शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री पोखरेलको दबाबमा विश्वराजलाई एआईजीमा बढुवा गर्न सिफारिस

चेन अफ कमाण्डमा असर गर्ने भन्दै प्रहरी अधिकृतहरु असन्तुष्ट
सोमबार, १५ मङ्सिर २०७७, १९ : ०९
सोमबार, १५ मङ्सिर २०७७

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिले मन्त्रिपरिषद्ले थपेको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो । विश्वराज उपप्रधानमन्त्री ईश्वर पोखरेलका भाइ नाता पर्छन् । 

उपप्रधानमन्त्री पोखरेल र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको दबाबमा मन्त्रिपरिषद्ले विश्वराजलाई बढुवा गर्नकै लागि एआईजीको दरबन्दी सिर्जना गरेको थियो । विश्वराज अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । ईश्वरकै दबाबमा विश्वराजलाई भावी प्रहरी महानिरीक्षक बनाउने योजना अनुसार बढुवा सिफारिस गरिएको भन्दै प्रहरी अधिकृतहरुले असन्तुष्टि जनाएका छन् । 

वैकल्पिक सूचीका विश्वराज ०४९ चैतमा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी नायव उपरीक्षक हुँदा उनको ब्याच (१०१ टोली) मा विश्वराज १८ औं वरियतामा थिए । प्रहरी उपरीक्षक बढुवा हुँदा पाँचौ वरियतामा रहेका पोखरेलले प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हुँदा फड्को हानेर एक नम्बरमा बढुवा भए । 

तत्कालीन डीआईजी सुशील भण्डारीको सवारी दुर्घटनामा निधन भएपछि पोखरेलले अर्को फड्को हाने । आफूभन्दा सिनियर एसएसपीलाई उछिन्दै उनी एकल नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका थिए ।  गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको सिफारिसलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि पोखरेल एआईजीमा बढुवा हुनेछन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री बढुवा समितिका सदस्य–सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य हुन्छन् । 

१८ महिनाअघि नै भावी आईजीपीको टुंगो लाग्नेगरी बढुवा सिफारिस गरेपछि चेन अफ कमाण्डमा असर पर्ने जानकारहरु बताउँछन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट भारतको नयाँ दिल्लीस्थित दूतावासमा सरुवा गर्दा पोखरेलले त्यहाँ जान अस्वीकार गरेका थिए । त्यतिवेला पोखरेल राजनीतिक पहुँचकै भरमा काठमाडौंँस्थित लागूऔषध नियन्त्रण व्यूरोमा हाजिर भए, तर दिल्ली गएनन् । 

‘१८ महिना अघि नै प्रहरी महानिरिक्षकको टुंगो लागेपछि रिपोर्टिङ लगायत चेन अफ कमाण्डमा असर पर्छ’ नेपाल प्रहरीका एक उच्च अधिकृतले भने, ‘संगठन प्रमुखलाई विश्वराजले नटेर्ने र अरु अधिकृत उनीसँग मात्रै बफादार हुने अवस्था आउँछ ।’  उनको बढुवा सिफारिसले प्रतिस्पर्धी भावना पनि हटेको छ । आफ्ना ब्याचका अधिकृतमा प्रतिस्पर्धी भावना नहुँदा शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा समेत असर पर्ने प्रहरी अधिकृतहरु बताउँछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप