्रव्यूहमा फस्दै गएका छौं । हामीले न अमेरिकालाई इजरायलले जसरी, न भूटानले भारतलाई जसरी, न उत्तर कोरियाले चीनलाई जसरी खुसी पार्न सक्यौं ।
जहाँसम्म अमेरिकाको कुरा छ, दुई वर्षअघि अमेरिकाबाट पनि नेपाल भ्रमणका लागि प्रतिनिधिमण्डल आएको थियो । १८ वर्षपछि नेपालका परराष्ट्रमन्त्रीले अमेरिकाको औपचारिक भ्रमण गरे । दुई देशका परराष्ट्रमन्त्रीबीच टेलिफोन कुराकानी पनि भयो । तर, नेपालमा यी सबै गतिविधिले उल्टै अमेरिकाविरोधी भावना पैदा भयो, एमसीसी पारित हुन सकेन । त्यसपछि, अहिले अमेरिका केही पछाडि हटेको अवस्था छ । यसको अर्थ नेपाल सरकारले अमेरिकालाई पनि विश्वासमा लिन सकेन भन्ने देखिन्छ । भारतका सवालमा त उसले आफैं नेपालको सरकारलाई चीन निकट भनिरहेको छ ।
०४६ सालदेखि नै अस्थिरताबाट गुज्रिएको नेपाली राजनीतिको कोर्सले विगत ३ वर्षयता स्थिरता हासिल गरेजस्तो देखिन्छ । यो स्थिर र शक्तिशाली सरकारले के गर्नसक्थ्यो, के गर्न सक्यो वा भोलिका दिनका के गर्नसक्छ भन्ने यहाँलाई लाग्छ ?
पहिलो, कुरा त नाम नेकपा भएपनि यो कम्युनिष्ट सरकार होइन र यसले समाजवादतर्फ लैजानसक्छ भन्ने अपेक्षा पनि होइन । झन्डै दुई तिहाई मतसहित नेकपाको सरकार बनेपछि यसले अस्थिरताको चक्र तोड्छ र स्थिरता तथा विकासको बाटोमा लैजान्छ भन्ने आमअपेक्षा थियो । तर, सरकारले गम्भिर र इमानदार भएर देश र जनताका पक्षमा काम गरेन । बहुदलीय व्यवस्थामार्फत चुनिएर आएकाले जनतासामु चुनावमा गरेका वाचा कार्यान्वयन गर्नु नै यो सरकारको पहिलो बाटो हुनुपर्ने थियो । तर, सरकार विपरीत बाटोमा छ । जनमुखी काम गर्नुको साटो सत्ता टिकाउनमै उसले आफ्नो सामथ्र्य खर्च गरिरहेको छ । सरकारप्रति जनताको विश्वास उठिसकेको छ, यसबाट न देश हित न त जनहितकै अपेक्षा गर्न सकिने अवस्था छ ।
सरकारका कामकारबाहीबारे आफ्नै पार्टीले गरेको मूल्याङकनप्रति जवाफदेही हुनुको साटो प्रधानमन्त्री उल्टै कार्यकारी अध्यक्षविरुद्ध प्रत्यारोपमा उत्रिएका छन् । योे सरकार असफल हुँदा ओली मात्रै नभएर सिङ्गो नेकपा पार्टी नै जिम्मेवार हुन्छ । त्यसैले यसबारेमा नेकपाले गम्भीर भएर सोच्न ढिलाइ गर्नुहुन्न ।
हाम्रो मात्रै होइन, नेकपाकै कार्यकारी अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरुको मुल्याङ्कन पनि यही हो । तर आफ्नो कमजोरी सुधार्ने संकेतसम्म पनि प्रधानमन्त्रीले गर्लान् जस्तो देखिन्न । सरकारका कामकारबाहीबारे आफ्नै पार्टीले गरेको मुल्याङकनप्रति जवाफदेही हुनुको साटो उनी उल्टै कार्यकारी अध्यक्षविरुद्ध प्रत्यारोपमा उत्रिएका छन् । योे सरकार असफल हुँदा ओली मात्रै नभएर सिङ्गो नेकपा पार्टी नै जिम्मेवार हुन्छ । त्यसैले यसबारेमा नेकपाले गम्भीर भएर सोच्न ढिलाइ गर्नुहुन्न । यसरी नै जनताका समस्या र राष्ट्रिय हित ध्यानमा राख्न नसक्ने, शक्तिराष्ट्र र मित्रदेशबीचको आपसी अन्तरविरोधको चक्रव्यूहमा फँस्दै जाने हो भने झन्डै दुई तिहाई मत प्राप्त गरेको नेकपा अर्को चुनावमा पराजित हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची
-
विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो