शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कमला नदीमा भूतमेला

सोमबार, १५ मङ्सिर २०७७, १३ : ४९
सोमबार, १५ मङ्सिर २०७७

सिरहा । सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा आज बिहानैदेखि धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको घुइँचो लागेको छ । कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न श्रद्धालुको घुइँचो लागेको हो । 

स्थानीय प्रशासनले कोरोना सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै भिडभाड नगर्न निषेधाज्ञा जारी गरे पनि सूर्योदयसँगै आज बिहानैदेखि हजारौँ नवधामीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग शपथ लिइरहेका छन् ।  कमला नदी किनारमा भगत (देउता) खेल्नेको घुइँचो लागेको छ । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीबासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने प्रचलन  छ ।

कतिपय कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार कमला नदीको तटमा पुगेर राति बास बसेको र आज बिहानै स्नान गरेको श्रद्धालुले बताएका छन् । कमला नदीमा स्नान गरेमा कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी स्नान गर्नेको सङ्ख्या अत्यधिक रहने गरेको छ ।

भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूलधामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धिका लागि यस दिन पूर्णाहुति दिने चलन छ ।

कमला नदीमा आएर शपथ लिएपछि धामीझाँक्री पाको हुने विश्वास गरिन्छ । भारतसहित सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरीलगायत ठाउँबाट लावालस्करका साथ उफ्रँदै आएका धामीझाँक्रीले तन्त्रमन्त्र गरेको दृश्य हेर्न निकै ठूलो भीड लाग्ने गर्दछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप